PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बजेटपछि मेरै नेतृत्वमा सरकार : प्रचण्ड



रासस

बजेटपछि मेरै नेतृत्वमा सरकार : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग बजेटपछि आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा सहमति भएको दाबी गरेका छन्।
 
क्रान्तिकारी पत्रकार सङ्घ चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लिखित रुपमा नभई दुई पार्टीका बीचमा ९ बुँदे सहमति हुँदा नै यस्तो समझदारी भएको बताए।
 
आफूले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको भन्दै उनले अब बन्ने सरकार पनि राष्ट्रिय सहमतिकै हुनेमा विश्वस्त रहेको बताए।
 
‘संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, मधेस समस्या समाधान र विकास निर्माणका लागि राष्ट्रिय सहमति जरुरी छ,’ उनले भने, ‘भूकम्पलगत्तै राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकाले दह्रोसँग उभिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेको थिएँ। संविधान जारी हुँदासमेत म राष्ट्रिय सहमतिमै पक्षमा थिएँ।’
 
माफी मिनाहासम्बन्धी ऐन अन्तिम चरणमा पुगेको जानकारी दिँदै अध्यक्ष दाहालले द्वन्द्वकालीन मुद्दाहरु शान्ति प्रक्रियाअनुरुप नै टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्।
 

अदालतमा लिखित जवाफ

अदालत अवहेलनाबारे सर्वोच्च अदालतले जवाफ मागेको विषयमा अध्यक्ष दाहालले भोलि लिखित जवाफ पठाउने बताएका छन्।

‘अदालतको म सम्मान गर्छु,’ उनले भने, ‘आफैं जानुपर्ने नदेखिएकाले भोलि लिखित जवाफ लिएर वारेसनामा पठाउनेछु।’

अदालतको मानहानीसम्बन्धी दायर रिटमा सर्वोच्चले तीन दिनभित्र आफैं उपस्थित भई जवाफ दिन मंगलबार आदेश दिएको थियो।
 

स्थानीय निर्वाचन सारौं

अध्यक्ष दाहालले स्थानीय निकाय निर्वाचनबारे दलबीच सहमति नजुट्ने देखिएकाले मिति सार्ने सुझाव दिएका छन्।

फागुनको अन्त्यसम्ममा स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन आउने हुँदा त्यसअघि निर्वाचन नगर्न कांग्रेसले सुझाएको भन्दै उनले सबैको सहमतिमा मात्र मिति तय हुने बताए।
 
आयोगको प्रतिवेदनपछि गाउँपालिका, नगरपालिका लगायतका स्थानीय निकायहरुको निर्वाचन हुने हुँदा संविधान कार्यान्वयनलाई पनि सहज हुने भएकाले सबै दलको सहमतिमा चैत वैशाखमा निर्वाचन गराए राम्रो हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell