PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​ओलीले आफूलाई महाराजधिराज, अरुलाई रैति ठाने : प्रचण्ड



​ओलीले आफूलाई महाराजधिराज, अरुलाई रैति ठाने : प्रचण्ड

  • पहिलोपोस्ट -
काठमाडौँ : निर्णायक भनिएको प्रमुख तीन दलबीच शनिबारको वार्ता एमाले अध्यक्ष केपी ओलीका कारण भाँडिएको आरोप एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएका छन्। संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ओलीलाई कडा शब्दमा आलोचना गरे।
 
‘एउटा पार्टीको अध्यक्ष भएँ अथवा अलिकति सिट बढी आयो भन्दैमा महाराजधिराज नै मै हुँ, अरु सब रैति भए अरु सबै दासहरु हुन् भन्ने ठान्यो भने त त्यो मानसिकतासँग त झुक्न सकिँदैन’ उनले भने, ‘ओलीजीले यसरी आफूलाई यो देशको ठेकेदार मै हुँ भने जस्तो गरी जे मन लाग्यो त्यही बोल्ने?
 
‘उहाँले आफूले भनेपछि त्यही नै हुनुपर्छ भन्ने कुरा गर्ने, तिमीहरु मोर्चा विघटन गर, तिमीहरुले भाषा संस्कृति पहिचानको कुरा गर्न पाउँदैनौँ भनेर फर्मान जारी गर्ने, त्यसो गर्‍यो भने देश टुक्रन्छ भन्ने अधिकार उहाँलाई कहाँबाट आयो?’, उनले प्रश्न राखे।
 
ओलीका त्यस्ता अभिव्यक्ति प्रधानमन्त्रीले रोकेमात्र आफूहरु वार्तामा बस्ने उनले बताए।

अडियो सुन्नुस्-
 

कसरी भाँडियो हिजोको वार्ता ?

हिजोको वार्ता किन भाँडियो भन्ने बारेमा उनले भने, ‘हिजो हामी तीन पार्टीको शीर्ष नेताहरुको बैठक बसेको थियो। अस्ति नेपाली कांग्रेस र एमाले बसेर अन्तिम निर्णायक वार्ता गर्ने भन्ने प्रचार बाहिर आएको थियो। उहाँहरुको भनाई आएपछि हामीले के अपेक्षा गरेका थियौँ भने अब शायद उहाँहरु सकारात्मक ढंगले सहमति निर्माणको लागि केही नयाँ कुराहरु लिएर आउनु होला। यही सोचका साथ हामी बालुवाटार पुगेका थियौँ।‘
 
‘तर त्यहाँ हाम्रो सोचविपरीत, हामीले जे अपेक्षा गरेका थियौँ त्यसको ठीक विपरीत, खासगरी केपी ओलीजीले पहिचानको कुरो गर्नै नपाइने, त्यो कुरो गरेपछि रुवान्डा भइहाल्छ, त्यसकारण त्यो बटमलाइन हो, पहिचानको कुरा गर्न पाइँदैन भन्ने जस्ता कुरा आयो। अनि यो गठबन्धनलाई विघटन गर्नुपर्ने भन्ने कुरा गरेपछि यो सकारात्मक हुनेतर्फ होइन, सहमति निर्माणतिर होइन, संविधान नबनाउनेतिर नै ओलीजीहरुको मनसाय हामीले प्रष्टै बुझ्यौँ।‘
 
भन्न संविधान बनाउने भन्ने तर संविधान बन्न नदिने र सहमति बन्न नदिने, देशमा राजनीतिक स्थिरता बन्न नदिने मनसाय देखेपछि तपाईँहरुको आजको स्थिति हेर्दा तपाईँहरु संविधान नबनाउने, सहमति नबनाउने, देशलाई राजनीतिक मुठभेडतिर लाने मनस्थितितिर देखिनुभएकोले तपाईँहरुसँग आज कुरा गर्नुको औचित्य देखिएन भनेर हामी हिजो उठेर हिँडेका हौँ।
 
त्यसको अर्थ अब हामी वार्ता गर्दैनौँ भन्ने होइन वार्ताको ढोका बन्द भयो भनेको पनि होइन तर हिजोको मनस्थिति, ओलीजीले जसरी बोल्नुभो, त्यही हो, विघटन गर्नुपर्ने, जाति, भाषा, पहिचान संस्कृतिको कुरै गर्न नपाइने हो भने त त्यस्तो वार्ताको औचित्य पनि हुँदैन।
 

‘वार्ता नगर्ने भनेको होइन’

त्यसकारण त्यसलगत्तै मैले प्रधानमन्त्रीजीसँग पनि कुरा भयो मेरो। त्यो कुरा हुँदा मैले भनेको छु, वार्ता नगर्ने भन्ने कुरा हुन्न। हामी त्यत्रो युद्धलाई त वार्ताद्वारा शान्तिमा बदलेर यहाँसम्म आइयो भने अहिले त सहज परिस्थिति छ, वार्ता नगर्ने भन्ने कुरा होइन। तर कसैले आफूलाई यो देशको ठेकेदार नै भएँ, एउटा पार्टीको अध्यक्ष भएँ अथवा  अलिकति सिट बढी आयो भन्दैमा महाराजधिराज नै मै हुँ, अरु सब रैति भए अरु सबै दासहरु हुन् भन्ने ठान्यो भने त त्यो मानसिकतासँग त झुक्न सकिँदैन भन्ने कुरा हिजो हामीले भन्न खोज्या हो।
 
आज बिहान हामी फेरि संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेका थियौँ, संविधान सभाभित्रको १९ दलको। त्यो बैठकमा हामीले यो सबै परिस्थितिको बारेमा र सहमति निर्माणको बारेमा सभामुखसँग कुरा गर्ने भनेर समझदारी बनायौँ। बाहिर आन्दोलनका केही कार्यक्रम बनाउनु भन्दा अगाडि नै संविधान सभाका अध्यक्षसँग स्थितिको बारेमा बताउन र उहाँका सुझावहरु लिन उचित हुने कुरा भयो। 
 

ओलीले देशको ठेकेदार मै हुँ भने जस्तो गरे

ओलीजीले यसरी आफूलाई यो देशको ठेकेदार मै हुँ भने जस्तो गरी जे मन लाग्यो त्यही बोल्ने, जसको भूमिका के हो इतिहासमा भन्ने कुरा त इतिहास साक्षी छ, कसले यो देशमा परिवर्तनको निम्ति जनताको पक्षमा कसले कति भूमिका खेल्यो भन्ने कुरा।
 
उहाँले आफूले भनेपछि त्यही नै हुनुपर्छ भन्ने। तिमीहरु मोर्चा विघटन गर, तिमीहरुले भाषा,संस्कृति पहिचानको कुरा गर्न पाउँदैनौँ, त्यसो गर्‍यो भने देश टुक्रन्छ भन्ने अधिकार उहाँलाई कहाँबाट आयो ? यस्तै किसिमको वार्ता हुने हो भने प्रधानमन्त्रीजीले त्यस खालको अभिव्यक्तिलाई रोक्न भूमिका खेल्नुपर्छ, हामी वार्तामा निम्ति तयारै छौँ। 
 

सहमतिबाट मात्रै माघ ८ मा संविधान

एउटा कुरा एकदम प्रष्ट के हो भने संविधान सभाबाट हिजोका ऐतिहासिक सम्झौता र अन्तरिम संविधान अनुसारको संविधान बन्नुपर्छ र संविधान माघ ८ भित्र बन्ने एकमात्र उपाय छ सहमति।
 
यदि प्रमुख राजनीतिक शक्तिहरुको बीचमा सहमति भयो भने अझै पनि फास्ट ट्रयाकबाट गएर माघ ८ को संभावना रहन्छ। अहिले भर्खरै पनि सभाध्यक्षले भन्नुभयो सबै नियमावली सस्पेन्ड गरेर के-के गरेर अनेक तरिका अपनाएर भए पनि घोषणा गर्न संभव हुन्छ तर सहमति भएमात्रै। सहमति भएन भने असंभव छ माघ ८ गतेसम्ममा आउन।
 

‘सहमतिमा ध्यान छैन, माघ ८ मा आउँछ-आउँछ’

खासगरी ओली जी र प्रधानमन्त्रीले पनि पटक-पटक बुझेर भन्नुहुन्छ कि नबुझेर भन्नुहुन्छ ८ गते आउँछ-आउँछ भन्नुहुन्छ। त्यो आउँछ-आउँछ भन्ने कुरा बडो रहस्यमय हुन गएको छ। उहाँहरु सहमतिमा ध्यान दिनु छैन उल्टो सहमति भाँड्नतिर अघि बढ्ने, अनि उल्टो आउँछ-आउँछ भन्नुबाट जनतालाई धोका बाहेक केही पनि हुन्न।
 
एकमात्र उपाय सभाध्यक्षले भन्या जस्तो सहमति भए संभावना हो। होइन भने माघ ८ गते संविधान संभव छैन। 
 

‘बलमिच्याइँ गरिए प्रतिवाद’

प्रक्रियाबाट गयो भने संविधान सभाबाट निस्कन्छौँ भनेका छैनौँ अहिले तर बलमिच्याइँ भयो भने त्यसको प्रतिवाद हुन्छ। 
 
दुई तिहाई मात्रै पनि नभनौँ तपाईँ पत्रकार साथीहरुले पनि कुरालाई ठीक ढंगले बुझिदिन र जनतामा पुर्‍याइदिन जरुरी छ। संविधान सभा भनेको संसद होइन। दुई तिहाई भएपछि जे मन लाग्यो त्यही गर्न पाइने भन्ने हुँदैन संविधान सभामा। यो कुरा तपाईँहरुले भनिराख्नु भएको छैन के जनतालाई।
 
तपाईँहरुले पनि गर्न के खोज्नुहुन्छ भने ओलीजीले भनेकै त्यही हो भन्या जस्तै, त्यो होइन। संविधान सभा भनेको आन्दोलनमा जे समझदारी बनेको हो, जनताले जे जनादेश दिएको, मतादेश होइन, शान्ति सम्झौतामा जे गर्ने भन्या हो संविधान सभाबाट अन्तरिम संविधानमा जे गर्ने भनेको हो, मधेस आन्दोलनसँगको जनजातिसँगको सम्झौतामा जे भनेको हो, त्यो गर्ने भन्या हो। दुई तिहाई छ भनेर जे मन लाग्यो त्यही गर्न पाइनेलाई संविधान सभा भनिँदैन।
 
त्यसकारण यदि त्यस्तो बल मिच्याइँ भयो भने प्रतिवाद हुन्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell