PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​किन रद्द भयो प्रचण्डको अस्ट्रेलिया भ्रमण? द्वन्द्वकालीन मुद्दाले विवाद निम्त्याउने डर पनि



​किन रद्द भयो प्रचण्डको अस्ट्रेलिया भ्रमण? द्वन्द्वकालीन मुद्दाले विवाद निम्त्याउने डर पनि

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार १२ बजे अस्ट्रेलिया जाने कार्यक्रम थियो। तर उड्ने साढे एक घण्टामात्रै अघि प्रचण्डको सचिवालयले जानकारी दियो- भ्रमण रद्द भएको छ।

भ्रमण रद्द हुनुको कारण 'देशको वर्तमान राजनीतिक सन्दर्भ र पार्टी कामको चाप' भनिए पनि द्वन्द्वकालीन मुद्दालाई लिएर अस्ट्रेलियामा प्रचण्डविरोधी गतिविधि बढ्नु मुख्य कारण रहेको देखिएको छ।

प्रचण्ड जनप्रगतिशिल मञ्च, अस्ट्रेलियाको राष्ट्रिय अधिवेशन उद्घाटनका लागि जान लागेका थिए। अस्ट्रेलिया भ्रमणको कार्यक्रम सार्वजनिक भएसँगै उनको विरोध र स्वागत गर्नुपर्ने विषयमा त्यहाँको नेपाली समुदाय विभक्त भए।

केही दिन यता एमनेस्टी इन्टरनेसनल लगायतका मानवअधिकारवादी संस्थासँग सम्बन्ध भएका नेपाली मूलका व्यक्तिहरुको सक्रियता बढेको थियो। उनीहरुले स्थानीय मिडियालाई समेत सम्बोधन गर्दै प्रचण्डको नेतृत्वमा भएको मानवअधिकार उल्लङ्घनबारे प्रश्न गर्न र उनलाई अस्ट्रेलियामा प्रवेश गर्न दिइएको बारे त्‍यहाँको सरकारलाई प्रश्न गर्न सामाजिक सञ्जालमार्फत् खुल्ला आह्वान गरेका थिए।

प्रचण्डको भ्रमण रद्द भएको खबर सार्वजनिक हुनेबित्तिकै तीमध्येका एक दीपा राईले लेखिन्, 'एमनेस्टी नेपालबाट कसैले लिक गरे होला।'
अस्ट्रेलियाका केही नेपालीहरुले प्रचण्डलाई मेलबर्नमा प्रवेश गर्न नदिन भिक्टोरियाका प्रिमियरलाई औपचारिक रुपमा पत्र लेख्ने तयारी समेत गरेका थिए।  

एनआरएनमा विवाद

प्रचन्डलाई स्वागत गर्ने कि नगर्ने भन्ने विषयमा अस्ट्रेलियास्थित एनआरएनएमा पनि तीव्र विवाद थियो। अहिलेको एनआरएन कार्यसमितिमा लगभग सबैजना कांग्रेसी भएकाले स्वागत गर्नुहुन्न भन्ने पक्षमा अधिकांश सदस्य थिए।

अध्यक्ष र प्रवक्ताको जोडमा त्यो कार्यक्रम गर्न लागिएको थियो। बहुमत सदस्यहरूले उक्त कार्यक्रम बहिष्कार गर्ने र संघबाटै राजीनामा दिने धम्कीसमेत दिएका थिए। एक एनआरएन भन्छन्, 'भ्रमण रद्द भएबाट सबैभन्दा खुशी एनआरएनएका पदाधिकारीहरू भएको हुनुपर्छ। एउटा ठूलो दुर्घटना टरेको छ।'
 

सुमार्गीको लगानी जोडेर पनि विवाद

प्रचण्डसँग निकट सम्बन्ध भएको भनी चर्चामा आउने गरेका अजयराज सुमार्गीले केही समयअघि गरेको अस्ट्रेलिया भ्रमण र उनले गर्न लागेको भनिएको लगानीलाई समेत उनको आसन्न भ्रमणसित जोडिएको थियो।

अस्ट्रेलियामा सुमार्गीको साझेदारका रुपमा रन्जु वाग्ले थापाले एउटा कलेजमा लगानी गर्ने तयारी लगभग पूरा भइसकेको स्रोत बताउँछ*। सुमार्गीले कलेजबाहेक हाउजिङमा पनि लगानी गर्ने चासो देखाएका छन्।

सुमार्गीका नाममा स्रोत नखुलाई आएको रकम नेपाल राष्ट्र बैँकले रोक्का गरेपछि उनले विदेशमा रहेको नेपालको साटो अस्ट्रेलियामा लगानी गर्न खोजेको स्रोत बताउँछ। त्यसैको सहजीकरणका लागि प्रचण्ड अस्ट्रेलिया जान खोजेको आरोप पनि विरोधीहरुले लगाए।

यस्तो थियो कार्यक्रम

प्रचण्डले बिहीबार जनप्रगतिशील मञ्चको अधिवेशन उद्घाटन गर्ने र लबर्नमा रहेका नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम थियो। त्यस्तै शुक्रबार उनी सिड्नी पुग्ने कार्यक्रम थियो। अर्को साताको मंगलबार बल्ल स्वदेश फिर्ता हुने कार्यक्रम भए पनि यति धेरै दिन उनी कहाँ कहाँ कुन कुन कार्यक्रममा सहभागी हुने भन्ने विवरण सार्वजनिक भएको थिएन।

प्रचण्ड पुत्र प्रकाश दाहालले सार्वजनिक गरेको कार्यक्रम सूची

स्वकीय सचिव भन्छन्- त्यसो होइन

प्रचण्डका स्वकीय सचिव जोखबहादुर महरा भने द्वन्द्वकालीन मुद्दाको विषयमा भ्रमण स्थगित नभएको दावी गर्छन्। उनले पहिलोपोस्टसँग भने, 'होइन भिसा सिसा सबै भइसकेको थियो। त्यस्तो भएको भए राज्यले त दिन्न थियो नि त।'

उनले अगाडि भने, 'अमेरिका पुग्नुभएको छ। कता-कता पुग्नुभएको छ। ३० वटा भन्दा धेरै देश घुमिसक्नुभयो, त्यो होइन।'

महराका अनुसार अहिलेको राजनीतिक स्थितिले भ्रमण रद्द हुन पुगेको हो। 'अस्ट्रेलियाको जन प्रगतिशील मञ्चको तेश्रो राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा आइदिनुपर्‍यो भनेपछि हुन्छ समय मिल्यो भने आउने भनिएको थियो', महरा भन्छन्, अस्तिदेखि नै कामको चाप छ भनेर त्यस्तै पर्‍यो भने त्यहाँको कार्यक्रम सार्ने भनेर जानकारी पठाइसकिएको थियो।'

प्रतिक्रिया

*समाचार प्रकाशन भएपछि रन्जु वाग्ले थापाले इमेलमार्फत् सुमार्गी नातामा आफ्नो दाजु भएको र पेशाले अन्तर्राष्ट्रिय व्‍यापारी भएकोले उनलाई अस्ट्रेलिया मात्र होइन, विश्वको जुनसुकै देशमा  व्यवसाय गर्नको लागि कसैको आवश्यकता नपर्ने बताएकी छिन्। उनले आफूले सुरु गर्न लागेको कलेज बिजनेसमा व्यवसायिक साझेदार सुमिता आचार्य भएको, अजय सुमार्गी नभएको दावी गरेकी छिन्।'

यस्तो छ उनको प्रतिक्रिया
 
तपाइको अनलाइनमा 'किन रद्द भयो प्रचण्डको अस्ट्रेलिया भ्रमण?' भन्ने शिर्षकको समाचार प्रति मेरो ध्यान आकर्षण भएको छ । तपाईले सस्तो लोकप्रियताका लागि मेरो व्यक्तिगत नाम जोडेर प्रकाशित गर्नु भएको समाचर प्रति म खेद प्रकट गर्दछु । पत्रकारिता समाजको अभिन्न अंग हो तर यहि पत्रकारिताको गलत प्रयोग गर्दै कसैको व्यक्तिगत जीबन र चरित्र माथि मुछेर गरिने पत्रकारिता कानुनी सजाय के हुन्छ त्यो सबैलाई प्रष्ट छ ।  सत्य- तथ्यको जानकारी बिना, बिना प्रमाण र सम्बन्धित पक्षको कुनै धारणा बिना प्रकाशित समाचार यथाशिघ्र सच्चाएर सार्बजनिक रुपमा माफि माग्दै भविष्यमा यस्ता गल्ति नदोहोरिने प्रतिबद्दता व्यक्त गर्न पनि म यसै पत्र मार्फत तपाईलाई अनुरोध गर्दछु । 
म बिगत २ दशक देखि एनआरएनए र अन्य सामुदायिक संघ संस्था मार्फत सामजसेवा र समुदायको हितको लागि सक्रिय छु ।  मैले बिगतमा गरेका काम, ब्यबसाय र संग्लनता यहाँको नेपाली समुदायको आगाडी छर्लंग छ । भबिष्यमा पनि कहिँ कतै आवश्यक परे म यी सबै प्रष्ट राख्ने सामर्थ्य राख्दछु । म आफु बसेको देशको नियम कानुन अनुसार न यी बिषयहरु लुकाएर लुक्ने बिषय पनै हुन् ।  जहाँ सम्म मैले सुरु गर्न लागेको कलेज बिजिनेसको कुरा छ, त्यो सबै कागजजातहरुमा छर्लंग छ कि मेरो ब्यबसायिक साझेदार सुमिता आचार्य हुन, अजय सुमार्गी होइनन, जुन मैले आफ्नो मिहनेत र परिबारक सहयोगले गर्दैछु  । स्मरण रहोस सुमार्गी नातामा मेरा दाजु हुन् भने पेशाले अन्तराष्ट्रिय ब्यापारी हुन् उनलाई अस्ट्रेलिया मात्र होइन बिश्वको जुन सुकै देशमा ब्यबसाय गर्नको लागि कसैको आबश्यकता पर्दैन । अर्कोतर्फ अस्ट्रेलिया जस्तो देशमा कुनै पनि बैदेशिक रकम ल्याउँदा प्रष्ट स्रोत खुलाएर र यहाँको करको दायरा भित्र रहेर मात्र ल्याउनु पर्दछ जसको लिखित रेकर्ड यहाँका सरकरी निकायले राखेका हुन्छन, जुन समाचारमा भने जस्तो हुदैन । 
पुनश्च: समुदायको बृहतर हित, जहाँ रहे पनि नेपाली-नेपली बीचको भावनालाई कदर गर्दै सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा यस्ता भ्रामक समाचारको पछि नलागी सकारात्मक सोच सहित आफु रहेको ठाउँ बाट राष्ट्रको लागि आफुले सक्ने योगदान गर्न पनि म बिनम्र अनुरोध गर्दछु । 
भबदिय 
रन्जु थापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell