PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

केडिया अपहरण घटनामा हवल्दारसहित चार प्रहरी निलम्बित



रासस

 कलैया : मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा हवल्दारसहित चार प्रहरीलाई निलम्बित गरेको छ। बारा कवही गोठ चौकीका प्रहरी कारबाहीमा परेका हुन्।
 
केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि उनीहरुलाई निलम्बित गरिएको हो।
 
यसरी कारबाहीमा पर्नेमा प्रहरी हवल्दार तेजबहादुर ढकाल, प्रहरी जवानत्रय प्रमोदकुमार यादव, वुनिल महतो र सुरेन्द्रप्रसाद साह छन्।
 
यसअघि तेलकुवा सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने, कवही गोठ बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रशमशेर कुँवर, सशस्त्र प्रहरी हवल्दार र सशस्त्र प्रहरी जवानसमेतलाई निलम्बित गरिएको थियो।
 
सशस्त्र प्रहरी कार्यविभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङ, नेपाल प्रहरी कार्यविभागका प्रमुख अतिरिक्त महानिरीक्षक केदार साउदको टोलीले अपहरणको घटनाबारे अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell