PahiloPost

May 14, 2024 | १ जेठ २०८१

​नेतृत्व हस्तान्तरण छलफलको विषयः प्रचण्ड, उहाँको स्पेस रहन्छः बाबुराम



​नेतृत्व हस्तान्तरण छलफलको विषयः प्रचण्ड, उहाँको स्पेस रहन्छः बाबुराम

  • रविराज बराल/पहिलोपोस्ट
काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरण लेनदेनको विषय मात्र नभइ अझै छलफलको विषय भएको बताएका छन्।  

केन्द्रीय समिति बैठकमा धारणा राख्दै अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरणको विषय पार्टी आचरण, कार्यदिशा र पद्दतीको विकास गरी सही दिशामा लगेर टुंग्याइने बताएका हुन्।

'मैले अध्यक्ष छोड्छु भन्ने कुरा पनि सही हो। बाबुरामजीले नेतृत्व लिन्छु भन्नु पनि सही हो', अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै एमाओवादी केन्द्रीय सदस्य महेश्वर गहतराज अथकले भने, 'तर यो दिने र लिने भन्दा पनि छलफलमा गएर टुङ्ग्याउने विषय हो।'

नेतृत्वको विकास र हस्तान्तरणको विषयलाई आफूले विगतदेखि नै बहसको विषय बनाउन चाहेको प्रचण्डले बताए। 'बैचारिक छलफल बहस गर्नुपर्छ भनेकै हो', बैठकमा प्रचण्डले भनेका थिए, 'आचरण र पद्दतीको विकास गरी नेतृत्व हस्तान्तरण लगायत समग्र प्रक्रियालाई सही दिशामा अघि बढाउनुपर्छ।'

अध्यक्ष प्रचण्ड २५ वर्षदेखि पार्टी अध्यक्ष छन्। प्रचण्डले २०७२ माघमा महाधिवेशन गर्न केन्द्रीय समितिमा प्रस्ताव राखेका छन्। प्रचण्डले अहिलको केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्न प्रस्ताव गरेका छन्।

प्रचण्डको 'स्पेस' रहने गरी नेतृत्व हस्तान्तरण

एमाओवादीका नेता डा. बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'स्पेस' रहने गरी नेतृत्व विकास र हस्तान्तरण गर्न संगठनात्मक पद्दतीको विकास गर्नुपर्ने बताएका छन्।

एउटै व्यक्तिले आजीवन पार्टीको नेतृत्व सञ्चालन गर्न नहुने विषय चुनवाङ बैठककै बेला उठे पनि पछिल्लो समयमा बहस भएको भन्दै भट्टराईले प्रचण्डको स्पेस रहने गरी पद्दतीको विकास गर्नुपर्ने बताएका हुन्।

केन्द्रीय समिति बैठकमा धारणा राख्दै भट्टराईले विचार, कार्यदिशा र संगठनात्मक पद्दती विकासका विषयले वृहत्तर छलफलको माग गरेको बताए।

'विषयहरु सूत्रवद्ध रुपमा आएका छन्। तर निरन्तरताको बहस नभइ क्रमभंगता र छलाङको बहस जरुरी छ', भट्टराईलाई उद्‍धृत गर्दै नेता अथकले भने, 'नेतृत्वको विषय लिने र दिनेको बहसका रुपमा नबुझौँ। यो एउटाले दिने र अर्कोले लिने कुरा होइन।'

भट्टराईले नेतृत्व परिवर्तनको बहसलाई अध्यक्ष प्रचण्डले दिने र आफूले लिने भनेर नबुझ्न आग्रह गरेका थिए। 'नेतृत्व भनेको व्यक्तिगत रुपमा उहाँले दिने र मैले लिने भन्ने होइन। यो लेनदेनको प्रश्न भन्दा पनि समग्र क्रान्ति, वर्ग र पार्टी पुर्नगठनसँग जोडिएको छ', ' भट्टराईलाई उदृत गर्दै भट्टराई पक्षका केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने।

भट्टराईले अध्यक्ष प्रचण्डको अभिभावक्तव रहनेगरी नेतृत्व विकासको पद्दती विकास गर्नुपर्ने बताएका थिए।

भट्टराईले नेतृत्वको रुपमा परीक्षा दिन चाहेको धारणा राखेका थिए। 'उहाँले बैठकमा नेतृत्वको इच्छा व्यक्त  गर्नुभएको थियो', एक केन्द्रीय सदस्यले भने।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले नेतृत्व हस्तान्तरणका विषयमा नीति नै बनाएर जान आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको बताए।

'उहाँ (भट्टराई) ले नेतृत्व हस्तान्तरणका विषयमा सैद्धान्तिक अवधारणा नै बनाएर जान आवश्यक छ भन्नुभयो',प्रवक्ता शर्माले भने, 'उहाँले आगामी वर्ष पार्टीको महाधिवेशन गर्ने अध्यक्षको प्रतिवेदनमा समर्थन जनाउनुभयो।'

शर्माका अनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पनि महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने प्रचण्डको प्रस्ताव स्वीकार गरेका थिए।

आन्दोलनका लागि बैठक छोट्याइयो

अध्यक्ष प्रचण्डले ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलन सफल बनाउन बैठक छोट्याएर बहसलाई अलि पछाडि सार्न प्रस्ताव गरेका थिए।
'संविधान निर्माणका लागि दबाब दिन घोषणा गरिएको आन्दोलनलाई केन्द्रमा राखेर देशको वर्तमान परिस्थितिअनुसार बैठक छोट्याने प्रस्ताव आयो', एमाओवादी केन्द्रीय सदस्य अथकले भने, 'जारी बहसलाई अलि पछाडि लैजाने कुरा भयो।'

प्रचण्डले संविधान निर्माण र आन्दोलनमा केन्द्रित हुन प्रस्ताव गरेपछि नेता बाबुराम भट्टराईले नेतृत्व हस्तान्तरणको बहसलाई तत्कालका लागि पछाडि सार्नु उचित हुने धारण राखेका थिए।

'नेतृत्व यही पुस्तामा'

भट्टराईले नेतृत्वमा रहेको अहिलेकै पुस्ताले हाल उठेका प्रश्नको जबाफ दिनुपर्ने भन्दै अर्को पुस्तामा नेतृत्व हस्तान्तरण नहुने स्पष्ट पारेका छन्।

'नेतृत्व दुई तरिकाले हस्तान्तरण हुन्छ कि आफ्नै पुस्तामा कि अर्को पुस्तामा। अहिले अध्यक्षको अभिभावकत्व रहने गरी हामीले नै विषय व्यवस्थापन गर्नुपर्ने छ', भट्टराईलाई उद्धृत गर्दै एमाओवादी केन्द्रीय सदस्य अथकले भने, 'कुनै न कुनै रुपमा अध्यक्ष कमरेडको स्पेस रहने गरी महाधिवेशनमा गएर नेतृत्व हस्तान्तरण गर्नुपर्छ।'

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माणमा कति लचक हुने र कति अडानमा रहने विषयमा सोमवार छलफल गरिने बताए।

सोमवारको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेपछि तत्कालका लागि बैठक समापन गरिने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell