PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कथा : अप्पो दिपो भव !



कथा : अप्पो दिपो भव !

  • भावना शर्मा -
होइन, यति सारो घण्टी बजाउँदा पनि बाटो छोड्नु पर्दैन? नसुनेको हो कि नसुने जस्तो गरेको? मुर्मुर्रिदै नजिक पुगें । कस्ता कस्ता मान्छे हुन्छन् भन्या । अहिले साइकलले हानेको भए चोट लाग्दैनथ्यो ? मन्द मुस्काउँदै उसले बोलायो – देवी !

​कस्तो चिने चिने जस्तो..... को हो र ?  

“मलाई चिनिनौ देवी ? म ज्ञान”–  वर्षौदेखि मैले सुन्न चाहिरहेको आवाज थियो त्यो । 

तिमी ! म अक्क न बक्क भएँ । सास घाँटी मै अड्कियो । बोल्नै सकिन । अवाक् उ तिर हेरिरहें । 

लुम्बिनी हिजो साँझ ओर्लिएको । अन्तराष्ट्रिय बौद्ध सम्मेलनको रिर्पोटिङ गर्न काठमाडौंबाट खटिएकी म । भाडाको साइकलमा एक चक्कर मारेर बिहान बिताउने योजना बन्यो । विहानै यौटा साइकल लिएर म होटलबाट निस्किएँ । खाना खाने समयमा होटलमै भेट्ने सल्लाहपछि साथीहरु पनि बाहिर निस्किए । म बिहारहरु फन्को मार्दै थिएँ । कति सुन्दर... कति आनन्दमयी वातावरण । सबै ठाँउ विस्तारै घुम्न त एक दिनले नि नभ्याउला जस्तो । एक विहानमा जति सक्यो धेरै हेर्ने हतारो थियो मलाई । त्यसैले बेतोडले साइकल कुदाउँदै थिएँ, उ भेटिँदा । 

थाइ बौद्ध बिहार घुमेर गेट बाहिर  निस्केपछिको चौबाटोमा हाम्रो जम्काभेट भएको थियो ।  भिक्षु स्वरुपमा थियो उ । कलेजी वस्त्र पहिरिएर हातमा दानपात्र बोकिरहेको उसलाई मैले बीच बाटोमा किन उभिएको भन्दै हप्काएको थिएँ । सानै बेलामा कुदाएको हो साइकल । बर्षौपछि आज रहरले कुदाएकी, बेतोडले कुदाउँदा लडुँला लडुँला भैरहेको बेला उसलाई लाग्ला कि भनेर वरैदेखि घण्टी बजाएको थिएँ । तैपनि टसमस नभएकोले हप्काउँदै छेउमा पुगेको । उसले मुस्काउँदै बोलाएको थियो– देवी !

के बोलुँ, के बोलुँ भएँ । मेरो बालसखा ज्ञान ! भिक्षु स्वरुपमा ! कस्तो फेरिएको । मुडिएको केश । नाङ्गो पैताला । जेठको यो धुपमा तातो माटोमाथि खाली खुट्टा उभिएको ज्ञानलाई देखेर मलाई रोउँ रोउँ नलागेको होइन ।

“तिमी कसरी यहाँ ?”– यति बोल्न सकें । 

म यहि छु दश वर्षदेखि । यहिँ बस्छु । बौद्ध मार्गमा छु । सिकिरहेछु अनि जानेसम्म अरुलाई पनि सिक्न सहयोग गर्छु । त्रिभुवन विश्वविद्यालयमा एकताका उ बौद्ध दर्शन पढिरहेको थाहा त पाएकी थिएँ । नभेटेको भने बर्षौ भएको थियो । झल्यास्स भएँ । यसरी भेट्छु भन्ने चाँही कल्पनासम्म पनि थिएन । ए ! त्यसो भए तिमी बौद्ध दर्शनको लेक्चरर भयौ ? मैले ठाडै सोधे । ठाडै सोध्ने बानी जो परेको छ । 

“होइन सिक्ने कोशिश गरिरहेको छु !”– कस्तो सुस्त बोलेको उ ! कानमा सिरिरि वतासले छोएजस्तो ।  

“तिमी कति बदलिएछौ ज्ञान । म त उस्तै छु छुच्ची ! याद छ स्कूलमा मैले एकदिन तिमी बस्ने बेन्चमा चुइगम टाँसिदिएको । तिम्रो पाइन्टमा लागेको दाग पछिसम्म पनि गएको थिएन । तर तिमी मसँग रिसाएनौ ज्ञान । मैले बिर्सेको छैन ।” 

ज्ञान मुस्काइरह्यो । मलाई भने भित्रभित्रै पिडा भयो । केटाकेटी बेला खुब उछिल्याईं गरिन्थ्यो । माफी त मरिगए माग्ने चलन थिएन । छुँच्चाइ गर्ने अनि थाहा नपाए जस्तो गर्ने उमेर, है ज्ञान !  

“पछि मैले थाहा पाएँ तिमीसँग स्कूल आउँदा लगाउने त्यति यौटा सर्ट पाइन्ट मात्र रहेछ । म धेरै दःुखी भएकी थिएँ । तिमी चुईगमको दाग लागेको पाइन्ट लगाएर सँधै स्कूल आउँथ्यौ । साथीहरु तिमीलाई गिज्याउँथे । त्यसपछिका दिनहरुमा मैले तिमीलाई ठाडो शिर गरेर पनि हेर्न सकिन । म खुलेर हाँस्न पनि सकिन ज्ञान । त्यसदिनको गल्ती आजसम्म पनि महसुस हुन्छ । त्यसका लागि आज माफी माग्छु है ।”– मैले भन्नै पर्ने थियो । 

बितेका कुराले दुःखी नबन ! –मन्द बोल्यो ज्ञान । “मानिसको जीवनमा दुःख छ ।  तर सबै दुःखबाट मुक्त हुने उपाय पनि छ । भगवान बुद्धले पनि यहि सिकाउनुभएको हो ।” यसो भन्दै गर्दा उसको अनुहार कस्तो धप्प बलेको !  

“तिमीभित्र नै दुःख जन्माउने कारणहरु छन् । ति कारणहरुलाई छोडिदेउ, आनन्द पनि आफैभित्रबाट उत्पन्न हुन्छ । अप्प दिपो भव ! देवी आफ्नो दियो स्वयम् बन । तिमीले कहिल्यै दुःखी हुनुपर्ने छैन !” – कति आनन्द दिने वाणी उसका ।  

म उस्तै कहाँ छु र ज्ञान ! यतिका वर्ष पछि पनि कसरी चिन्यौ मलाई ? तिमीले नसम्झाएको भए त मैले पनि तिमीलाई नचिन्ने ! मेरो कुराले ज्ञान मुस्कायो । 

“तिमी सँधै उस्तै छौ देवी । आवरण बदलिदैमा तिमीभित्रको स्वरुप बदलिन्छ र ! जुनसुकै समयमा जुनकुनै रुपमा पनि म तिमीलाई निसन्देह चिन्नेछु, न बाल्यकाल न अहिले न  बृद्धावस्थामा.....आत्माको स्वरुप त सदा यौटै छ नि ! म बन्द आँखाले पनि तिमीलाई महसुस गर्न सक्छु देवी ।” आँखा चिम्लेर ज्ञानले दानपात्र अघि सार्दै भन्यो– भिक्षां देही ! 

यो किन ज्ञान ? के यसरी दिनदिनै उभिएर माग्ने गरेका छौ ? 

हो देवी । म हरेक दिन विहान यसरी नै आधा घण्टा उभिन्छु दान पात्र लिएर । 

किन ज्ञान ? मागेरै हिड्नुपर्ने नियम छ र ! – कौतुहलवश सोधेँ ।  

“होइन, स्वेच्छा हो । तर म चाँही माग्छु । अरुको अघि झुकेर माग्न उभिनु भनेको आफुभित्रको अहंकारलाई मार्नु हो । यो केवल आत्मबोधको लागि हो देवी ।”– उ मन्द बोल्यो ।  

“मेरो जाने बेला भयो । यो पात्रमा केही राखिदिन्छौ त ! म तिमीसंग मागिरहेको भने छैन देवी । दिने मान्छेको इच्छा हो दान त !” कस्तो मन छुने कुरा उसको । 

“केही बोकिन अहिले । मनि पर्स पनि होटेलमै छोडें । अहिले म रित्तो छु ज्ञान । तिमीलाई दिने केही नै छैन यतिबेला ।  भोलि पनि यतै बसें भने केही लिएर अवश्य आउनेछु ।  यहि ठाँउमा फेरि भेटिन्छौ होला नि !”

मतिर हेरेर ज्ञान मुस्कायो –“तिमीलाई यौटा सल्लाह दिन सक्छु ?”

ज्ञानी बालकले झैं मुन्टो हल्लाएछु । “अघि साइकल कुदाएर मतिर आइरहँदा तिमी भित्र जे थियो । त्यहि दिन सक्छौ नि देवी । “त्यो रिस, आवेश, आक्रोश, त्यो रफ्तार” त्यहि हालिदेउ न यो पात्रमा !”  

म गलेर लल्याकलुलुक भएँ । ज्ञान मुस्काउँदै अघि बढ्यो । 

अब तिमीलाई फेरि कहिले भेट्न सक्छु ? उ विस्तारै पछाडि फर्केर बोल्यो – म त सँधै तिमीभित्रै छु देवी । तिमीले कहिल्यै नखोजेर मात्र ! हावाको एउटा शितल धर्सो मलाई छोएर गयो । 

ज्ञान मलाई माफ गर । मनमनै प्रार्थना गरें । 

(फोटो साभार : inspiringy.files.wordpress.com)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell