PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


दरबार हत्याकान्डले टुहुरी बनाएकी गीर्वाणी जब नारायणहिटी दरबारअगाडि पुगिन्


पहिलोपोस्ट

दरबार हत्याकान्डले टुहुरी बनाएकी गीर्वाणी जब नारायणहिटी दरबारअगाडि पुगिन्

यी रोए पनि दुःख लाग्छ, यिनले सम्झे कि आमा भनी।
यी हाँसे पनि सुख छैन, यिनले बिर्से कि आमा भनी।

राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गौरी शोककाव्यबाट साभार गरी माथिको अंश क्याप्सनसहितको राजधानी दैनिकमा छापिएको एउटा फोटो २०५९ सालमा निकै चर्चित भयो। 

राजधानीका तत्कालीन कार्यकारी सम्पादक जीवेन्द्र सिम्खडाका अनुसार गोरखशमशेर राणा आफ्ना दुई छोरीहरुको हात समात्दै नारायणहिटी दरबारतर्फ लाग्दै गरेको यो फोटो चन्द्रमान महर्जनले खिचेका हुन्। राजदरबार हत्याकान्डमा अधिराजकुमारी श्रुतिसहित राजपरिवारका सदस्यहरुको मृत्यु भएको थियो। गोरखशमशेर लगायतका परिवारका अन्य सदस्य भने बाँच्न सफल भएका थिए। 

श्रुतिको हत्या हुँदा उनकी जेठी छोरी गीर्वाणी राणा तीन वर्षकी र कान्छी सुरंगना दुई वर्षकी मात्र थिइन्।

अर्को फोटो भाइरल भयो २०६९ सालमा। आमाको फोटो हेरेर गीर्वाणीको आँखाबाट आँसु बग्दै गरेको फोटो फेसबुकमा धेरैले सेयर गरे। 



आर्ट काउन्सिलमा आयोजित शाही चिकित्सक खगेन्द्र श्रेष्ठले खिचेका पूर्वराजपरिवारको तस्बिर प्रदर्शनी हेर्न बाबु गोरखशमशेरसित गएकी उनले सबै तस्बिरहरू हेर्न सकेकी थिइनन्। आमा श्रुतिको तस्बिर हेर्दाहेर्दै भक्कानिएर रोएकी थिइन्। त्यतिबेला उनी १४ वर्षकी थिइन्। 

गीर्वाणी आफ्नी बहिनी सुरङ्गनासहित काठमाडौँको सार्वजनिक कार्यक्रममा पुनः देखिइन् बुधबार। ठाउँ थियो एक जमानामा आफ्नी आमा जन्मे हुर्केको ठाउँ नारायणहिटी राजदरबार। पिङ्क कुर्तामा सजिएकी गीर्वाणी ठ्याक्कै आमा श्रुतिजस्तै देखिएकी थिइन्। 


कजन सिस्टर ब्रदर (पारसकी छोरीहरु र छोरा)सँग आएका उनीहरुले संग्रहालयमा परिणत भइसकेको नारायणहिटी दरबारको गेटमा राखिएको दिवंगत राजपरिवारको फोटोमुनि मैनबत्ती बाले, पुष्पगुच्छा चढाए। अनि गाए राष्ट्रिय गान। सयौँ थुङ्गा हैन, पुरानै श्रीमान् गम्भीर नेपाली…। 

यस पटक उनी रोइनन्, तर उनी भावुक देखिन्थिन्। 

हिमानी ट्रस्टसितको सहकार्यमा सि नेपाल नामको संस्थाले आयोजना गरेको कार्यक्रम मुकुन्डो लगाएर नगरपरिक्रमा गरी नारायणहिटीको गेटमा समापन भएको थियो।  


गीर्वाणी र सुरङ्गनाका पिता गोरखशमशेर स्टान्डर्ड चार्टर्ड बैँकको एक्जेक्युटिभ कमिटीमा कमर्सियल बैँकिङ एन्ड इन्टरनेसनल कर्पोरेट्सका हेड छन्। 

बिहे गरेको केही वर्षसम्म यत्तिकै रहे पनि पछि उनले लोकेन्द्रबहादुर चन्दको भाइकी छोरीसँग बिहे गरे। सौतिनी आमाका तर्फबाट गीर्वाणी र सुरङ्गनाकी एक बहिनी पनि छिन्। 

गीर्वाणी र सुरङ्गनालाई पिता गोरखले भारतको सिमलामा अध्ययनका लागि पठाएका थिए। उनीहरु कहिलेकाहीँ भने विदा मनाउन काठमाडौँ आउने गर्छन्। 

उति सारो सार्वजनिक कार्यक्रममा नदेखिने उनीहरु यस पटक भने नारायणहिटी दरबारमै आयोजित कार्यक्रममा पारसका छोराछोरीहरुसँगै देखिए। 



आमा तत्कालीन अधिराजकुमारी श्रुतिसँग गीर्वाणी


भारतमा गीर्वाणी र सुरङ्गना। 


गीर्वाणी र पारसकी जेठी छोरी पूर्णिका। 



दरबार हत्याकान्डले टुहुरी बनाएकी गीर्वाणी जब नारायणहिटी दरबारअगाडि पुगिन् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट