PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

फैसलाले मन्त्री बन्न रोकेको झोंकमा न्यायधीश बमको हत्या, मुख्य योजनाकारसहित ४ जना पक्राउ



फैसलाले मन्त्री बन्न रोकेको झोंकमा न्यायधीश बमको हत्या, मुख्य योजनाकारसहित ४ जना पक्राउ
प्रहरीले पक्राउ गरेका अभियुक्तहरु। बायाँबाट दोश्रो (लामो कपाल पाल्ने) मुख्य योजनाकार थापा।

  • अनन्त कोइराला/पहिलोपोस्ट -
काठमाडौं : चुरेभावर राष्ट्रिय एकता पार्टीको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा गरेको फैसलाका कारण सर्वोच्च अदालतका न्यायधीश रणबहादुर बमको हत्या भएको प्रहरीले जनाएको छ।  

न्यायधीश रणबहादुर बमको तीन वर्षअघि गोली प्रहार गरी हत्या गरिएको थियो। बमको हत्यामा संलग्न बाबु थापा भनिने चुरेभावर पार्टीका तत्कालीन उपाध्यक्ष मेघ बहादुर थापा (३८) लाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ। थापासँगै हत्यामा संलग्न पाँचजना मध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

थापासँगै शिव भन्ने जनकपुरका करण चौधरी (३८) , नवीन भन्ने प्रेमराज खड्का (२८), जनकपुरकै दीपक कर्ण (२८)  पक्राउ परेका छन्। भगवान भन्ने सञ्जय ईस्माली फरार छन्। सुरुमा करण चौधरीले न्यायधीश बमका पिएसओलाई गोली हानेका थिए। त्यसपछि भगवान र करणले न्यायधीशलाई गोली हानेका थिए।

प्रहरीका अनुसार हत्या भएको स्थलबाट चारवटा हतियार फेला परे पनि दुईओटा मात्र प्रयोग भएका थिए।


प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सिआइबी प्रमुख हेमन्त मल्ल ठकुरी सहितका प्रहरी अधिकारी।
गृह राज्यमन्त्री बन्न नपाएको झोंक

'२०६४ सालमा पार्टी अध्यक्ष केशव मैनालीसँग चर्केको विवादमा निर्वाचन आयोगले आफू नेतृत्वको पार्टीलाई मान्यता दिएको तर मैनाली अदालत गएपछि बमको एकल इजलासले मैनालीलाई जिताएको बदला लिन हत्या भएको', प्रहरीले जनाएको छ।

२०६४ सालमा चुरे भावरको पार्टीको पार्टी उपाध्यक्षसमेत रहेका बाबु थापा भनिने मेघबहादुर थापाको तत्कालिन पार्टी अध्यक्ष केशव मैनालीसँग विवाद भएको थियो।

अध्यक्षसँग विवाद भएपछि पार्टी नेतृत्व कसको रहने भन्ने विषयमा बाबु थापाले निर्वाचन आयोगमा उजुरी गरेका थिए। निर्वाचन आयोगले सोही साल दुवै पक्षलाई बोलाएर मिलापत्र गराएर केशव मैनालीलाई अध्यक्ष सदर गराएको थियो।

विवाद सुल्झेको जस्तो देखिएपनि मिति २०६६ साल जेठ २७, २८ र २९ गते दुवै पक्षले फरक फरक ठाउँमा महाधिवेशन गराएका थिए। अधिवेशनपछि कुन पार्टी आधिकारिक भन्ने विवाद पुनः बल्झियो। मुद्दा निर्वाचन आयोगमा पुग्यो। निर्वाचन आयोगले बाबु थापाको पार्टीलाई मान्यता दियो।

निर्वाचन आयोगको निर्णय विरुद्ध तत्कालिन अध्यक्ष केशव मैनाली सर्वोच्च अदालत पुगे। सर्वोच्चका तत्कालिन न्यायधीश रणबहादुर बमको एकल इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्दै पुरानै नेतृत्व (केशव मैनाली)लाई निरन्तरता दिने अन्तरिम आदेश सुनायो।

बाबु थापाले आफ्नो पार्टीको नेतृत्वमा पार्टी रहेको खण्डमा आफू गृह राज्य मन्त्रीसमेत हुने माहोल बनिसकेको तर सर्वोच्चले पार्टीका पूर्व अध्यक्ष केशव मैनालीलाई नै अर्को आदेश नभएसम्म जारी राख्ने अन्तरिम आदेश दिएकोले बदला लिन हत्या योजना बुनेको अनुसन्धानबाट खुलेको छ।

हत्यामा संलग्न बाबु थापा र प्रेम थापालाई प्रहरीले पुस १८ गते शुक्रबार सर्लाही क्षेत्रबाट पक्राउ गरी शनिबार सार्वजनिक गरेको थियो। हत्यामा संलग्नलाई  प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल आफैँ पत्रकार सम्मेलनमा उपस्थित थिए।

राजनीतिक करिअर ध्वस्त भएको तुष

बाबु थापामा आफ्नो राजनीतिक करिअर ध्वस्त बनाएको तुष मनभरी थियो। अनुसन्धानका क्रममा थापाले 'न्यायलयले अनियमितता गरी निर्वाचन आयोगको निर्णयउपर स्टे अर्डर जारी गरेको आफुलाई लागेको' बयान दिएका छन्।

यो आदेशले तीनवर्षसम्म आफूलाई दुःख दिएको भन्दै उनले नेपाली जनता स्वतन्त्र स्वाभिमान राष्ट्रिय पार्टी गठन गरे। पार्टी गठन गर्ने बित्तिकै आफूविरुद्ध लाग्ने सम्पूर्ण व्यक्तिलाई सिध्याउने योजना अनुरुप पहिलो टार्गेट न्यायधीशलाई बनाएको उनले बयानमा बताएका छन्।

पछिल्लो दशककै हाइप्रोफाइल हत्या

न्यायधीश बमको हत्या पछिल्लो दशककै हाइ प्रोफाइल हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा दुई वर्ष ७ महिनादेखि अनुसन्धान गरिरहेको थियो। अनुसन्धानका लागि प्रहरीले दुई लाखभन्दा बढी एसएमएस र हजारौं फोन कलको अध्ययन गरेको थियो।

हत्यामा संलग्नको पहिचान एक साताअघि नै गरेको र सोही बमोजिम चार दिनदेखि अभियुक्त समात्नेक्रम सुरु भएको प्रहरीले जानकारी दिएको छ।

बाबु थापालाई हत्या अभियोगमै यसअघि प्रहरीले नियन्त्रणमा लिएको भए पनि पर्याप्त प्रमाण अभावका कारण छाडेको थियो।

तीन वर्षअघि पाटनको बगलामुखी दर्शन गरी अदालत जाँदै गरेका बममाथि मोटरसाइकलमा आएका चार जनाले युनएनपार्क नजिकै गोली प्रहार गरी हत्या गरेका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखमा हेमन्त मल्ल ठकुरी आएपछि नसुल्झिएका ठूला केसमाथि अनुसन्धान सुरु गरेका थिए। यो त्यसैको श्रृंखला हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell