PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

स्वस्थ हुँदै नरहरि, राजनीतिक गतिविधिमा हुन थाले अपडेट, प्रम ओलीको भाषणबारे पनि जानकार



रमेश वाग्ले

स्वस्थ हुँदै नरहरि, राजनीतिक गतिविधिमा हुन थाले अपडेट, प्रम ओलीको भाषणबारे पनि जानकार

काठमाडौँ : गएको माघ २६ गते बिहानै एउटा सनसनीपूर्ण समाचार मिडियामा आयो- 'पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधन।'

कांग्रेसका नेता, कार्यकर्ता मात्र हैन बिरामी परेको र उपचार भएको कुनै समाचार पढ्न नपाएका पाठकका लागि समेत त्यो समाचार स्तब्ध बनाउने खालको थियो। धेरैले ढिला मात्र त्यो समाचारलाई सत्यका रुपमा स्वीकारे।

त्यही बिहान कोइराला निवास महाराजगंजमा मिडियाहरुलाई सुशील कोइरालाको निधनबारेको जानकारी दिइरहेका थिए-कांग्रेस नेता तथा सुशील कोइराला नेतृत्वमा कानुन मन्त्री बनेका नरहरि आचार्य।

बिहान तीन बजेदेखि नै मिडियामा कुरा गरिरहेका आचार्य करिब आठ बजे तत्कालीन काठमाडौँ सभापति भीमसेनदास प्रधानसँग कुरा गर्दै कोइराला निवासबाट बाहिरिँदै थिए। कोइराला निवासको ठीक बाहिर पुगेपछि आचार्य ढले। उनको होसहवास गुमिसकेको थियो।

हतार-हतार गंगलाल हृदय केन्द्रमा पुर्‍याइएका आचार्यलाई सघन उपचारका लागि नजिकै रहेको न्यूरो अस्पताल सारियो।

उनको मस्तिस्कको बायाँ पट्टीको भागमा रक्तश्राव सुरुवात भइसकेको थियो। एक हप्तासम्म आचार्यको होस खुल्न सकेन। त्यसको दुई महिनामा मात्र घर फर्किएका आचार्य अहिले पनि राजनीतिक गतिविधिमा संलग्न हुन सक्ने अवस्थामा छैनन्। तर, राजनीतिक गतिविधिमा भने अपडेट हुन थालिसकेका छन्।
 
बिहीबार उनको निवासमा हामी पुग्दा एकतल्ला माथिको बरण्डामा उनी बिस्तारै निस्कँदै थिए। हामीले गरेको अभिवादन फर्काएर उनले सहयोगीलाई ढोका खोल्न अह्राए र माथि नै आउन आग्रह गरे।

माथि पुगेपछि उनले आफैँ सोधे 'के छ खबर सुनाउनुस्।'

हामीले सामान्य कुरा गरेर आचार्यको स्वास्थ्यमा आएका सुधारबारे जानकारी लिने प्रयास गर्‍यौँ। नजिकै रहेकी उनकी श्रीमती तथा लेखक शारदा शर्माले स्वास्थ्यको विषयमा कुरा नगर्न पाए हुन्थ्यो भन्ने आसय व्यक्त गरिन्। बल्ल थाहा भयो आचार्यलाई सँधै घरमा पुगेर गरिने स्वास्थयकै विषयका जिज्ञासाले दिक्दारी दिएको।

'तपाईलाई त मैले धेरै पटक भनेको छैन तपाईँको चासो सही छ र मैले पनि भन्नु पर्ने हो' आचार्यले भने, 'तर मलाई भने एउटै पाठ पटक-पटक दोहोर्‌याए जस्तो लाग्दो रहेछ।' त्यति भनेपछि हाम्रो चासो मोडियो।

पार्टी गतिविधिका विषयमा चासो राख्यौँ। आचार्यले हाम्रो कुरा सुन्नासाथ भनिहाले 'सभापतिजीले दुई महिना भित्र गर्ने काम त गर्न सक्नुभएन तर अब एक महिनामा गर्नु हुन्छ रे।'

तपाईलाई फोन गर्नुभएको थियो कि भेट नै भयो? हाम्रो प्रश्नमा आचार्यले भने, 'हैन, पत्रिकामा उहाँको अन्तर्वार्ता पढेको।'

त्यति मात्र हैन आचार्य 'स्वप्नद्रष्टा' प्रधानमन्त्रीका भाषणमा पनि अपडेट रहेछन्। उनले सन्दर्भ निकाल्दै भने प्रधानमन्त्रीले प्रशान्त र हिन्द महासागरमा नेपाली झन्डा फहराउँदै पानीजहाज गुडाउने भनेको कुरामा कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरण गरे।

'किसुनजीले मेलम्चीको पानी ल्याएर काठमाडौका सडक पखाल्ने उद्भोष गर्नुभयो त्यो पनि हास्यास्पद शैलीमा' उनले स्मरण गर्दै भने, 'त्यसबेला म प्राध्यापक थिएँ, उहाँलाई सम्झाउन गयौँ।'

'किशुनजी तपाईँजस्तो मान्छेले जे पनि बोल्न नहुने। बोलेपछि त पूरा गर्नुपर्छ' आफनो सुझाव सम्झँदै उनले भने, 'तर किशुनजीले यो पूरा नहुने कुरा हैन, एक दिन पूरा हुन्छ र जहाँसम्म मेरो शैलीको कुरा गर्नुभयो, म सिरियस मात्र भएको भए त सायद यस बेलासम्म बाँच्दिनथेँ होला।'
उनले किशुनजीलाई सम्झाउन गएको तर पछि आफै सम्झिएर फर्किएको सुनाए।

उनले किशुनजी र ओलीजी बीचको भिन्नता पनि सुनाए। 'किशुनजी सिरियस विषयमा पनि ह्युमर शैलीमा प्रस्तुत हुने विशेषता थियो' आचार्यले भने, 'तर ओलीजी हरेक विषयमा सिरियसली प्रस्तुत हुनुभएको छ।'
 
आचार्यलाई घरैमा डाक्टरहरुले दिनमा दुई पटक फिजियोथेरापी गराइरहेका छन् भने श्रीमती शारदाले न्यानो मायासहितको हेरचाहबाट उनलाई निको पारिरहेकी छन्।

'साथीहरुले फिट हुनुभएछ, अब बोल्न थाल्नुस भनिरहेका छन्' उनले भने, 'तर म आफैले पूरा ठीक भएको महसुस गरिसकेको छैन देख्दा ठिकै भएपनि, अब करिब एक महिनामा म मिडियाका साथीहरुसँग फर्मल्ली प्रस्तुत हुन सक्छु होला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell