PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भक्तपुरका दुई रुप : बाहिर चमकधमक फर्कियो, तर भित्र ...



 भक्तपुरका दुई रुप  : बाहिर चमकधमक फर्कियो, तर भित्र ...

  • उमेश श्रेष्ठ/ऋषिकेश दाहाल - 
पोहोर महाभूकम्पपछिको तेस्रो दिन रिपोर्टिङका लागि भक्तपुर पुग्दा जाने धेरै ठाउँ थिएनन्। पूरै भक्तपुर भग्नावशेषमा पुरिएको थियो। छिनछिनमा आउने परकम्पले यो ठाउँ अझ जोखिमपूर्ण बनाइरहेको थियो। बाटो कहाँ हो र घर कहाँ हो छुट्याउनै गाह्रो थियो। दत्तात्रयबाट भित्रको गल्ली छिर्दा एक महिला भत्किएको घरले पुरिएको भाग खोतल्दै थिइन्। उनकी १६ वर्षकी छोरी अस्पतालमा थिइन् र फेराइदिने लुगा थिएन। त्यसैले पुरिएको ठाउँमा छोरीको लुगा खोजिरहेकी थिइन्। उपत्यकाभित्र नै भूकम्पलगत्तैको यस्तो दृश्यलाई सार्वजनिक गर्दा ‘सनसनीपूर्ण’ बनेको थियो। (हेर्नुस् एक वर्षअघिको स्थलगत रिपोर्ट)

२०७३ वैशाख १२ मा हामीलाई त्यही ठाउँको हालत कुन अवस्थामा होला भन्ने चासो थियो। र, फलोअपको धर्म पूरा गर्नका लागि हामी लाग्यौं भक्तपुरतिर। संस्कृति र सभ्यताको अनुपम सहर भक्तपुर छिर्दाका दृश्य मनमोहक देखियो। विदेशी पर्यटकहरु यहाँको काष्ठकला र वास्तुकलाको सौन्दर्यमा रमाइरहेका थिए। दरवार स्क्वायरमा स्कुले बालबालिकाहरु कार्यक्रममा सक्रिय थिए। कफी पसलहरु भरिभराउ देखिए।

‘ओम माने पेमे हुँ… ओम माने पेमे हुँ’

तिब्बती टोन क्युरियो पसलहरुबाट गुञ्जिरहेका थिए। पर्यटकको बाक्लै उपस्थिति र उनीहरुलाई रिझाउने धुनले यहाँका मूल गल्लीहरुको रौनक पहिले झैँ लागिरहेको थियो। 

‘कति चुप लागेर बस्नु भनेर काम गर्न थाल्यौं,’ माटोको भाँडा बनाउने ‘टुरिस्ट डेस्टिनेसन’मा पुग्दा कृष्णलक्ष्मीले सुनाइन्। बनेका माटाका भाँडा र खुत्रुके चर्को घाममा सुकिरहेका थिए। पर्यटकहरु उनीहरुले सुकाइरहेको माटाको भाँडाका दृश्यलाई कैद गरिरहेका थिए आफ्ना डिएसएलआरहरुमा। पर्यटकको आगमनसँगै गणेशभक्त प्रजापति मेसिन अन गर्थे र लेसिलो माटो हातमा लिएर माटोलाई आकार दिन थाल्थे। 

त्यतिखेर सुनसान देखिएका ठाउँहरुमा माटाका भाँडाहरु सुकाउनेहरु जुटेका थिए। उनीहरुको काम हेर्नेहरु क्लिक.. क्लिक… गर्दैथिए। 

फलो अपमा तामला गल्ली

यहाँबाट हामी दत्तात्रयतिर लाग्यौं जहाँ हामीले एक वर्षअघि विरहलाग्दा दृश्यहरु देखेका थियौं। हामी ती गल्लीहरु नियाल्दै त्यही ठाउँमा पुग्यौं जहाँ एक महिला छोरीका लागि फेराइदिने कपडा खोजिरहेको दृश्य हामीले कैद गरेका थियौं। 

भक्तपुर भित्रका पर्यटकीय कमर्सियल भ्यालु भएका ठाउँहरु हेर्दै हामी दत्तात्रयतिर लाग्दै थियौं। जगमगाएका बजार र मानिसहरुको गतिविधिले यो ठाउँ पुरानै अवस्थामा फर्किएको अनुभूति भयो हामीलाई। क्युरियो पसलदेखि पर्यटकलाई लक्षित गरेर खोलिएका सबैजसो पसलहरु पुरानै अवस्थामा देखेपछि हामी सन्तोषको सास फेरिरहेका थियौं। तामला गल्लीमा नपुगुन्जेल हामी भक्तपुरको रुपमा लठ्ठिएका थियौं। जुजु धौका पसलहरु पूर्णरुपमा खुलेका थिए। 

तामला गल्लीमा छिरेपछि देखियो – क्यालेन्डर फेरिँदा पनि यहाँको अवस्था फेरिएको रहेनछ। 

तामला गल्लीभित्र पुगेपछि हामी खुला मैदानमा पुगे झै भयौं। माटोले भरिएका मैदान। भूकम्प गएको १२ महिना पूरा हुँदा पनि यहाँबाट भत्केका घरका माटोहरु बाहिर निकालिएको थिएन। हामीले वर्षदिन अघि जुन घरमा महिलाले छोरीका लागि लुगा खोजिरहेको देखेका थियौं त्यो घर अहिले पनि उही अवस्थामा थियो। अनि त्यहाँभित्रका सबै घर ढलेका मात्र थिए। 

‘गाडीभित्र छिर्न दिएनन्, माटो झिकेर लैजान मिलेको छैन,’ भत्किएका घरहरु नजिकै स्वेटर बुनिरहेकी मैयाँकेशरी प्रजापतिले सुनाइन्, ‘घरमा टेको लगाएकाले गाडी आउन दिएनन्।’







टेकोमा अडिएको सहर 

आवरणमा सजिसजाउ पसलहरु, उफर थर्काउँदै बजिरहेका पसलहरु देखिए पनि सबै घर सग्ला छैनन्। सडकमै ढेपिएर टेकोहरु तेर्स्याइएको छ। टेकोको फेदमा मोटा फलामे रडहरु दबाइएको छ। टेकोमा अडिएका घरलाई फलामे किलाहरुले आड दिएका छन्। 

‘यो घरले चेपेरै बचायो,’ गणेशभक्तले आफ्नो घरसँगै जोडिएर बनेको नयाँ कंक्रिट घर देखाए। उनको पुरानो घर भूकम्पमा जोगिनुको एउटै कारण सँगै जोडिएको पक्की र बलियो घर रहेको उनको बुझाइ छ। 

सहरका मूल र भित्री सडक जताततै देखिने दृश्य हो टेकैटेकामा अडिएका घरहरु। जति मिहेनत गरेर टेको लगाइएको छ त्यसले यहाँ जोखिम लामै समय रहनसक्ने बुझाउँथ्यो।

यही गल्लीमा घर भत्किँदा २४ जनाले ज्यान गुमाए। एक/दुई घरबाहेक सबै माटोमै मिले। भत्किएका घरबाट निकाल्न सकिने सबै सामान उनीहरुले निकालिसकेका छन्। नसकेको भनेको भत्केको घरले बनाएका माटोका ढिस्काहरु मात्र हुन्। 

एकातिर साँघुरा बाटामा घर ठड्याउन राखिएका टेकोहरु, अर्कोतिर घर बनाउनेहरुले सुरु गरेको जग। यहाँ भत्केर उब्जिएका माटो र कंक्रिट निकाल्न सकिने अवस्था कहिले आउँछ यसै भन्न सकिन्न। 

फोटो खिच्नका लागि भूकम्पले नभत्किएको एउटा घरको छतमा उक्लेर हेर्दा आँखाले भ्याउन्जेल जताततै भग्नावशेष मात्र देखिन्थ्यो। लाग्थ्यो, एक वर्षअघि होइन, हिजोअस्तिमात्रै यहाँ भूकम्प आएको हो। 

एक भक्तपुर : दुई रुप

सैनिक स्कुल हुँदै भक्तपुर दरबार क्षेत्र पुग्दा जस्तो रुप हामीले देख्यौं त्यो भक्तपुरका गल्लीहरुमा छिर्दा भेटिन्न। मानिसहरु घर छाडेर टहरामा बसेका छन्। दरवार क्षेत्र र व्यापारिक भ्यालु भएका ठाउँहरु बौरिएका छन्। आर्थिक रुपमा बलियो ठाउँमा बजार पनि बाक्लै लागिसक्यो। सरसर्ती हेर्दा भूकम्प गयो र? भन्ने पनि लाग्न सक्छ।

तर, जब मूल सडकबाट केही दायाँ बायाँ लाग्यो भने भक्तपुरको अर्को रुप देखिन्छ। र, दोस्रो रुपले कसैलाई उत्साही बनाउँदैन। त्यहाँ दरिद्रतामात्र देखिन्छ। ‘अहिलेसम्म नदेखेको र नसुनेको कुरा भोग्न परिरहेको छ,’ मैयाँकेशरीले सुनाइन्। 

बजार बाहिरको भक्तपुरमा काष्ठकला र बलिया कंक्रिटको जब्बर पिलर देखिन्छन् भने भित्र भत्किएका स्वरुपमात्र। ‘यहाँबाट सूर्यमढी जानुस् यस्तै हालत छ,’ उनले भनिन्, ‘तलतिर जाने हो भने यस्तो ठाउँ त टोलटोलमै देखिन्छ।’







घर बनेन, मन्दिर उकासिँदै

सम्पन्न भक्तपुरेका लागि घर बनाउन कठिन छैन। तर पनि थोरैले मात्र जग हाल्ने र तला थप्ने काम अघि सारेका छन्। नसक्नेका लागि नयाँ घर बनाउने कल्पना बाहिरको विषय बनिरहेको छ।

सर्वसाधारणले घर बनाउन नसकिरहेको भए पनि दरवार स्क्वायरमामा मानिसहरु भत्किएको मन्दिरको शिरपोस निर्माण गरिरहेका थिए। रातोरातो रङको मसलामा उनीहरुले काम गरिरहेका थिए।

के हो यो ?

‘बज्र’

चुन, इँटाको धुलो र बालुको मिश्रणबाट बज्र बनाउँदै थिए। बज्रमा पहिले मासको दाल पनि अनिवार्य हुने गर्थ्यो। अहिले मानिसले किनेर खान नसक्ने महँगो भएको यो दालविना नै बज्र बन्दै छ। नाम अनुसार बज्र होला कि नहोला हामी भन्न सक्दैनौं। तर, जनताको घरभन्दा सरकारको मन्दिर मोह भने यहाँ पनि देखिन्छ। किनकि मन्दिर बनेन भने यहाँ पर्यटक आउने छैनन्। पसलहरु चल्ने छैनन् र गुञ्जने छैन ‘रेसम फिरिरी… र ओम माने पद्मे हुँ…’ का ध्वनिहरु।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell