PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एउटा त्यस्तो क्यान्टिन जहाँ दालभात साढे ३ रुपैयाँ र मासु १० रुपैयाँमा पाइन्छ



पहिलोपोस्ट

एउटा त्यस्तो क्यान्टिन जहाँ दालभात साढे ३ रुपैयाँ र मासु १० रुपैयाँमा पाइन्छ

  • ऋषिकेश दाहाल/विज्ञान अधिकारी -
काठमाडौँ : अहिलेको यो महँगीमा एक छाक भात, दाल, दुई थोक तरकारी र अचार खाँदा कूल साढे ३ रुपैयाँ लाग्छ भन्दा अपत्यारिलो लाग्न सक्छ। 

तर बाराको सिमरास्थित सूर्य नेपालभित्र रहेको क्यान्टिनमा हामी पुग्दा मानिसहरु त्यही रकममा खाना खाँदै थिए। थप खाना मगाउनेहरु पनि उत्तिकै। ३ रुपैयाँ ५० पैसा तिर्दा यहाँको क्यान्टिनमा ३ सय ५० ग्राम भात, २ सय ग्राम दाल, ५०/५० ग्राम तरकारी र एक चम्चा अचार पाइन्छ। 

हरेकको मूल्य कति हो प्रस्ट गरी राखिएको छ। एक छाक खाना खाँदा उनीहरुले ७५ पैसा भातमा तिर्छन् भने ५० पैसा दालमा तिर्छन्। दुई थोक तरकारीका लागि ५०/५० पैसाका दरले एक रुपैयाँ पर्छ। एक चम्चा अचारको भाउ भने २५ पैसा छ। 

यो त रह्यो सादा खानाको। माछामासु पनि उपलब्ध हुन्छ यहाँ। मासु कति खाने त्यही अनुसार मूल्य निर्धारण गरिएको छ। आधा पाउ मासु खाने हो भने १० रुपैयाँ अतिरिक्त लाग्छ। त्यति नै पैसामा १ सय ५० ग्राम माछा खान पाइन्छ। 

एउटा अमेलटका लागि २ रुपैयाँ ५० पैसा तिर्नुपर्छ। उसिनेको अन्डाको पनि मूल्य २ रुपैयाँ २५ पैसा। अन्डाकरीको भाउ पनि  त्यति नै। 

दालभात खान मन लागेन भने विकल्प पनि छ। रोटी ४ पिसका लागि १ रुपैयाँ ७५ पैसा पर्छ। त्यसबाहेक थप्ने हो भने गोटाको ५० पैसा तिर्नुपर्छ। नास्तामा पुरी र जेरी पनि  पाइन्छ। ४० ग्रामको पुरी जेरीको मूल्य २ रुपैयाँ ५० पैसा पर्छ। 

समोसा चटनीसहित एउटाको ठीक १ रुपैयाँ। समोसाको तौल ७५ ग्रामको हुन्छ। अपत्यारिलो मूल्य सूची चमेना गृहमै टाँगिएको छ। यहाँका कर्मचारी र मजदुरले यही मूल्यमा क्यान्टिनमा खाना र खाजा खान्छन्। 

यहाँ काम गर्न कर्मचारीहरु पनि कम तलब पाउने खालका छैनन्। यहाँभित्र हामीले देखेका मजदूर नेपालमा सबैभन्दा बढी तलब पाउने मजदूरमध्येमा पर्छन्।

वर्षमा २० अर्व रुपैयाँको कारोवार गर्ने नेपालका सीमित कम्पनीमध्ये एक हो सूर्य नेपाल। आइटिसि भारतको ५९ प्रतिशत सेयर स्वामित्व भएको सूर्य नेपालमा बाँकी सेयर नेपाली साझेदारसँग छ। 

सन् १९८७ डिसेम्बरमा सुरु भएको यो फ्याक्ट्री सुरु हुँदा सरकारी लगानीको जनकपुर चुरोट कारखानाको मोनोपोली थियो बजारमा। यतिखेर बजार हिस्सा सूर्यको एकलौटीजस्तै छ। फ्याक्ट्रीमा अझै पहिलो पुस्ताका कामदार बाँकी छन् भने यसमा प्रयोग हुने प्रविधि तेस्रो पुस्ताको छ। 

१० हजार किसान यो फ्याक्ट्रीका लागि कच्चा पदार्थ उत्पादनमा सक्रिय छन्। हामी जुन कम्पाउन्डभित्र पुगेका थियौँ, त्यहाँमात्रै ३ सय ५० भन्दा धेरै कामदार/कर्मचारी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell