PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोइरालाको खुलासा : धर्मनिरपेक्षता हटाउन भारतसँग शीर्ष नेताको सहमति, करोडौं डलरको प्रलोभन



कोइरालाको खुलासा : धर्मनिरपेक्षता हटाउन भारतसँग शीर्ष नेताको सहमति, करोडौं डलरको प्रलोभन

  • पहिलोपोस्ट- 
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति सहितका केही नेताले भारतसँग धर्मनिरपेक्षता हटाउन सहमति गरे पनि पालना नगरेको खुलासा गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवासँगै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतसँग यस्तो सहमति गरेको कोइरालाको दाबी छ।

जिल्ला भ्रमणका क्रममा पर्वत पुगेका कोइरालाले आफूले भारतीय विदेशमन्त्रीसँगको भेटमा नेताहरुले सहमति गरेको कुरा थाहा पाएको बताए। 'हाम्रा नेताहरुले धोका दिएकै कारण भारत रिसाएको हो,' उनले भने ।
 
'भारतीय विदेशमन्त्रीले नेपालका शीर्ष नेताले कमिटमेन्ट गरेर पालना नगरेको मसँग बताएकी थिइन्,' उनले भने, 'आखिर माथिल्लै तहमा सहमति भएको रहेछ।'

कांग्रेस महाधिवेशन लगत्तै कोइराला भारत पुगेर फर्किएका थिए।

भारतको चाहनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्या भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले धर्मनिरपेक्षता हटाउने सहमति गरेको उनले खुलासा गरे। उनले छिमेकी मुलुक भारतको पनि सबैभन्दा ठूलो असन्तुष्टि त्यसैमा रहेको बताए।
 
जनताका आवाज नेताले नसुनेकै कारण धर्मनिरपेक्षता कायम रहेको कोइरालाको भनाइ थियो। '८५ प्रतिशत जनताले हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउँदा दलका नेताले करोडौं डलर लिएर धार्मिक स्वतन्त्रतामा समेत जान सकेनन्,' उनले भने, 'मुलुकको आफ्नो धर्म त हुँदैन तर पनि जनताको अभिमतलाई बुझेर धार्मिक स्वतन्त्रता बनाउनुपर्ने नै थियो।'

उनले धर्मनिरपेक्षता हटाउने विषयमा धेरै जना सहमत भएर पनि करोडौं डलरको चलखेलका कारण रोकिएको जिकिर गरे। 'अब संसदले धर्मनिरपेक्षता हटाउन त सक्दैन तर हिन्दु सनातनदेखि चलिआएको धर्मको संरक्षण गर्ने भन्ने संविधानको शब्दलाई टेकेर कडा कानुन बनाउनैपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell