PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

हाम्रो सानो घर होला, फराकिलो मन होला....तर, उठ्यो अफगानिस्तानमा चोला



सविन ढकाल

हाम्रो सानो घर होला, फराकिलो मन होला....तर, उठ्यो अफगानिस्तानमा चोला

चितवनका कृष्णबहादुर ढुङ्गानाको एउटा सपना थियो- पक्की घर बनाउने। गएको वैशाखमा एक महिनाको छुट्टी मिलाएर घर आएका ३५ वर्षका ढुङ्गानाले चितवनमा घर बनाउन नक्सासमेत पास गरिसकेका थिए। अब हाम्रो सानो घर होला, फराकिलो मन होला भन्ने लागेको थियो उनलाई।

घरको जगसमेत हाली श्रीमतीलाई नक्सा अनुसार घर बनाउनू भन्दै विदा भएका कृष्णले घरले पूर्ण आकार पाएको हेर्न नपाउँदै आत्मघाती आक्रमणको शिकार हुनुपर्‍यो। सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा परी ज्यान गुमाउने १२ नेपालीमध्ये एक थिए उनी। 

गएको ४ वर्षदेखि अफगानिस्तानमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनी हरेक वर्ष परिवारको मुख हेर्न घर आइपुग्थे। यो वर्ष पनि सुरु मै आएका उनी अर्को वर्ष आउने भन्दै विदा भएका थिए। तर अब उनको लाश मात्र आउने छ। 

'पक्की घर बनाएर परिवारलाई सुरक्षित घरमा राख्ने उसको इच्छा सपना मात्र रहने भयो,' मलीन स्वरमा भाइ रमेशले भने।

सात वर्षअघि मात्रै विवाह गरेका उनले श्रीमतीसँग धीत मर्ने गरी सँगै बस्नसमेत नपाएको भाइ सुनाउँछन्। बिहेको केही समयमै छोराछोरी जन्मियो। उनीहरुको लालनपालनको थप बोझ उनकै टाउकोमा पर्‍यो। देशमा रोजगारीको स्थिति यस्तै हो। उनले जोखिम भए पनि आकर्षक तलब भएको अफगानिस्तान गएर अलिअलि पैसा कमाएर फर्की बाँकी जीवन सुखसँग बिताउने सोचेका थिए। 

 भाइ रमेश भन्छन्, 'घरमा खेलाउँ खेलाउँ भएका साढे ५ वर्षकी छोरी र ४ वर्षका छोराले मज्जाले बोली फुटाएर बाबा समेत भन्ने भएका छैनन्। तर उनीहरु टुहुरा जस्तै भए।' 

घरमा ९० वर्षका हजुरबा हजुरआमा छन्। परदेशमा नातिको मृत्युको खबर सुनेसँगै बगेका आँसु अझै रोकिएको छैन। अब सबै जना कृष्णबहादुरको मृत शरीरलाई अन्तिम पटक हेर्ने प्रतीक्षामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell