- अनन्त कोइराला-
प्रहरीले यादवको राजनीतिक संलग्नताबारे केही नबोले पनि नेकपा (माओवादी)का अध्यक्ष मात्रिका यादवले उनी वैकल्पिक केन्द्रीय सदस्य रहेको स्वीकारे।
सुजन यादवको खास नाम श्रीचन राय हो। थाइल्यान्डको बैंककमा शुक्रबार भएको तीन विद्यार्थी अपहरणमा सघाएको आरोपमा प्रहरीले काठमाडौंको खड्ग भद्रकालीबाट पक्राउ गरेको हो। सर्लाहीको छतौना घर भएका यादवले अपहरणमा परेका विद्यार्थीका घरबाट पैसा संकलन गर्ने र हुण्डी मार्फत् थाइल्याण्ड पठाउने जिम्मा लिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
उनलाई २०७१ साउनमा नयाँबानेश्वर संविधानसभा भवन अगाडि मधेस केन्द्रीत दलले बजेट मधेस विरोधी भएको भन्दै बजेटको प्रतिलिपी जलाउने क्रममा प्रहरीले हिरासतमा लिएको थियो।
अपहरणकारीले विद्यार्थी अपहरणपछि प्रतिव्यक्ति १ करोड रुपैयाँ फिरौती मागेका थिए। थाइल्याण्ड प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त अप्रेसनबाट थाइल्याण्डमा दुई र नेपालमा एकजना गरी तीनजना पक्राउ परेका छन्। थाइल्याण्डमा पक्राउ परेकामा पाकिस्तानी मुलका थाइ नागरिक औकास रहमान र पाकिस्तानी मुलका मोहम्मद जलिर रहेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार घटनामा संलग्न अन्य ७ जना फरार रहेका छन्। अपहरणको नेपाल कनेक्सनका बारेमा अनुसन्धान जारी रहेको पनि उनले बताए।
पक्राउ परेका मोहम्मद जलिर विद्यार्थी अपहरण हुनुभन्दा लगभग २० दिन अघिमात्र मलेसियाबाट गैरकानुनी रुपमा थाइल्याण्ड गएको खुलेको छ। पक्राउ परेका दुईजना अपहरणपछि राखिएको घरमा विद्यार्थीसँगै फेला परेका थिए।
अहिलेसम्मको अनुसन्धानमा यादवले कुनै तेस्रो देशको व्यक्तिमार्फत थाइल्याण्डका अपहरणकारीसँग सम्पर्कमा पुगेको खुलेको डिआइजी ठकुरीले बताए। तर उनले कुन देशको को व्यक्तिमार्फत भनेर खुलाएनन्। गत शुक्रबार बैंककको एजप्सन विश्वविद्यालयमा अध्ययनरत कर्ण हाछेथू, दिवस रिजाल र रोनिस श्रेष्ठ अपहरणमा परेका थिए। हाछेथु बिबिए चौथो वर्षका विद्यार्थी हुन् भने रिजाल इलेक्ट्रोनिक इन्जिनियरिङ पढ्दै थिए। त्यस्तै अपहरणमा परेका अर्का रोनिस श्रेष्ठ हाइड्रोपावर इन्जिनियरिङ पढ्दै थिए।
कसरी भयो अपहरण?
पुस ४ गते शनिबार साँझ थाइल्याण्डको एजम्सन युनिभर्सिटीमा अध्ययनरत तीनजना नेपाली विद्यार्थीहरु सम्पर्कमा नरहेको थाहा भयो। उनीहरुको अवस्था खुल्न सकेको थिएन। शुक्रबार साँझबाट सम्पर्कबिहीन विद्यार्थी अपहरणकारीको मोबाइलबाट गत शनिबार बिहान साढे १० बजेतिर फोन आयो। फोन अपहरणमा परेका एक विद्यार्थीका अभिभावकसँग फिरौती रकम माग्न आएको थियो।अपहरणमा परेका नेपाली विद्यार्थी छुटाउँदै सुरक्षाकर्मी
विद्यार्थीका अभिभावकले आइतबार साढे १२ बजेतिर मात्र नेपाल प्रहरीलाई खबर गरेका थिए। शुक्रबार अपहरणमा परेका विद्यार्थीका अभिभावकलाई शनिबार फिरौतीको रकम माग गर्दै बारम्बार फोन आएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ।
अपहरण गर्ने प्रमुख योजनाकार तीनजना नेपाली बस्दै गरेको अपार्टमेन्टसँगै रहेको रेष्टुराँका सञ्चालक पाकिस्तानी नागरिक अली रहेको अनुसन्धान ब्युरोले जनाएको छ। सोही युनिभर्सिटीमा अध्ययन गरेका अलीको रेष्टुराँमा नेपाली विद्यार्थी खानपानको लागि जाने र त्यहीँबाट चिनजान भएको थियो। उनी थाइल्याण्ड छोड्ने तयारीमा रहेको पनि अनुसन्धानमा खुलेको छ। क्रिसमसको मौका पारेर अलीले 'पार्टी दिने' भन्दै तीनजनालाई बोलाएको र अपहरण गरेको अनुसन्धानबाट खुलेको छ। अली अहिले फरार छन्।
कसरी भयो संयुक्त अपरेसन
नेपाली विद्यार्थी थाइल्याण्डमा अपहरण परेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार एसपी पिताम्बर अधिकारीको टोलीलाई बैंकक पठायो। अधिकारीको टोलीले स्थानीय प्रहरीको समन्वयमा अनुसन्धान कार्य अगाडि बढायो। यता नेपालमा प्रहरीले अपहरणमा परेका विद्यार्थीका परिवार, साथीहरु लगायत घटनासँग सम्बन्धित नेपाल र बैंककमा रहेका व्यक्तिहरुमाथि अनुसन्धान जारी राख्यो।बैंककमा पुगेको अधिकारीसहितको अनुसन्धान टोली र नेपालमा रहेको ब्युरोबीच नियमित सुचना आदान प्रदान भइरहेको थियो। उता स्थानीय प्रहरी पनि अपहरणकारी पत्ता लगाउन लागिरहेको थियो। मंगलबार लगभग २ बजे दिउँसो नेपाल र बैंककको संयुक्त अनुसन्धान टोलीले विद्यार्थी अपहरण गरेर राखिएको घर पत्ता लगाएर नेपाली विद्यार्थीलाई सकुशल रिहा गराए र दुईजनालाई पक्राउ गरे।
यता नेपालमा मंगलबार नै फिरौती रकम वापतको रकम थाइल्याण्ड पठाउने जिम्मा लिएका भनिएका यादवलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गर्यो।