PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कर छली प्रकरणमा गुगलको पेरिस कार्यालयमा छापा, छानविनमा सय अधिकृत, दुई खर्वको कर दावी



कर छली प्रकरणमा गुगलको पेरिस कार्यालयमा छापा, छानविनमा सय अधिकृत, दुई खर्वको कर दावी

पेरिस : मुनाफा आयरल्याण्डको अफसोर कम्पनीमा सिफ्ट गरेर कर छली गरेको आरोप झेलिरहेको गुगलको पेरिसस्थित कार्यालयमा मंगलवार त्यहाँको कर कार्यालयले छापा मारेको छ। अमेरिकी इन्टरनेट जायन्ट गुगलमाथि कर छलीमा लामो समयदेखि फ्रान्स, इटाली र बेलायतमा छानविन चलिरहेको थियो।

 कर अधिकारीहरुले गुगलले फ्रान्सबाट आयरल्याण्डमा मुनाफा सिफ्ट गरेर एक अर्व ६० करोड युरो (एक खर्व ९२ अर्व रुपैयाँ) कर छली गरेको दावी गर्दै आएका छन्। गुगलमाथि पेरिसमा गत जुनबाट कर छलीविरुद्ध छानविन सुरु भएको थियो।
 
कर कार्यालयले गुगलले मुनाफा गुगल आयरल्याण्ड लिमिटेडमा सिफ्ट गरेर फ्रान्समा कर दायित्व नचुकाएको र त्यही कारण छानविन गरिरहेको जानकारी प्रेस नोटमार्फत दिएको छ।

सम्बन्धित समाचार
गुगलको उदाहरण : यसरी लिन सक्छ सरकारले एनसेलमा कर

धेरै बहुराष्ट्रिय कम्पनीहरु जस्तै गुगलले पनि आम्दानी र मुनाफा अरु देशमा सारेर कर छली गरेको भन्दै युरोपमा ठूलो बवण्डर भएको थियो। गुगलले कर छलीका लागि जटिल वित्तीय जालोमार्फत कारोवार गर्दै आएको थियो। त्यसैका लागि सबैभन्दा कम आय कर भएको आयरल्याण्डमा गुगलले युरोप अपरेशन राखेको छ।

फ्रान्सको अर्थमन्त्रालय स्रोतले गुगलको पेरिसस्थित कार्यालयमा मंगलवार बिहान ५ बजेदेखि अनुसन्धान भैरहेको जानकारी ले पर्सियनले लेखेको छ। यो छानविनमा एक साथ सयभन्दा बढी अधिकृत खटिएका छन्।

 कम्पनीका प्रवक्ताले छानविन गरिरहेका अधिकारीलाइ सहयोग गरिरहेको बताएका छन्। उनले अधिकारीले मागेको जानकारी र जवाफ दिइरहेको जानकारी दिंदै फ्रेन्च कानुनको पूर्ण पालना गर्ने बताएका छन्।
 
बेलायतमा पनि विपक्षी दल तथा अभियन्ताको दवावपछि गत जनवरीमा गुगलले १३ करोड पाउण्ड (२० अर्व ४१ करोड रुपैयाँ) कर चुक्ता गर्न तयार भएको थियो। चुक्ता गर्न लागिएको रकम पनि कर अधिकृत तथा सरकारको मिलेमतोमा कम गरिएको भन्दै बेलायतमा विपक्षी दल तथा अभियन्ताले चर्को आलोचना गरेका थिए।
 
गुगलले सन् २००५ देखि २०१५ बीच कर योजनामार्फत बचाएको  बक्यौता कर चुक्ता गर्ने प्रतिवद्धतासँगै बेलायतमा भएको कारोवारको आकारका आधारमा आयकर तिर्ने प्रतिवद्धता पनि जनाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell