PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

खिमलाल भन्छन्- ‘बिरयानी के-के न होला भनेको दुई पिस मासु र भुटेको भात पो रहेछ’



रमेश वाग्ले

खिमलाल भन्छन्- ‘बिरयानी के-के न होला भनेको दुई पिस मासु र भुटेको भात पो रहेछ’

काठमाडौँ : केही दिन अघिदेखि सामाजिक सञ्जालमा हिट भएको एउटा विषय थियो – नयाँ शक्तिको नयाँ परिकार। बाबुराम भट्टराईको बिरयानी। नयाँ पार्टीका १५ सयलाई बिरयानी खुवाउने समाचार उनको प्रचार विभागबाट अलग शीर्षक नै राखेर आयो जसलाई मिडियाले समाचार पनि बनाए। 

सोमबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको छलफल सत्रका दिन प्रतिनिधिहरुलाई त्यही बिरयानीको व्यवस्था गरेको थियो। नयाँ शक्ति पार्टीको भोज पनि नयाँ बनाएर प्रचारित त्यो बिरयानी प्रतिनिधिका लागि पनि उत्सुकताको विषय थियो। प्रतिनिधिसँगै केन्द्रीय परिषद सदस्य पनि उत्सुक थिए आखिर यो बिरयानी हुन्छ् कस्तो?  

जब प्रतिनिधि तथा स्वयंसेवकले बिरयानी चाखे, त्यसपछि उनीहरु आफैले जवाफ भेटे - बिरयानी भनेको त भुटेको भात पो रहेछ। 
'भुटेको भात पनि बासी जस्तै रहेछ' एक प्रतिनिधिले भने, 'दुई पिस चिकेन थियो दुई पिस सलाद। खाना निल्नलाई नै गाह्रो भएर मैले त छोडिदिएँ, बाहिर गएर केही खाएर आउँछु।'

ती प्रतिनिधिले आफू त्यो असन्तुष्टि औपचारिकरुपमा राख्न तयार नभएको बताउँदै 'यही पार्टीमा भविस्य खोज्ने भएकाले त्यस्ता असन्तुष्टि राख्न तयार नहुने' हामीसँग बताए। 

केही प्रतिनिधिहरु बसेको ठाउँमा भन्दै थिए, 'यस्तो चिज रहेछ, म त राम्रै भएर प्रचार भएको होला भन्ने ठानेको थिएँ।‘ अर्का स्वयंसेवकको कार्ड झुण्ड्याएका व्यक्ति उनलाई भन्दै थिए, 'मलाई त भुटेको भात भन्ने पहिले नै जानकारी थियो तर नयाँ भन्दै प्रचार गरेकाले केही भनिनँ।'

बिरयानीबारे नेताहरु चाहिँ के भन्छन् त? नयाँ शक्तिका केन्द्रीय परिषद्का सदस्य खिमलाल देवकोटाले प्रचारका क्रममा के रहेछ भन्ने लागे पनि खाए पछि खास आकर्षित नभएको बताए। 

'बिरयानी ख्वाउने भन्ने समाचारमा आयो, भाइरल भयो। हामीलाई पनि के रहेछ भन्ने लागेको थियो' देवकोटाले भने, 'तर अहिले गएर खाएको त भुटेको भातमा दुई पिस चिकेन राखेको हुँदो रहेछ। अरु केही पनि नहुँदो पो रहेछ।' उनले व्यवस्थापन उपसमितिले गरेको व्यवस्था नेपालीहरुका लागि उपयुक्त खालको नभएको बताए। 

'अहिले खाएर आएँ। मैले म खास खानाको सौखिन हैन र 'हेभी डाइट' पनि गर्दिनँ। ठीकै भयो,' उनले भने, 'तर नेपाली खाना दालभात, तरकारी, आचार खाएको जिब्रोलाई त्यो नहुने रहेछ।' 

देवकोटाले अरुको अनुभव पनि सुनाए, 'प्रतिनिधि साथीहरुले समेत बिरयानी भनेको के-के न होला भनेको त बासीभात पो रहेछ भन्दै ठट्टा गर्दै थिए।' 

प्रज्ञा भवनमा आज करिब दुई हजारले बिरयानी खाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell