PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोपा फाइनल : २३ वर्षपछि उपाधि जित्ने दाउमा अर्जेन्टिना



गोविन्दराज नेपाल

कोपा फाइनल : २३ वर्षपछि उपाधि जित्ने दाउमा अर्जेन्टिना

२३ वर्ष बितिसक्यो अर्जेन्टिनाले पछिल्लो पटक कोपा अमेरिकाको उपाधि जितेको। त्यसपछि अर्जेन्टिना तीन पटक उपविजेता बनिसक्यो भने चार पटक कवाटरफाइनलबाटै बाहिरियो। यस बीचमा अर्जेन्टिनाले कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन। तर हरेक प्रतियोगितामा अर्जेन्टिना दाबेदारको रुपमा खडा हुँदै आएको छ।
 
सन् १९९३ मा ३६ औं संस्करणको कोपा उपाधि जित्दा वर्तमान अर्जेन्टिनी राष्ट्रिय फुटबल टीमका कप्तान लियोनल मेसी मात्र ६ वर्षका थिए। अर्जेन्टिनालाई २३ वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको उपाधि दिलाउने जिम्मा अहिले मेसीकै काँधमा छ। विश्वकै नम्बर वान खेलाडी मेसी रहेको नम्बर वान टीम अर्जेन्टिना यसपटक कोपा अमेरिकाको उपाधि जित्ने संघारमा छ। यद्यपि अर्जेन्टिनी युवा टीमले सन् २००४ र २००८ को ओलम्पिकमा गोल्ड मेडल जितेको थियो भने २००८ मा ओलम्पिक जित्दा मेसी महत्वपूर्ण सदस्य थिए।
 
अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोमा अर्जेन्टिना र चिली फेरी एक पटक फाइनलमा भिड्दैछन्। गत वर्ष पनि फाइनलमा भिड्दा चिलीले बाजी मारेको थियो। अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिली पहिलो पटक कोपा च्याम्पियन बनेको थियो। अर्जेन्टिना पेनाल्टी सुटआउटमा कति अभागी छ भने सन् २००६ को विश्वकपमा जर्मनीसँग, २०११ को कोपामा उरुग्वेसँग पेनाल्टी सुटआउटमै पराजित भएको थियो। गत वर्ष पनि उक्त शृंखला दोहोरियो। सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो। यो पटक अर्जेन्टिनासामु उक्त हारको बदला लिने उपयुक्त मौका मिलेको छ भने मेसीलाई अर्जेन्टिनालाई २३ वर्षपछि कोपाको उपाधि दिलाउँदै इतिहासमा नाम लेखाउने अवसर हुनेछ।
 
रोचक त के छ भने विश्वकै महान् खेलाडीका रुपमा गनिएका पेले र म्याराडोनाले समेत कोपा अमेरिकाको उपाधि जित्न सकेका छैनन्। यदि मेसीले कोपाको उपाधि जित्न सके महान् खेलाडीको सूचीमा पर्नेछन्। मेसी २९ वर्ष भइसकेका छन्। अब उनले सन् २०१८ मा रसियामा हुने विश्वकपबाहेक अन्य प्रतियोगिता खेल्ने सम्भावना कम छ, त्यसैले यो पटक गोन्जालो हिग्वेन, सर्जियो अगुएरो, ज्याभिर मास्केरानो जस्ता खेलाडीका साथमा मेसीले कोपा जित्न सक्नेछन्।
 
मेसी आफैं पनि अहिले उत्कृष्ट फर्ममा छन्। चिली विरुद्धको पहिलो खेलमा अनुपस्थित रहेको मेसी त्यसपछिका खेलमा म्याच विनर बन्दै आएका छन्। पानामाविरुद्ध बेन्चबाट आएर मेसीले १९ मिनेटमा ह्याट्रिक गरेका थिए। त्यसपछिका खेलमा मेसी र हिग्वेनको तालमेल जम्दै आएको छ। समूह चरणको पहिलो खेलमै चिलीसँग भिडेको अर्जेन्टिना २–१ ले विजयी भएको थियो। यता डिफेन्डिङ च्याम्पियनको हैसियतमा अमेरिका पुगेको चिलीको सुरुवात राम्रो रहेन। पहिलो खेलमा अर्जेन्टिनासँग हारेको चिलीले दोस्रो खेलमा इन्जुरी समयमा प्राप्त पेनाल्टीमा गोल गर्दै बोलिभियाविरुद्ध कठिन जित हात पारेको थियो। तर त्यसपछिका खेलमा चिली उत्कृष्ट लयमा देखियो।
 
समूह चरणको अन्तिम खेलमा पानामालाई ४–२ ले पराजित गरेको चिलीले क्वाटरफाइनलमा मेक्सिकोलाई ७–० ले हरायो भने सेमिफाइनलमा कोलम्बियालाई २–० ले पराजित गरेको थियो। फाइनलसम्म आइपुग्ने क्रममा अर्जेन्टिनाले १८ गोल गरिसकेको छ भने जम्मा २ गोल मात्र खाएको छ। यता चिलीले पनि १६ गोल गर्दा ५ गोल बेहोरेको छ। चिलीका एडुआर्डो भर्गास र अर्जेन्टिनाका मेसी सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन्। दुवै समान एक ह्याट्रिक गर्छन्। भर्गासले ६ र मेसीले ५ गोल गरिसकेका छन्। गत वर्ष कोपाको फाइनलमा हारेपछि अर्जेन्टिनाले त्यसपछिका दुवै खेलमा चिलीलाई पराजित गरेको छ। मार्चमा भएको विश्वकप छनोटमा पनि अर्जेन्टिनाले चिलीलाई २–१ ले नै हराएको थियो।
 
अर्जेन्टिना र चिली अहिलेसम्म ८७ पटक आमनेसामने भएका छन्। जसमा अर्जेन्टिनाले ५७ खेल जितेको छ भने चिली ६ खेलमा मात्र विजयी भएको छ। बाँकी २४ खेल बराबरीमै सकिएको छ।
 
कोपा अमेरिका सुरु भएको सयौं वर्षगाँठको अवसर पारेर पहिलो पटक अमेरिकामा आयोजना भएको कोपा अमेरिका सेन्टेनारियोको फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान नेपाली समयअनुसार ५:४५ बजे हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell