PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

​यी हुन् केडिया अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका झा



पहिलोपोस्ट

​यी हुन् केडिया अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका झा

  • राधेश्याम पटेल -
वीरगन्ज : उद्योगी सुरेश केडिया केडियालाई आइतबार भारतीय प्रहरीले रेस्क्यु गरी रक्सौल ल्याएपछि एसपीद्वय विनय कुमार र जीतेन्द्र राणाले थाना प्रभारीको कार्यालय रक्सौलमा पत्रकार सम्मेलन गरे। 

त्यहाँ अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई पनि सार्वजनिक गरियो। रातो लुगा लगाएका र कालो कपडाले मुख छोपिएका ती व्यक्ति अपहरणकारीका गाडी चालक रहेको जानकारी दिइयो। 

उनको नाम रन्जन झा हो। उनी सीमावर्ती सहर रक्सौल निवासी हुन्। भारतीय प्रहरीले उनको बयान सार्वजनिक गरेको छैन।

अपहरणमा प्रयोग भएको बीआर ०५ ३२३९ नम्बरको गाडी ,एक थान बन्दुक, ४ गोली र तीन मोबाइल बरामद गरिएको छ। बरामद गरिएको गाडी रक्सौलका धुरेन्द्रप्रताप कामतको थियो। रन्जनले यो गाडी भाडामा चलाउँदै आएका थिए।


सुरेश केडिया र एसपी विनय, एसपी जितेन्द्र। 

यसरी भयो रेस्क्यु

मोतिहारीको छतौनी भन्ने चोकबाट मध्यान्ह १२  बजे मोतिहारीका एसपी जितेन्द्र राणा र बेतियाका एसपी विनय कुमारको नेतृत्वमा खटेको बिहार पुलिसको टोलीले रेस्क्यु गरेको थियो। 

उनलाई अपहरणकारीले लुकाएर राखेको ठाउँबाट रेस्क्यु गरिएको भने हैन। उनलाई कहाँ लुकाएर राखिएको थियो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। 

आइतबार बिहान ११ बजे मोटरसाइकलमा दुई जनाको बीचमा आफूलाई बसाएर छतौनी चोकमा छोडेर गएपछि प्रहरीले आफूलाई उद्दार गरेको केडियाले पत्रकार सम्मेलनमा बताए। 

बेतियाका एसपी विनयकुमारका अनुसार शनिबार राति नै अपहरणकारीहरुले राखेको विभिन्न ठाउँमा छापा मार्न थालेकोले डरले अपराधीहरुले केडियालाई छतौनी चोकमा छोडेको बताए।

केडियालाई गत बिहीबार बारा जिल्ला ,महागढिमाई नगरपालिकामा पर्ने बगवनको पसहा पुलबाट भारतीय नम्बरप्लेटको स्कारपियो लिएर नेपाल प्रवेश गरेका ६ जना हतियारधारी समुहले चालकलाई गोली हानी अपहरण गरी लगेका थिए ।

 नेपालका प्रतिष्ठित उद्योगपतिमा गणना हुने केडिया अर्गनाइजेशनका सदस्य एवं सांसद् विमल केडियाको सहोदर दाइ भएको कारणले पनि नेपाल पुलिस सुरेश केडिया अपहरणमा निकै गम्भीर भएको थियो। 

सीमावर्ती बिहार राज्यका मुख्यमन्त्री नीतिशकुमारले शनिबार दिउँसो केडियाको खोजी गर्न एसपी द्वय जितेन्द्र राणा र विनय कुमारको कमान्डमा स्पेशल टास्क फोर्स गठन गरी रेस्क्यु अप्रेशन चलाउन निर्देशन दिएका थिए। 

केडिया मुक्त भएर आएपछि उनको परिवारमा खुशीयाली छाएको छ। वीरगंजका व्यापारीहरुले नेपाल र भारतीय प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन्।

यस घटनामा मोतिहारी जेलमा रहेका कुख्यात अपराधी बब्लु दुवेको गिरोहको हात रहेको र यसमा नेपालका कुख्यात अपराधीहरुको पनि संलग्नता रहेको प्रहरीले बताएको छ। बब्लुलाई नेपालमै लुकेर बसेका बेला तीन वर्षअघि पक्राउ परी भारतीय प्रहरीको  जिम्मा लगाइएको थियो।

भारतीय प्रहरीले वीरगन्जमा रहेका केडिया परिवारलाई दिउँसो १ बजे फोनबाट सुरेश केडिया अपहरणमुक्त भएको सूचना दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell