PahiloPost

May 15, 2024 | २ जेठ २०८१

​बाबुरामको नयाँ शक्ति पार्टी घोषणाका १० नयाँ दृश्य



रमेश वाग्ले

​बाबुरामको नयाँ शक्ति पार्टी घोषणाका १० नयाँ दृश्य

काठमाडौँ : लामो समयदेखि वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान लिएका डा. बाबुराम भट्टराईले आइतबार नयाँ शक्ति नेपाल नामको पार्टी घोषणा गरेका छन्। नयाँ देखाउनकै लागि घोषणा सभामा केही नयाँ काम गरिएको थियो।

दृष्य नम्बर १: सपथ ग्रहण

देशको महत्वपूर्ण जिम्मेवारीमा पुगेकाहरुलाई राष्ट्रप्रमुखले सपथ खुवाएकै शैलीमा आफैले कार्यकर्तालाई सपथ खुवाएर उनले कार्यक्रमको सुरुवात गरे। सपथको सुरुवात उनले 'म बाबुराम भट्टराई' भनेर गरे। भन्नुपर्ने म (उनीहरुको नाम थर) थियो तर अधिकांश कार्यकर्ताले 'म बाबुराम भट्टराई' नै भनेर सपथ लिए।

डाक्टर भट्टराईको कार्यक्रममा उनका कार्यकर्ताले कि त टोपी लगाएका थिए, हैन भने पनि नयाँ शक्ति नेपाल लेखेको कार्ड झुण्ड्याएका थिए। त्यो संख्या उपस्थित संख्याको अल्पमतमा थियो। अर्थात् कार्यकर्ता भन्दा बढी सभा हेर्न जानेहरु थिए। तर उनले मञ्चमा उभिएर सपथ खुवाउँदा त्यो कार्यकर्तालाई नीति सिद्धान्त र अनुशासनमा बाँध्नका लागि भन्दा पनि खाली प्रचार र नयाँ पन देखाउनकै लागि थियो भन्ने कुरा झल्किएको थियो।

दृष्य नं २ : तेस्रो लिंगी

बाबुराम भट्टराईले तेस्रो लिंगीका अधिकारका लागि काम गर्ने संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई नयाँ सक्ति पार्टीको अन्तरिम परिषदमा नै राखेपछि डा भट्टाराईका अभियानमा तेस्रो लिंगीहरुको सक्रिय सहभागिता रहेको थियो। क्लिन काठमाडौ ग्रिन काठमाडौ अभियानको त नेतृत्व नै पिंकीले पाएपछि उत्साहित तेस्रो लिंगीहरु शाखा रहेका अधिकांस जिल्लाबाट काठमाडौ आएका थिए।

अन्यत्र आफ्नै समुदायको कार्यक्रममा मात्र देखिन तेस्रो लिगीले देशको सम्पूर्ण भेषभुषालाई नै प्रतिनिधित्व गर्ने 'पश्चिम कोही पूर्व घर...'बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए। नयाँ शक्ति पार्टी घोषणा सभामा मञ्चको बायाँ भागमा उनीहरु ठूलो संख्यामा उपस्थित भएर कब्जा जमाएका थिए।

दृष्य नम्बर ३: करिश्माले देखाउन सकिनन् करिश्मा

डा बाबुराम भट्टराईले सपथ खुवाएपछि समाजवादी लोकतान्त्रिक पार्टी हुँदै बाबुरामको पार्टीमा पुगेका पूर्व एमाले नेता पासाङ शेर्पाले मञ्च सम्हाले। उनले केही बेर उद्घोषण गरेपछि 'अबको समय अभिनेत्री करिश्मा मानन्धरले सम्हालनुहुन्छ' भन्दै विदा लिए।

करिश्मा आउने भन्नासाथ उपस्थितले ताली बजाए। करिश्माले आएर नमस्ते भन्दै उद्घोषण सुरु गरिन्। उनको उद्घोषणमा विदेशीको नाम अस्पष्ट भन्दासम्म उपस्थित जमातले सेलिव्रेटी भनेर उनलाई छुट दिएकै थियो। तर जब उनले कांग्रेस नेता प्रदीप गिरिलाई मन्तव्यका लागि बोलाइन्, गल्ती सच्याउन समेत गाह्रो भयो।  'समाजवादी चिन्तक डाक्टर प्रदीप भट्टराईलाई मन्तव्यका लागि निम्त्याउँछु' भनेकी उनले सच्याउनका लागि गिरिको आफू फ्यान भएको भन्दै थप बिगार्ने काम गरिन्।

प्रदिप गिरिले भाषणको सुरुमै 'न म डाक्टर हुँ न त भट्टराई नै' भनेर सुरु गरे भने अन्त्यमा पनि करिश्मालाई सम्झाए। 'करिश्माजी नरिसाउने भए मेरो एउटा सुझाव छ' गिरिले भने, 'बोलाउने व्यक्तिको नाम हतार हतार हडबडाउँदै भनेर बिगार्नुभन्दा पहिले नै राम्रो तयारी गर्नु।' त्यसलाई करिश्माले गुनासो शैलीमा म यस्तै छु छिटो बोल्नु मेरो विशेषता हो भन्ने जवफ गिरिलाई फर्काइन्।

करिश्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई मन्तव्यका लागि बोलाउँदा त चाकडी नै गरिन् । अनावश्यक जानकारी पनि गराइन्। शेरबहादुर देउवाको बेलायतमा रहँदा आफ्नो ससुरासँग राम्रो सम्बन्ध रहेको र आफ्नो पनि शेरबहादुर पत्नी आरजुसँग राम्रो सम्बन्ध रहेको बताइन्।   

दृष्य नं ४: नयाँ देखाउने मञ्च

अन्य पार्टीलेभन्दा नयाँ शैलीमा कार्यक्रम गर्ने घोषणा गरेका डाक्टर बाबुराम भट्टराईले सामान्य एनजिओको शैलीमा मञ्चमा नभएर अगाडि अतिथि बस्ने व्यवस्था मिलाएको थियो। मञ्चमा भने भएको रातो स्क्रिनमा एक साइडमा बाबुराम भट्टराईको फोटोको स्केच र अर्को साइडमा अबको निकास आर्थिक विकास लेखिएको थियो।

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईसहित आमन्त्रितहरु त्यसको अगाडि बसेका थिए। उपस्थितलाई वक्ता र अतिथि को हुन् भनेर चिनाउन कि त क्यामेराको सहायताले कहिले कहिले स्क्रिनमा देखिने दृष्यको सहारा लिनुपर्थ्यो, कि त उद्धोषकको उद्धोषण नै कुर्नुपर्थ्यो।

दृष्य नम्बर ५: भारतीय पत्रकारको कार्यकर्ता शैली

भट्टराईको घोषणासभामा भारतीय पत्रकार तथा समकालीन तिसरी दुनियाँका सम्पादक आनन्दस्वरुप वर्मा पनि बोल्न भ्याए। उनले बाबुराम भट्टराईको नयाँ शक्ति जन्मनुलाई एउटा सामान्य राजनीतिक परिघट्ना मात्र भन्दै नेपालको राजनीतिमा यस्ता धेरै प्रयोग भएको बताए।
उनले आफूलाई भाग्यवश लामो समयदेखि नेपालका कम्युनिष्टसँग सहकार्य गर्ने मौका मिलेको बताए। 'मैले नेपालका कम्युनिष्टहरुमा पुस्पलाल देखि नेत्रविक्रम चन्दसम्मसँग नजिक रहेर कुरा गर्ने मौका पाएको छु' बर्माले भने, 'यो अवधिमा मैले नेपाल र यहाँका राजनीतिक दलहरुलाई बुझ्ने मौका पाएको छु।'

उनले नेपालले समृद्धिबाट मात्र राष्ट्रियता बलियो बनाउनसक्ने भन्दै त्यसका लागि भट्टराइको पार्टी र नीति उचित भएको  बताए । उनले कार्यकर्ता शैलीमै बाबुरामले मार्क्सवाद नछोडेको दावी गर्दै आफ्नै पत्रिकामा छापिएको  भट्टराईको अन्तरवार्ताको अंश समेत पढेर सुनाएका थिए। तर भट्टराईले अन्त्यमा उनको दावीको पुष्टि गरेनन्, बरु त्यसलाई खण्डित गर्ने गरी हिजोका वाद विचार र सिद्धान्तले अबको निकास संभव नै नरहेको बताए।

दृष्य नं ६: सबै अतिथि भट्टराईका प्रशंसक

कार्यक्रममा देखिएको अर्को रोचक दृष्य हो यसअघि भट्टराईका आलोचक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उनले करिब सात महिना अघि छोडेको पार्टीका महासचिव कृष्णबहादुर महारासम्म प्रशंसक भएर निस्किए। यसअघि ४० बुँदे लिएर युद्धमा जाने बहाना बनाएका भट्टराईले आफू प्रधानमन्त्री हुँदा भारतसँग विप्पा गर्न गएको बताउने शेरबहादुरले भट्टराई देशका लागि केही गरौँ भन्ने मान्छे भनेर प्रशंसा गरे।
 
पार्टी छोडेकोमा आलोचना गर्ने कृष्णबहादुर महराले पनि भट्टराईसँग लामो सहकार्य भएको सम्मरण गर्दै उहाँ केही गरौँ भन्ने मान्छे भएको भन्दै प्रशंसा गरे। त्यसबाहेक भारतीय नेतादेखि नेपाली नेता सबैले उनको प्रशंसा गरेर नयाँ शक्तिका कार्यकर्तालाई फूरुङ्ग बनाइदिए।

दृष्य नम्बर ७: झण्डा र क्याप

नयाँ शक्ति पार्टीको घोषणा सभामा पार्टीका झण्डा फहरिएनन्। अधिकांस कार्यकर्ताले बोक्न साना साना झण्डा थिए भने पार्टीको झण्डा फ्लेक्स बोर्डमा रंगशालाको प्यारापिटको माथिल्लो लाइनमा टाँगिएको थियो। फ्लेक्स बोर्डमा राखिएको झण्डा झण्डा झै देखिदैनथे तर ती झण्डाको माथि राष्ट्रिय झण्डा राखिएको थियो।

पूर्वपार्टी माओवादीको युवा संगठन वाईसियलकोसँग ठ्याक्कै मिल्ले रातो भूइँमा एकतारा अंकित झण्डा भनेर फहराउने कपडामा राखिएको थिएन।

भट्टराईका कार्यकर्ताले घामबाट बच्न र पहिचान झल्काउन दुबै खाले प्रयोजनमा आउने क्याप लगाएका थिए। ती क्यापमा समानता भने थिएन। धेरैजसो अगाडिको भागमा रातोमा नयाँ शक्ति नेपाल र नारा लेखिएको पछाडिको आधा भाग सेतो थियो भने कोही क्याप पुरै रातोमा अगाडि मात्र सेतो रंगले नयाँ शक्ति नेपाल लेखिएको थियो।
   

दृष्य नम्बर ८: केपी ओलीको स्वागत र विज्ञापन

कार्यक्रममा फर्कन लागेका कार्यकर्तालाई पटक पटक उद्घोषक करिश्मा मानन्धरले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा आउने र आउनै लागेको भन्दै प्रमुख आकर्षणका रुपमा प्रचार गरिरहेकी थिइन्। उपस्थित जमातले पनि केपी ओलीलाई त्यस्तै स्वागत गरेका थिए। उनीहरुले ओलीलाई हास्य कलाकारकै रुपमा उत्साहपूर्वक हेर्दै उनले बोल्न खोज्दा समेत हाँसेर हुटिङ गरेका थिए।


 

दृष्य नं ९: खेलाडीको प्रदर्शन

दशरथ रंगशाला कब्जा गरेर राजनीतिक कार्यक्रम भन्ने टिप्पणी सामाजिक संजालमा बाबुरामको घोषणासँगै सुरु भएको थियो। त्यसलाई चिर्न र र खेलाडीलाई पार्टीमा आकर्षित गर्न बाबुरामले खेलाडीका दुईवटा डेमन्स्ट्रेसन राखेका थिए। डेमन्ट्रेसनमा उनीहरुले फुटाउने माटाको मट्की फोर्दा झण्डै बाबुराम र शेरबहादुरको टाउकोमा लागेको थियो। त्यो दृष्यले केही खल्लोपन ल्याए पनि खेलाडीको डेमन्स्ट्रेसन हेर्न लायक थियो। तर त्यहाँ खल्लो बनाउने के भएको थियो भने उद्घोषक करिश्माले पटक पटक खेलाडीहरुलाई भाइहरु र तिमीहरु भनेर सम्बोधन गरिरहेकी थिइन्।

दृष्य नम्बर १० : संगीतलाई समय नदिँदा कलाकारलाई खल्लोपन

कार्यक्रममा स्थापित गायक रामकृष्ण ढकालले गाएका थिए भने अन्य कलाकारहरुको समूहले विभिन्न प्रकारका नृत्य प्रदर्शन गरेका थिए। कलाकारहरुको प्रस्तुतिले चर्को घामले तातेका मानिसहरुलाई पनि बाहिरिन रोकिरहेको थियो।

तर नयाँ शक्तिका देवानिसंह राईले संगीत नै नसकिँदै र रोक्न नमिल्ने ठाउँमा रोकिदिँदा नाचिरहेका कलाकार खल्लो मान्दै मञ्चबाट बाहिरिएका थिए। एकपटक त थारु नृत्य प्रस्तुत भइरहेको थियो। पुरुष कलाकारले महिला कलाकारलाई बोकेर घुमाउँदै थिए, बीचमै संगीत रोकियो। ती कलाकार एकाएक संगित रोकिँदा छक्क परेर म्युजिक कन्ट्रोलरतिर हेर्दै महिला कलाकारलाई बोकेर घुमाइरहेका थिए। 

















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell