PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

झिटीगुन्टाको नयाँ व्यवस्था : काँचो सुनमा प्रतिबन्ध, विदेशबाट के ल्याउन पाइन्छ/के पाइँदैन?



पहिलोपोस्ट

झिटीगुन्टाको नयाँ व्यवस्था : काँचो सुनमा प्रतिबन्ध, विदेशबाट के ल्याउन पाइन्छ/के पाइँदैन?

काठमाडौं : कोही विदेशबाट आउँदै हुनुहुन्छ? त्यसोभए काँचो सुन नलिई आउनुहोला। सरकारले गहनाबाहेकको सुन ल्याउन प्रतिबन्ध लगाएको छ।
 
विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म ५० ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो। अब यसमा पनि प्रतिबन्ध लगाइयो। तर यो नियम भने साउन १ गतेबाट लागू हुनेछ।
 
सरकारले झिटी गुन्टासम्बन्धी व्यवस्थामा परिवर्तन गर्दै ५० ग्रामको गहनाका सुन-चाँदीबाहेक काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध गरेको हो। वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर तस्करी बढेपछि सरकारले कडाइ गरेको भन्सार विभागका निर्देशक सूर्य सेढाइँले बताए।
 
दुबई, मलेसिया लगायतका मुलुकमा रहेका केही नेपाली तस्करले फर्किन लागेका नेपालीलाई सुन-भरियाको रुपमा प्रयोग  गरी सुनचाँदी ल्याउने गरेका थिए। सुन ल्याउने नेपालीलाई केही रकम दिएर झिटी गुन्टामार्फत सुनचाँदीको वैधानिक रुपमा तस्करी भइरहेको थियो।

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किंदा सुन र चाँदीको ५० ग्रामसम्मको गहनामात्र ल्याउन पाइने भए पनि एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुन वा चाँदीका सामानमा भन्सार लाग्दैन। ट्याबलेट, ल्यापटप वा कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा, मोबाइल फोन र पेनड्राइभ एक/एक थान भन्सार नतिरी ल्याउन पाइनेछ।

नयाँ व्यवस्थाअनुसार बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थानमा भन्सार तिर्नु पर्दैन। पेसागत यात्रुले बोक्ने डाक्टरका सामान्य यन्त्र, खेलाडीका सामान, गायक र संगीतकारले प्रयोग गर्ने गितार, हार्मोनियम लगायतमा भन्सार तिर्नु पर्दैन।

सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन। एक लिटरसम्मको विदेशी मदिरामा पनि भन्सार छुट गरिएको छ। यसअघि डेढ लिटरसम्ममा भन्सार तिर्नु पर्दैन थियो। 

वैदेशिक रोजगारीमा गएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ। ३२ इन्चभन्दा ठूलो टेलिभिजन ल्याएमा अरुसरह नै भन्सार महसुल तिर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell