PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

सेनासहित निगमको विमान बिहान साढे ३ बजे काबुल उड्दै, शव ल्याउनुका साथै नेपालीलाई एयरलिफ्ट गरिने



सविन ढकाल

सेनासहित निगमको विमान बिहान साढे ३ बजे काबुल उड्दै, शव ल्याउनुका साथै नेपालीलाई एयरलिफ्ट गरिने

काठमाडौँ : सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस मंगलबार बिहान साढे ३ बजे त्यसतर्फ उड्ने भएको छ। 

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अफगानिस्तानसम्म नेपालको सीधा उडान अनुमति नभएकोले भारत, पाकिस्तान र भारतसँग ओभर फ्लाइङ पर्मिसन लिनुपर्छ। भारत र अफगानिस्तानबाट अनुमति पाइसके पनि पाकिस्तानबाट यो समाचार राति ९ बजे तयार पार्दासम्म अनुमति आउन बाँकी थियो। 'अबको केही समयमै पाकिस्तानबाट पनि औपचारिक अनुमति आउने जानकारी हामीले पाएका छौँ", कंसाकारले पहिलोपोस्टलाई भने। 

परराष्ट्र मन्त्रालयले चार्टर गर्ने यो विमानमा सेनाबाट तीन जना, प्रहरीका दुई जना, वैदेशिक रोजगार विभागका एक जना प्रतिनिधि तथा गृह र परराष्ट्र मन्त्रालयका एक-एक प्रतिनिधि रहने मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।

यसअघि सरकारले शव र घाइते ल्याउन नेपाली विमान पठाउने निर्णय बिहान गरेको थियो। बिहान ११ बजे निगमसँग परराष्ट्र मन्त्रालयले यस विषयमा छलफल गरेको थियो। 

प्रवक्ता पौडेलका अनुसार विमानको पहिलो प्राथमिकता शव र घाइते ल्याउने भए पनि त्यहाँ रहेका स्वदेश फर्कन चाहने नेपालीलाई क्षमताले भ्याएसम्म एयरलिफ्ट गरिनेछ। यसको समन्वय परराष्ट्र कै टोलीले गर्नेछ। 

अफगानिस्तानमा औपचारिक रुपमा नगएकाहरु समेत गरी १० हजार जना नेपाली रहेको अनुमान छ। 

अफगानिस्तानमा नेपालको दूतावास रहेको छैन। त्यहाँको कार्यक्षेत्रसमेत तोकिएका पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अहिले काबुल पुगेर समन्वयको काम थालिसकेको उनले जानकारी दिए। 

घाइते दुई जना चितवनका कृष्णबहादुर देउजा र मानबहादुर थापालाई भारत पुर्याथई दिल्लीको अपोलो अस्पतालमा उपचार हुँदै गरेको जानकारी परराष्ट्रले दिएको छ। 

​घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेकोले त्यहाँका चिकित्सकले अनुमति दिए दिल्लीमा ल्याउने नत्र त्यहीँ उपचार जारी राख्ने प्रवक्ता पौडेलले बताए।

अफगानिस्तानमा रहेका नेपाल फर्कन चाहनेहरुले काबुल पुगेका कार्यवाहक राजदूतलाई मोबाइल नम्बर +923045441953  वा इमेलः   [email protected] र [email protected] सम्पर्क गर्न सक्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell