PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​'दिल्लीको अजेण्डा बोक्नेहरुका कारण मधेस आन्दोलनले निष्कर्ष पाएको छैन'



पहिलोपोस्ट

​'दिल्लीको अजेण्डा बोक्नेहरुका कारण मधेस आन्दोलनले निष्कर्ष पाएको छैन'

  • ठाकुर गैरे -
मधेस आन्दोलनका दुईवटा पाटो छन्। एउटा मधेसका एजेण्डा जो वास्तविक समस्या हुन् र अर्को मधेसका नाममा सिधै दिल्लीका अजेण्डा बोक्नेहरु। 

त्यही दिल्लीका अजेण्डा बोक्नेहरुकै कारणले मधेस आन्दोलनले निस्कर्ष प्राप्त गर्न  सकेको छैन। यी दुई पाटोलाई सरकार र राजनीतिक दलहरुले छुट्याएर हेर्न आवश्यक छ। 

तर जुनसुकै नाममा भएपनि मधेस आन्दोलनको समस्या समाधान भएको छैन। बाहिरी रुपमा त्यो समाधान भएको जस्तो देखिएको छ। नाकाबन्दी खुलेको छ। मधेसमा आन्दोलन रोकिएको छ। सीमा खुल्यो, गाडी चलिरहेको छ, सामान्य अनसन जारी छ। यसलाई सामान्य रुपमा लिन सकिन्छ। 

तर भित्री रुपमा त्यो कायम छ। कुनै पनि बेला पुनः उठ्नसक्ने अवस्थामा छ। त्यसलाई पनि समाधान गर्नु आवश्यक छ। वास्तविक समस्यालाई सरकारले सम्बोधन गरेर समाधान गर्न आवश्यक छ।

सरकारले वार्ताको आह्वान त गरिरहेको छ। तर वार्तामा आउनेहरु अधिकांशको नाकमा नत्थी छ। त्यसको लगाम दिल्लीको नियन्त्रणमा छ। 
वार्तामा आउने कि नआउने! वार्तामा आएर के बोल्ने! मिटिङहरुमा खोलिएको टेप रेकर्ड जस्तो, स्विच अन गरेपछि बोल्ने र स्विच बन्द भएपछि बन्द हुने अवस्थामा छ। 

सरकारले आन्दोलनरत दलहरुसँग त वार्ता गर्नुपर्छ नै। सँगसँगै दिल्लीसँगको वार्ता पनि सरकारले अघि बढाउनुपर्छ। भारतसँगको सम्बन्ध समानतामा आधारित भएर दुबै देशका जनताको सम्मान हुने गरी यसको समाधान निकाल्न आवश्यक छ। 

दिल्लीसँगको वार्ता सरकारी स्तरबाट र गैर सरकारी स्तरबाट साथै पार्टीगत तहबाट पनि छलफल चलाउन आवश्यक छ। त्यस्तो छलफलबाट एउटा निश्कर्षमा नपुगी हुँदै हुँदैन।  

मैले पार्टीगत तहमा वार्ता गर्नुपर्छ भन्नुको मतलब एमालेले मात्र वार्ता गर्नुपर्छ भनेको हैन। पार्टीहरुले भारतका पार्टीहरुसँग वार्ता गर्न आवश्यक छ। आआफ्ना च्यानलबाट र संयुक्तरुपमा पनि। 

पार्टीगतरुपमा एमालेलाई भारतले कसरी हेर्छ, केपी ओली प्रति भारतीय धारणा के हुन्छ त्यो फरक कुरा हो। नेकपा एमालेप्रति भारतीय जनता पार्टी (बिजेपी)ले के धारणा राख्छ वा बिजेपीप्रति नेकपा एमालेले के धारणा राख्छ त्यो अर्कै कुरा हो। तर दुई देशको सम्बन्धका लागि त्यो मतलबको विषय हुँदैन। 

नेकपा एमालेसँग भारतको दृष्टिकोण के हुन्छ त्यो महत्वको विषय हैन। उसले एमालेलाई नकारात्मक रुपमा हेर्छ भने पनि त्यो उसको कुरा हो। त्यसमा हामीले टाउको दुखाउन आवश्यकता छैन। 

तर, नेपालप्रति नै, नेपाल राष्ट्र प्रति नै खराब दृष्टिकोण र नेपाली जनताको सम्मानमा आँच आउने काम गर्छ भने हामीलाई मान्य हुँदैन। 



प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएपछि जुन आत्मविश्वासका साथ बोल्नुभएको थियो, जुन उचाइबाट कुरा राख्नुभएको थियो त्यसलाई हेर्दा भारतसँगको सम्बन्ध नयाँ सिराबाट सुरु भएको आभाष भएको थियो। 

तर, अहिले आएर हेर्दा शंका लाग्दैछ कि नेपाल सरकारबाट भारतसँगको सम्बन्धलाई जुन उचाइबाट प्रस्तुत गरियो त्यसलाई भारतले कतै कमजोरीका रुपमा लिइरहेको त छैन? 

भारतप्रतिको हाम्रो सम्मानलाई कमजोरी ठान्ने काम त भएको हैन! हाम्रो विकासको चाहनालाई कमजोरी वा भारतले आफ्नो प्रतिकूल त ठानिरहेको छैन?

भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमणका बेला दिएको सम्मानलाई कमजोरी बुझेको त छैन? भारत ठूलो भएर वा भारत शक्ति सम्पन्न देश छ भन्दै नेपालले सानो ठानेर दिएको सम्मान भनेर त बुझेको छैन वा बिजेपीको नेता प्रधानमन्त्री भएकाले दिएको सम्मानन त ठानेको छैन? 
यदि त्यकसो हो भने त्यो हामीलाई मान्यो छैन। त्यो कुरा हामीले छाड्नु हुँदैन र कुनै ठूलो देशभन्दा हाम्रो देश स्वाभिमान र सम्मानमा सानो छ भन्ने मान्नु हुँदैन।

(नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेसँग मनोज सत्याल र रमेश वाग्लेले गरेको कुराकानीको सम्पादित अंश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell