PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​यी हुन् युरो २०१६ का दाबेदार देश



​यी हुन् युरो २०१६ का दाबेदार देश

  • गोविन्द नेपाल -
१५ औं संस्करणको युरो कप फुटबल आगामी १० जुनबाट फ्रान्समा सुरु हुँदैछ। पहिलो पटक २४ राष्ट्र सहभागी हुन लागेको यस पटकको युरो कपमा ५ राष्ट्रले डेब्यु गर्दैछन् भने खेलमा ४ पूर्व विजेता देश मात्रै छानिएका छन्। ३ पूर्व विजेता डेनमार्क, नेदरल्याण्ड र ग्रीस भने यो पटक छनोट हुन असफल रहे।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअघि सधैं चर्चामा रहने गरे पनि इङ्गल्याण्डले भने अहिलेसम्म युरो उपाधि जित्न सकेको छैन। यस पटक इङ्गल्याण्डलाई उपाधि दाबेदारको रुपमा पनि हेरिएको छ।

युरो २०१६ मा को को छन् त उपाधिका मुख्य दाबेदार?

फ्रान्स फिफा वरियता २१

फ्रान्स घरेलु भूमिमा युरो कप खेल्दैछ। फ्रान्समा युरो आयोजना हुन लागेको यो तेस्रो अवसर हो। यसअघि सन् १९६० को पहिलो संस्करण आयोजना गरेको फ्रान्सले सन् १९८४ मा दोस्रो पटक आयोजना गर्दा उपाधि जितेको थियो।

यस्तै सन् २००० मा बेल्जियम र नेदरल्याण्ड्सले संयुक्त रुपमा आयोजना गरेको युरोमा फ्रान्स दोस्रो पटक च्याम्पियन बनेको थियो। पछिल्लो पटक सन् २०१२ मा भने फ्रान्स क्वाटरफाइनलबाटै बाहिरएको थियो। तर यस पटक घरेलु भूमिमै हुन लागेको कारण फ्रान्स तेस्रो पटक उपाधि जित्ने दाउमा छ।

फ्रान्सको टोलीमा अहिले युवा खेलाडीहरुको बाहुल्यता छ र यी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा फ्रान्स उपाधि जित्न सक्षम हुनेछ। फ्रान्सको उपाधि यात्राको मुख्य हतियार भने पउल पोग्वा हुन्। इटालियन क्लब युभेन्ट्स बाट खेल्ने पोग्वाले युभेन्ट्सलाई सिरी ए को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। यस्तै इङ्गलिस क्लब म्यानचेष्टर युनाइटेडबाट खेल्ने एन्टोनी मार्सिएल, आर्सनलका ओलिभर जिरुड, लेस्टरका एन गोलो कान्टे, वेष्टहमका दिमित्री पायट, जर्मन क्लब वायर्न म्युनिखका किंग्सले कोमन, गोलरक्षक ह्युगो लोरिस फ्रान्सका मुख्य खेलाडी हुन्। आयोजक नाताले फ्रान्स छनोट चरण नखेली सोझै युरोकपका लागि छनोट भएको हो। फ्रान्स युरो कपको उपाधि जित्दै गत नोभेम्बरमा भएको पेरिस घटनाले पुर्‍याएको घाउमा मलम लगाउने योजना छ।
 

जर्मनी फिफा वरियता ५

दुई वर्षअघि ब्राजिलमा भएको विश्वकप फुटबलको उपाधि जितेको जर्मनी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सदाबहार दाबेदार राष्ट्र हो। चार पटक विश्वकप र तीन पटक युरो कप जितेको जर्मनी विश्व फुटबलमै सफल राष्ट्रमध्ये पर्छ। सुरु तीन संस्करणमा सहभागिता नजनाएको जर्मनीले पश्चिमी जर्मनीको रुपमा सन् १९७२ को डेब्यु संस्करणमै उपाधि जितेको थियो। १९८० मा दोस्रो पटक उपाधि जितेको जर्मनीले एकीकरणपछि पहिलो पटक १९९६ मा युरो उपाधि हात पारेको थियो। लगातार ११ पटक युरो खेलिसकेको जर्मनी सबैभन्दा बढी युरोकप खेल्ने राष्ट्रसमेत हो। पछिल्लो पटक सन् २०१२ को युरोमा उत्कृष्ट फर्ममा रहे पनि जर्मनी सेमिफाइनलमा इटलीसँग २–१ ले पराजित हुँदै बाहिरिएको थियो। ६ पटक फाइनलमा पुगेको जर्मनी तीन पटक भने उपविजेतामै सीमित भएको थियो।

विश्व विजेताको हैसियतमा युरो खेल्न लागेको जर्मनीलाई स्वभाविक दाबेदार मानिँदै आएको छ।

छनोट चरणमा समूह डी मा रहेको जर्मनीले १० मध्ये ७ मा जित र १ मा बराबरी नतिजा निकाल्दै २२ अंकका साथ शीर्ष स्थानमा रहेर सोझै छनोट भएको हो। जर्मनीले छनोटमा २ खेल भने गुमाएको थियो। छनोट चरणमा थोमस मुलरले सर्वाधिक ९ गोल गरेका थिए।

मुलरसँगै विश्व कप फाइनलमा गोल गरेका मारियो गोट्ज, मेसुट ओजिल, टानेी क्रुस, मार्को रिउस, डिफेन्डर माट् ह्यामल्स, गोलरक्षक मानुएल नोए युरो २०१६ मा जर्मनीको मुख्य हतियार हुन्।
 

स्पेन फिफा वरियता

पछिल्ला दुई संस्करणको युरो च्याम्पियन हो स्पेन। लगातार दुई पटक उपाधि जित्ने एक मात्र राष्ट्र पनि यही मुलुक हो। जर्मनीसँगै तीन पटक युरोकपको उपाधि जितेको स्पेनले सन् १९६४ मा घरेलु भूमिमा भएको दोस्रो संस्करणको युरोमा पहिलो पटक उपाधि जितेको थियो।
९ पटक युरो कपमा सहभागिता जनाइसकेको स्पेन सर्वाधिक युरो कप खेल्ने राष्ट्रको सूचिमा जर्मनी भन्दामात्र पछि छ। सन् २००८ देखि अन्तर्राष्ट्रिय फुटबलमा एकछत्र राज गर्ने क्रममा स्पेन युरो, विश्वकप र युरो गरी लगातार तीन ठूला उपाधि जितेको थियो। तर सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको समूह चरणबाटै बाहिरिएपछि स्पेनको प्रभुत्व समाप्त भएको फुटबल पण्डितहरुको विश्लेषण थियो।

यस पटक उक्त पीडालाई भुलाउँदै युरो कपमा ह्याट्रिक गर्ने दाउमा छ स्पेन। स्पानिस लिग ला लिगालाई विश्वकै उत्कृष्ट लिग मध्ये मानिन्छ र स्पेनी राष्ट्रिय टीमका अधिकांश खेलाडीहरु पनि ला लिगा मै खेल्छन्। ला लिगामा खेल्ने सर्गियो रामोस, जेरार्ड पिके, जोर्डि अल्वा, जुवाफ्रान, कोक, सउल निगेज, नोलिटो जस्ता खेलाडी रहेको स्पेनी टिममा डेविड डि जिए, सेस फाब्रेगास, पेड्रो, डेविड सिल्भा, थिएगो, अल्भारो मोराटा जस्ता खेलाडीहरुको साथ रहनेछ।

छनोट चरणमा दश मध्ये ९ खेल जितेको स्पेन समूह सीको शीर्ष स्थानमा रहँदै युरो २०१६ को लागि छनोट भएको हो। छनोटमा सर्वाधिक गोल गर्ने सूचीमा स्पेन इङ्गल्याण्ड र अष्ट्रिया भन्दा पछि रहेको थियो भने डेविड सिल्भाले सर्वाधिक ३ गोल गरेका थिए।
 
 

इङ्गल्याण्ड फिफा वरियता १०

कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुनुअघि सबैभन्दा बढी चर्चा हुने राष्ट्र हो इङ्गल्याण्ड। तर १४ संस्करण सकिदाँसम्म इङ्गल्याण्डले अहिलेसम्म युरो कपको उपाधि जित्न सकेको छैन। सन् १९६८ मा तेस्रो हुनु र १९९६ मा सेमिफाइनल पुग्नु नै युरोमा इङ्गल्याण्डको अहिलेसम्मको उपलब्धी हो। पछिल्लो पटक २०१२ मा इङ्गल्याण्ड क्वाटरफाइनलबाट अगाडि बढ्न सकेन र इटलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले हारेको थियो।

सन् १९६६ मा विश्वकप फुटबलको उपाधि जितेको इङ्गल्याण्डले त्यसको दुई वर्षपछि पहिलो पटक युरोमा सहभागी जनाएको थियो। इङ्गल्याण्डले अहिलेसम्म ८ पटक युरो खेलेको छ।

छनोट चरणमा दशमध्ये सबै खेल जित्ने एक मात्र राष्ट्र हो इङ्गल्याण्ड। यस्तै छनोटमा सबैभन्दा बढी ३० गोल गरेको इङ्गल्याण्ड ३ गोल मात्र बेहोरेको थियो। वायन रुनीले छनोट चरणमा इङ्गल्याण्डका लागि सर्वाधिक ७ गोल गरेका थिए।

यसै कारणले पनि इङ्गल्याण्डलाई युरोकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ। रुनीसँगै इंग्लिस प्रिमियर लिगका सर्वाधिक गोलकर्ता ह्यारी केन र लेस्टरलाई पहिलो पटक उपाधि जिताएका जेमी भार्डी, युवा स्टारहरु डेले अली, मार्कोस रासफोर्ड तथा एरिक डाएर, क्रिस स्मालिङ, जियो हार्ट इङ्गल्याण्डका लागि मुख्य हतियारका रुपमा रहेका छन्।


, यी पनि

यी चार सँगै इटली, बेल्जियम र पोर्चुगललाई समेत युरो दाबेदारको रुपमा हेरिएको छ। छनोट चरणमा इटली समूह एच, बेल्जियम समूह बी र पोर्चुगल समूह एचको शीर्ष स्थानमा रहँदै छनोट भएका छन्।

चार पटकको विश्व विजेता तथा एक पटकको युरो विजेता इटली सन् २०१२ को युरो फाइनालिस्ट हो। क्वाटरफाइनलमा इङ्गल्याण्ड र सेमिफाइनलमा जर्मनीलाई हराउँदै फाइनल पुगेको इटलीले एक पक्षीय रुपमा नतिजा सुम्पेको थियो। समूह चरणमा १–१ को बराबरी खेले पनि फाइनलमा भने इटली स्पेनसँग ४–१ ले हारेको थियो।

सन् १९६८ मा युरो उपाधि जितेको इटली २००० र २०१२ मा उपविजेतामै समेटिएको थियो। यो पटक इटालियन टोलीमा युवा र पुराना खेलाडीहरुको समिश्रण रहेको छ भने प्राय खेलाडीहरु घरेलु लिगमा खेलेका छन्।

यस्तै बेल्जियम र पोर्चुगल एक एक पटक फाइनल पुगे पनि उपाधि जित्न भने असफल भएका थिए। बेल्जियम १९८० मा जर्मनीसँग तथा पोर्चुगल सन् २००४ मा घरेलु मैदानमै भएको युरो फाइनलमा ग्रीससँग पराजित भएका थिए।

बेल्जियम टीममा कुनै स्टार खेलाडीहरु नरहे पनि टीम सन्तुलित भएको छ। यस्तै पोर्चुगल रियल मड्रिडलाई कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भूमिका खेलेको रोनाल्डोमा भर परेको छ।

फिफा वरियतामा बेल्जियम २, पोर्चुगल ७ र इटली १५ औं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell