PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​राष्ट्रपति भण्डारीको भ्रमण रद्द हुँदा दिल्ली 'सरप्राइज्ड'



मनोज सत्याल

​राष्ट्रपति भण्डारीको भ्रमण रद्द हुँदा दिल्ली 'सरप्राइज्ड'

  • मनोज सत्याल/पहिलोपोस्ट -
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको तय भइसकेको भ्रमण रोकिनुले भारत 'सरप्राइज्ड' भएको छ। भारतीय पक्षले तयारी पूरा भइसकेपछि भ्रमण रद्द हुनुलाई आश्चर्यको रुपमा समेत लिएको छ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ, 'भ्रमण रद्द हुनु दिल्लीका लागि सरप्राइज भएको छ। जबकि तयारी सबै भइसकेको थियो। भण्डारीले ऋण सम्झौतामा हस्ताक्षर गर्दै थिइन्, त्यस्तै रेडियो नेपाल र अल इण्डिया रेडियोबीच सम्बन्ध विस्तारमा समझदारी हुँदै थियो, त्यस्तै नेपालको विश्वविद्यालयमा भारतीय केन्द्र रहने भन्ने विषय पनि रहेको थियो।'

परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत रणजीत रायलाई फोन गरेर भ्रमण रद्द भएको जानकारी दिएको र त्यसअघि परराष्ट्र मन्त्री कमल थापा र प्रधानमन्त्री ओलीबीच छलफल भएको समाचारमा उल्लेख छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राजदूतसँग बिहीबार साँझ भेटवार्ता गरेकी थिइन्। हिन्दुस्तान टाइम्सले लेखेको छ - राजदूतसँगको भेटमा आफ्नो भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने आशा भण्डारीले व्यक्त गरेकी थिइन्।

भण्डारीको भ्रमणका बेला राष्ट्रपति प्रणव मुखर्जीसहित प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता हुने कार्यक्रम समेत तय भइसकेको थियो।

भारतीय समाचार एजेन्सी पिटिआईले 'भण्डारीको पहिलो भ्रमण रद्द' भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ। इकोनोमिक टाइम्सले पिटिआईको समाचारलाई आधार मान्दै पछिल्लो राजनीतिक अस्थिरता भ्रमण रद्द हुनुको कारणका रुपमा उल्लेख गरेको छ। भण्डारीले उज्जैनको कुम्भ मेला स्थलमा 'शाही स्नान' कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको समाचारमा उल्लेख छ। 

भारतीय समाचार संस्था एएनआई न्युजले भारतीय राष्ट्रपतिसँग २८ गते राष्ट्रपति भण्डारीले भेट गर्ने समय नै तय भइसकेको उल्लेख गरेको छ। साथै राष्ट्रपति भण्डारीको स्वकीय सचिव भेषराज अधिकारीलाइ उदृत गर्दै निर्धारित भ्रमण रद्द भएको लेखेको छ।

भारतीय मिडियाहरुले पछिल्लो राजनीतिक उतार चढाव र सरकार परिवर्तनको हल्लाका कारण भ्रमण रद्द भएको लेखेका छन्।

के हो त रद्द हुनुको कारण?

राष्ट्र प्रमुखको औपचारिक विदेश भ्रमण मन्त्रिपरिषदले अनुमोदन गर्नुपर्छ। तर बिहीबार मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रपतिको भ्रमण अनुमोदन भएन।

सरकारले अनुमोदन नगरे पनि राष्ट्रपति भण्डारीले भारत भ्रमणका लागि आन्तरिक छलफलदेखि अन्य तयारी समेत गरेकी थिइन्। बुधबार मात्र भण्डारीले आफ्नो भारत भ्रमणबारे पत्रकारहरुसँग अन्तरक्रिया गरेकी थिइन् भने भ्रमणको मिति समेत आफैँ सार्वजनिक गरेकी थिइन्।

यसबीचमा घरेलु राजनीतिमा केही उतारचढाव देखा परे। एमाले नेतृत्वको सरकार छाडेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने एमाओवादी निर्णयले दुई दिन घरेलु राजनीति प्रभावित भयो। सरकार परिवर्तनकै सम्भावना देखिएपछि राष्ट्रपतिको भ्रमण केही हदसम्म प्रभावित भयो।

परराष्ट्र स्रोत भन्छ, 'भ्रमण रद्द हुनुको प्रमुख कारण मुलुकको पछिल्लो राजनीतिक माहौल नै हो। राजनीतिक कारणले नै अलमल भयो।'
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरले राष्‍ट्रपतिको भ्रमण तत्कालका लागि स्थगित भएको पहिलोपोस्टलाई बताए। 'तयारी अलिकति पुगेन भन्ने छ। पार्लियामेन्ट सेसन पनि चालु छ। अहिलेको अवस्थामा राष्ट्रपति यतै बस्नुपर्छ भन्ने महसुस भयो। अहिलेलाई स्थगित भएको छ,' पोखरेलले भने।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार सुरुवातमा राष्ट्रपतिको भ्रमण कुम्भ मेलामा सहभागी हुनका लागि मात्रै तय थियो। 'पछिल्लो पटक औपचारिक भ्रमणकै कुरा उठेपछि तयारी नपुगेको हो,'  दाहाल भन्छन्, 'उपयुक्त समयमा भ्रमण हुन्छ।'

फोटो : media.guim.co.uk



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell