PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​नेपाल टेस्ट क्रिकेटका लागि अझै तयार भइसकेको छैन : प्रशिक्षक टमाटा



पहिलोपोस्ट

​नेपाल टेस्ट क्रिकेटका लागि अझै तयार भइसकेको छैन : प्रशिक्षक टमाटा

काठमाडौँ :  नेपाली क्रिकेट टीमका प्रशिक्षक जगत तमाटाले टेस्ट क्रिकेटका लागि नेपाल अझै तयार भइनसकेको बताएका छन्। 

नेपाल जस्तो एसोसिएट राष्ट्रहरुको लागि टेस्ट क्रिकेटको ढोका खुल्ने संकेत गर्दै टेस्टलाई दुई डिभिजनमा वर्गीकरण गरेर नयाँ प्रतियोगिता गराउने तयारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले गर्दैगर्दा तमाटाले पहिलोपोस्टलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। 

आइसीसीको यस्तो कदमलाई उनले सकरात्मक रुपमा लिएका छन्। ‘नेपाली क्रिकेटको विवाद कायमै रहँदा पनि आइसीसीले तोकेरै नेपालको नाम उच्च स्थानमा लिनु स्वागतयोग्य हो,’ उनले भने, ‘तर टेस्ट क्रिकेटका लागि नेपाल अझै तयार भइसकेको छैन।‘ 

‘सर्वप्रथम घरेलु पूर्वाधारको व्यवस्था गर्नुपर्‍यो, क्यान विवाद सुल्झाउनुपर्छ। आफ्नो स्थितिमा सुधार गरेमात्र नेपाल अगाडि बढ्न सक्छ’, टमाटाले भने। 

नेपालभन्दा नेदरल्याण्ड्स लगायतका देशहरुको भौतिक पूर्वाधार धेरै राम्रो रहेको पनि उनले बताए। नेपालमा प्रतिभाको कुनै कमि नभएको भन्दै उनले राष्ट्रपति रनिङ शिल्डमै पनि उत्कृष्ट युवा प्रतिभाहरु देखा परेको तर यसलाई एकेडेमीमार्फत् कसले अगाडि बढाउने भन्दै उनले चिन्ता व्यक्त गरे।

के छ आइसिसीको नयाँ प्रस्तावमा?

आइसीसीले सन् २०१९ सम्ममा टेस्ट क्रिकेटमा बढुवा र घटुवा प्रणाली लागू गर्ने भएको छ। टेस्ट क्रिकेटलाई जोगाइराख्न प्रतिस्पर्धा आवश्यक भएको कारण नै आइसीसीले टेस्टमा दुई डिभिजन बनाउन लागेको आइसीसीका प्रमुख कार्यकारी डेविड रिचर्डस बताए। 

सन २०१७ को च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक कार्यक्रममा बोल्दै रिचर्डसले आगामी केही साता भित्रमै नयाँ टेस्ट राष्ट्रको पनि घोषणा हुने उनले जनाए।

यसले नेपालसहित अफगानिस्तान र आयरल्याण्डका लागि टेस्ट मान्यताको ढोका खुलेको तर वेस्ट इन्डिज जस्तो राष्ट्रका लागि खतराको संकेत रहेको रिचर्डसले बताएका छन्। यदि आफ्नो स्तर सुधार नगरेको खण्डमा क्यारेवियन टोली टेस्टको डिभिजन टु मा झर्न सक्ने चेतावनी पनि दिइएको छ।

यद्यपि टेस्ट डिभिजनको नयाँ खाका कस्तो हुने भन्ने बारे खुल्ला बहस हुन सक्ने र एक महिना भित्रमा सहमति हुने बताइएको छ। यसअनुसार टेस्टको माथिल्लो डिभिजनमा ७ र तल्लो डिभिजनमा ५ टिम हुनेछ। यस योजना अनुसार एउटा टिम माथिल्लो डिभिजनमा उक्लनेछ भने एउटा टिम तल झर्नेछ। 

रिचर्डसले प्रत्येक क्वालिफाइङ टेस्ट सिरिजमा कम्तिमा तीन टेस्ट हुनुपर्ने आशा व्यक्त गरेका छन्। यस्तै माथिल्लो डिभिजनमा ७ टीम भएमा दुई वर्षको अवधिमा ३ होम र ३ अवे गरी कुल ६ सिरिज हुनुपर्ने प्रस्ताव गरिएको छ।

यस्तै रिचर्डसले सन् २०१८ मा टी ट्वान्टी विश्वकप आयोजना गर्न लागिएको पनि उल्लेख गरेका छन् जसमा कम्तिमा १६ टीम हुनेछन् र यो दक्षिण अफ्रिका, श्रीलंका र युएईमध्ये एकले आयोजना गर्नेछ। यसको अन्तिम निर्णय आइसीसीको अफिसियल ब्रोडकास्ट पार्टनर स्टारसँग सल्लाह गरेपछि हुने रिचर्डसले जनाए। 

यसअघि आइसीसीले दुई वर्षको अन्तरमा टी ट्वान्टी विश्वकप आयोजना गर्दै आएको केही समयअघि चार वर्षको अन्तरमा आयोजना गरिने निर्णय गरेको थियो। तर हालैको आइसीसी बैठकले त्यो निर्णय उल्टाउँदै पुन २ वर्षको अन्तरमा गरिने निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell