PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एक्सक्लुसिभ : अफसोर कारोबार गर्ने थप नेपालीको खुलासा



उमेश श्रेष्ठ

एक्सक्लुसिभ : अफसोर कारोबार गर्ने थप नेपालीको खुलासा

काठमाडौँ :  अफसोर कारोबार गर्ने थप नेपालीहरुको नाम आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा भेटिएको छ।

करको दर एकदम कम हुने वा लाग्दै नलाग्ने देश वा क्षेत्रहरुमा शेल (कागजी रुपमा मात्रै अस्तित्वमा भएका) कम्पनीहरुमार्फत् कारोबार गर्नुलाई अफसोर कारोबार भनिन्छ।

सन् २०१३ को अफसोर लिक्समा नेपालबाट १२ जनाको नाम देखिए पनि त्यसमा थप नेपालीहरु पनि रहेको अहिले खुलेको हो।

खोजमूलक पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले सन् २०१३ मा सार्वजनिक गरेको अफसोर लिक्स र गएको सोमबार मध्यरात सार्वजनिक गरेको पनामा पेपर्स लिक्सलाई अहिले एउटै डेटाबेसमा सजिलै खोज्न मिल्ने गरी राखिएको छ। त्यसैकारण पहिले नदेखिएका नामहरु पनि अहिले देखिएका हुन्।

को-को भेटिए?

खुस्बु सरकार श्रेष्ठ

काठमाडौँको पाटन घर भएका श्रेष्ठ अहिले काठमाडौँ-हेटौँडा सुरुङ मार्ग प्रोजेक्टका बोर्ड डाइरेक्टर छन्। ब्रिटिस भर्जिन आइल्यान्डसमा २० जुलाई २००० मा दर्ता भएको आइलिङ्केज इन्टरनेसनल लिमिटेडमा श्रेष्ठ डाइरेक्टर र सेयरहोल्डर भएको डेटाबेसमा देखिएको छ।

यो कम्पनीका डाइरेक्टरहरुमा श्याममिलन श्रेष्ठ, आशिष रौनियार र चिन्पाल रौनियार पनि रहेका छन्। ब्रिटिस भर्जिन आइल्यान्डको पोर्टकुल्लिस ट्रस्टनेट लिमिटेडले यो कम्पनीलाई दर्ता गरेको हो भने मध्यस्थता गर्न उनीहरुले फ्यान्सवे सेक्रेटरियल सर्भिसेज लिमिटेडको सेवा प्रयोग गरेका थिए।

यो कम्पनी अहिले निस्क्रिय छ।    

श्याममिलन श्रेष्ठ

श्रेष्ठ धापासीमा ग्रान्डी टावर्स र गोंगबुमा ग्रान्डी भिल्ला बनाउने सीइ कन्सट्रक्सन प्रा.लिको एसोसिएट भेन्चर सीडी डेभलपर्स प्रा.लि.का फाइनान्स डाइरेक्टर हुन्। उनी आइलिङ्केज इन्टरनेसनल लिमिटेडका डाइरेक्टर र सेयरहोल्डर तथा अर्को एउटा अफसोर कम्पनी सोन्नेट वर्ल्डवाइड लिमिटेडका पनि डाइरेक्टर रहेको भेटिएको छ।

यी कम्पनी ब्रिटिस भर्जिन आइल्यान्ड्समा २५ अप्रिल २००२ मा दर्ता गरिएका हुन्। आशिष रौनियार र चिन्पाल रौनियार यो कम्पनीमा पनि डाइरेक्टर छन् भने बाँकी ३ जना डाइरेक्टर विदेशी छन्, जसको ठेगाना थाइल्यान्ड राखिएको छ।

आशिष रौनियार, चिन्पाल रौनियार

यी दुवै रौनियार माथिका दुई श्रेष्ठको ‌संलग्नता भएको आइलिङ्केज इन्टरनेसनल लिमिटेड र सोन्नेट वर्ल्डवाइड लिमिटेडसित जोडिएका छन्। आइलिङ्केजमा दुवै रौनियार डाइरेक्टर र सेयरहोल्डर छन् भने सोन्नेटमा डाइरेक्टरमात्रै।

अरुण श्रेष्ठ

सन् २०१३ को अफसोर लिक्स सार्वजनिक हुँदा त्यसमा रहेका पाँच नाम विश्वधर तुलाधर, विमलकाजी ताम्राकार, बिजेन्द्र जोशी, नवीन्द्र जोशी ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएको वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्राइभेट लिमिटेडका डाइरेक्टरको रुपमा देखिसकिएको थियो। अहिले थप एक डाइरेक्टर अरुण श्रेष्ठको पनि नाम सार्वजनिक भएको छ। ९ मे, २००२ मा ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको यो कम्पनी अझै सक्रिय छ।

कम्पनीले आफ्नो वेबसाइटमा भने सन् १९९५ मा दर्ता भएको लेखेको छ। यो आइटी कम्पनीले ओरेकल, डेल, तोसिबा, सिस्को, सेफनेट, भेरीसाइन लगायतका कम्पनीसित साझेदारी गरी आइटी पूर्वाधार तयार पार्छ। वित्तीय संस्थाहरु, टेलिफोन तथा मोबाइल सेवा प्रदायक, सरकारी संस्था, युएन संस्था, दूतावासहरु, डोनर एजेन्सी, एनजिओ, आइएनजिओहरु आफ्नो क्लाइन्ट रहेको उसले वेबसाइटमा लेखेको छ। 
सन् १९९५ मा यो कम्पनीले आयोजना गरेको आइटी सम्बन्धी तीन दिने सेमिनारको उद्घाटन तत्कालीन युवराज दीपेन्द्रले गरेका थिए। त्यतिबेला यो कम्पनीको म्यानेजिङ डाइरेक्टरका रुपमा सतीशलाल आचार्यले कोरम्यागमा चिनाइएको छ।  

उनै आचार्यको नाम पनि अफसोर लिक्समा छ। हाल नेपालका दुई टेलिकम कम्पनी स्मार्ट र एनसेलमा उनको लगानी छ। मलेसियाली कम्पनी एक्जियटासँग मिलेर एनसेलको २० प्रतिशत स्थानीय साझेदारको सेयर खरिद गर्ने भावना सिंह श्रेष्ठ आचार्यकी श्रीमती हुन्। 
 
अहिले भने आफ्नो लिङ्क्डइन प्रोफाइलमा अरुणले आफू वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्राइभेट लिमिटेडका सहसंस्थापक र म्यानेजिङ डाइरेक्टर भएको लेखेका छन्। 

श्रीमती क्रिस्टिन श्रेष्ठ-स्टर्न

यिनी नेपालकी बुहारी थिइन्। क्रिस्टिन स्विजरल्यान्डको प्रतिष्ठित तथा महँगो घडी कम्पनी पाटेक फिलिपका साहु फिलिप स्टर्नकी छोरी हुन्। उनको काठमाडौँ निवासी नेपाली केटासँग प्रेम विवाह भएको थियो। दुवैको सम्बन्धबाट दुई सन्तान पनि छन्। अहिले भने उनीहरुको डिभोर्स भइसकेको छ। उनी पाटेक फिलिप एसए जेनेभेका सदस्य हुन् भने सन् २०१४ को जनवरीदेखि २०१५ को डिसेम्बरसम्म पाटेक फिलिप होल्डिङ एसएका सदस्य पनि थिइन्। 

पनामा पेपर्समा उनको नाम फूल फन ग्रुप लिमिटेड नामको ब्रिटिस भर्जिन आइल्यान्डसमा सन् २००७ मा दर्ता भएको कम्पनीको सेयरहोल्डरको रुपमा देखिएको छ। 

पूजा लामा 

अफसोर कारोबार गर्ने सूचीमा भेटिएको अर्को नेपाली नाम पूजा लामा हो। उनी सन् २००३ को जुन १२ देखि हलाम ग्रुप लिमिटेडकी डाइरेक्टरको रुपमा देखिएकी छिन्। उनी डाइरेक्टर हुनुभन्दा अघि ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको यो कम्पनीका डाइरेक्टर भने सन् २००२ को फेब्रुअरी १ देखि माइकल डेभिड रिक्स थिए। 
 

कानुनमा के छ ?

२०२१ सालमा लागू भएको र २०६६ सालमा संशोधन भएको विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेको भए तापनि सबै नेपाली नागरिक र नेपालभित्र स्थापित भएको संगठित संस्थाहरुले विदेशमा कुनै किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको छ। 
 
 
लगानीलाई अर्थ्याउँदै ऐनको दफा २ मा विदेशी सेक्युरिटी, विदेशी फर्मको साझेदारी, विदेशी बैँक अकाउन्ट, विदेशस्थित घरजग्गा र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बाहेक विदेशमा गरिने जुनसुकै किसिमको नगदी वा जिन्सी लगानी भनिएको छ।  
 
 

यो ऐन र ऐन अन्तर्गत जारी गरिएको सूचना, आदेश वा निर्देशनको उल्लङ्घन गरी कुनै काम कुरा गरेमा बिगोबमोजिम जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell