PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रहरीको कुकुर 'भुन्टी'ले पत्ता लगाई चार हत्याका आरोपी



प्रहरीको कुकुर 'भुन्टी'ले पत्ता लगाई चार हत्याका आरोपी

काठमाडौं : सल्यानको छायाँ गाविस–९ रानागाउँमा मंगलबार राति एकै घरका तीनसहित चार जनाको हत्यामा गाईभैँसी बाँध्ने काठको किलो प्रयोग भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ।
 
उक्त घटनामा संलग्न छायाँ गाविस–९ कै २० वर्षीय सन्जय भारतीलाई प्रहरीले हिजो पक्राउ गरेपछि सोधपुछका क्रममा सो कुरा खुलेको हो। भारतीले मादक पदार्थ सेवन गरी किलोले पालैपालो चारै जनाको हत्या गरेको बयान दिएका छन्। अभियुक्तमाथि अनुसन्धानका लागि सल्यान जिल्ला अदालतले आजै पाँच दिनको म्याद थप गरेको छ।

उक्त घटनामा रानागाउँका रमेश खाण ठकुरीकी २३ वर्षीया श्रीमती सीता, साढे दुई वर्षीया छोरी पवित्रा, ११ महिनाकी छोरी सविता र दिदीको घरमा आएकी शारदा नगरपालिका–८ मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको थियो। उनी केही हप्ताअघि दिदीको घरमा आएकी थिइन्। मृतक सीताका पति रमेश भने हाल रोजगारको सिलसिलामा भारतमा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भूपेन्द्र घर्ती मगरका अनुसार मादक पदार्थ सेवन गरेर आएका भारती र सीताबीच सुरुमा सामान्य भनाभन परेको थियो। भनाभनपछि भारती घटनास्थलदेखि करिब एक सय मिटर टाढा रहेको आफ्नो घरतर्फ लागेका थिए। केही समयपछि उनी किलो लिएर आई अन्धाधुन्ध प्रहार गर्दा चार जनाको ज्यान गएको हो।
 
'पहिलो प्रहार सीतामाथि गरे, त्यसपछि उनकी बहिनी अनि दुई नाबालकलाई पालैपालो प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको छ,' प्रहरी नायव निरीक्षक मगरले भने।

घटनापछि अपराधी पत्ता लगाउन मध्यपश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट भुन्टी नामक 'ट्रयाकर डग'सहित प्रहरी टोली परिचालन भएको थियो।

मंगलबार दिउँसो दाउरा चिरेर फर्किएपछि भारती ३ बजे गोठाला गएका थिए। बेलुका सीताको घरमा सेलरोटी खाने क्रममा रक्सीले मातिइसकेका भारती र सीताबीच विवाद पर्‍यो। त्यसपछि बाहिर निस्केर गाईभैंसी बाँध्ने किलो उखेली पहिले सीतामाथि प्रहार गरेको अभियुक्तले स्वीकार गरेको सल्यानका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खड्काले बताए।

सबैको हत्या गरी फर्कने क्रममा उनले सोही ठाउँकी करिब ६० वर्षीया जुठ्ठी अधिकारीलाई पनि टाउकोमा लाठीले प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ। उपचारपछि उनको अवस्था सामान्य रहेको छ। हत्याको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell