PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​हतार भएका देउवा र पौडेलले निकाले 'हटगर्ल'को डान्सलाई समय



पहिलोपोस्ट

​हतार भएका देउवा र पौडेलले निकाले 'हटगर्ल'को डान्सलाई समय

काठमाडौँ : मंगलबारदेखि नेपाल विद्यार्थी संघले ११ औँ महाधिवेशनका लागि नीति तथा कार्यक्रम निर्माणमा सुझाव लिने र प्रशिक्षिण दिने कार्यक्रम सुरु गरेको छ। पहिलो उपत्यकास्तरीय कार्यक्रम मंगलबार काठमाडौको नाचघरमा मंगलबार दिउँसो एक बजेका लागि तोकिएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि थिए, कांग्रेस सभापति शेरबहादुर देउवा अनि विशिष्ट अतिथि थिए वरिष्ठ नेता रामचन्द्र पौडेल। दिउँसो एक बजेका लागि राखिएको कार्यक्रममा बोलाइएका प्रमुख अतिथि र विशेष अतिथिद्वय करिब साढे ३ बजे कार्यक्रमस्थल पुगे। 

त्यसअघि नै भाषण सुरु भइसकेको कार्यक्रमको बल्ल उद्घाटन भयो।


उद्घाटनपछि नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्माले बोले। रोलक्रम अनुसार नेविसंघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बोल्ने कार्यसूची थियो। उद्घोषकले 'नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष आदरणीय नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य' मात्र के भन्न भ्याएका थिए, नजिकै बसेका कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले ‘सभापतिलाई पहिला’ भनेर उनलाई रोके। त्यसो भन्नुअघि नै सभापति देउवा छटपट छटपट गरिरहेका थिए। 

नाम मात्र लिन बाँकी रहँदा रोकिनुपरेपछि उद्घोषकले सच्याए, ‘हाम्रा आदरणीय सभापति तथा प्रमुख अतिथिको अत्यन्त व्यस्त कार्यसूची रहेकाले उहाँलाई बोलाउनुपर्ने भयो। म आदरणीय सभापति शेरबहादुर देउवालाई मन्तव्यका लागि निम्त्याउँछु।' 

बिचरा उद्घोषकले आदेशानुसार निम्त्याए तर देउवा आएनन्। नाचघरको हलभरी रहेका विद्यार्थीमाझ होहल्ला नै भयो। अलिपछि पहिला रामचन्द्र भन्ने संकेत देउवाले गरे। 

अलि अप्ठेरो महसुस गरेका उद्घोषकले नेताहरुको लाज ढाक्न सकेनन्। उनी बहकिए। 'हेर्नुहोस तपाईँहरुले पनि देखिरहनुभएको यहाँ धेरै कुरा आएका छन् त्यसैले अब म विशिष्ट अतिथि बैचारिक नेतृत्व आदरणीय रामचन्द्र पौडेललाई निम्त्याउँछु।' 

उनले निम्त्याएपछि पौडेलले भाषण सुरु गरे र नेविसंघलाई  श्रमको सम्मान हुने अभियान संचालन गर्न सुझाव दिए। पहिला 'ब्रेन ड्रेन'को समस्या रहेकोमा अहिले 'लेवर ड्रेन'को समस्या आएको' भन्दै त्यसलाई रोक्न नेविसंघलाई सुझाव दिए। 

'यहाँबाट विदेशमा के के न हुन्छ भनेर जानेहरु अमेरिकामा भाँडा माझ्छन्' उनले भने, 'यदि यहीँ श्रमको सम्मान हुन्थ्यो र काम सानोठूलो हुँदैन भन्ने संस्कार स्थापित हुन्थ्यो भने उनीहरु पलायन हुँदैनथे।' उनले यस्तै तार्किक भाषण गरेर १६ मिनेट गुजारे। 

पौडेलको भाषण जारी रहँदा देउवा साँच्चै रिसाए जस्तै भएका थिए। एकदमै अधैर्य देखिएका देउवा, रामचन्द्र पौडेलले भाषण सकाएपछि बल्ल धैर्य देखिएका थिए। उद्घोषकले सभापति देउवालाई बोलाउन लाग्दै थिए, अर्का सुझावकर्ता आए कविता वाचनका लागि समय दिने। 

उद्घोषकले सभापतिलाई हतार भएकाले एक मिनेटमा कविता वाचन सकाउन आग्रह गर्दै विद्यार्थी नेतृ चन्दा अधिकारीलाई समय दिए। 

अधिकारीले मन्दाक्रान्त छन्दमा र सार्दुलविक्रिडित छन्दमा दुई कविता पाँच मिनेटमा वाचन गरिन्। त्यतिले नभएर उनले सटारिकल मुक्तक वाचन गरिन्, 'चुनाव बिनाको अबिर लाइँदैन नेताका कृपाबाट विजय चाहिँदैन' भन्ने आसयमा र ६ मिनेटको समय गुजारिन्। 

धेरैको अनुमान थियो देउवा अब धेरै रिसाउँछन्। तर उद्घोषकले फरक एनाउन्स गरे, 'प्रमुख अतिथिको स्वीकृतिमा एउटा नृत्य प्रदर्शन गर्ने'
पव्लिक युथ क्याम्सकी विद्यार्थी नम्रता पौडेलको गीतसंगीत र नृत्यमा पनि विशेष शौख छ भन्दै उद्घोषकले मञ्चमा निम्त्याए नृत्यका लागि, जहाँ स्टेज थिएन। शेरबहादुर देउवा मात्र हैन, हतार छ भनेर समय लिएर भाषण सकाएका रामचन्द्र पौडेल पनि त्यसबेलासम्म मञ्चमै थिए। 

त्यतिकैमा नेताहरुको अगाडि देखा परिन् नृत्याङ्गना। छोटो स्कर्ट र टिमिक्क चोली लगाएकी नृत्याङ्गना नम्रता नेताहरुको अगाडि आत्मविश्वाससहित उभिइन्। म्युजिक बजेन, उनी ज्यान तनक्क तन्काएर सोझो बनाउँदै उभिइन्।  मञ्चतर्फबाटै हुटिङ सुरु भयो, ‘म्युजिक म्युजिक’।

म्युजिक सुरु भयो, नम्रताले जिउ मर्काउन सुरु गरिन्। मोटै शरिर भएपनि हल्का बनाएर प्रस्तुत भएकी नम्रताले नाचकी भाँति नपुर्याोए पनि नेताका अघि जबर्जस्त प्रस्तुति दिइन्।  

उनको शैलि देखेर नेविसंघका नेतृहरु प्रस्तुतिका विषयमा असन्तोष जनाउँदै थिए। भन्दै थिए, 'नेताहरुले के सोचे होला?' सायद नेताहरुले धेरै कुरा सोचे होलान्। 

किनभने उनको नृत्य हिन्दी सिनेमा ‘डर्टी पिक्चर’मा विद्या बालनले नसिरुद्धिन साहसँग गरेको ‘उलाला उलाला’ शैलीको थियो। फरक केही थियो भने, विद्या बालनको कपडा लामो थियो नम्रता पौडेलको त्योभन्दा धेरै गुणा छोटो।

नृत्य पनि लामै गयो।  अगाडि बस्नेले सिट्टी बजाए तर सबैभन्दा नजिक रहेका देउवा र पौडेलले हेरि मात्र रहे। नृत्य सकिएपछि देउवाले बोल्ने समय आयो। उद्घोषकले धेरै वक्ता बाँकी रहेपनि सभापतिको व्यस्त समयका कारण उहाँलाई मन्तव्यका लागि निम्त्याउँछु मन्दै डायसमा बोलाए। 

सँधै छोटो बोल्ने देउवाले अलि लामै समय दिए। उनले सात मिनेटमा आफ्नो मन्तव्य पूरा गरे। 

धेरैले बोल्न पाएनन्

धेरै वक्ता राखिएको उद्घाटन सत्रमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पुग्दासम्म सात जना वक्ताले बोलिसकेका थिए। कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले बोल्दै गर्दा सभापति र वरिष्ठ नेता पुगे भने उनीपछि महेन्द्र शर्माले पनि बोल्ने अवसर पाए। 

त्यसपछिको रोलक्रममा नेविसंघका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्यहरु क्रमश गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, गोविन्द भट्टराई धनराज गुरुङ तथा वर्तमान सभापति रञ्जीत कर्ण र कांग्रेस नेता डा प्रकाशरण महतको पालो थियो। तर उनीहरु अघि नै सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बोलिसकेपछि बोल्ने र कार्यक्रमलाई निरन्तरता दिने अवस्था रहेन। देउवाको भाषणपछि उद्घोषकले क्षमा मागे।

'हामीसँग धेरै जना विशिष्ट बक्ताहरु हुनुहुन्थ्यो उहाँहरुका मार्गदर्शन सुन्न आवश्यक पनि थियो' उद्घोषकले भने, 'तर प्रमुख अतिथि र विशिष्ट अतिथिको समयका कारण त्यो संभव भएन। म क्षमा माग्दै कार्यक्रमको समापन गरिदिन कार्यक्रमका सभापति प्रकाश महर्जनलाई अनुरोध गर्दै विदा चाहन्छु।' 

कार्यक्रम सकियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell