PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म हिन्दु हुँ, हिन्दु राष्ट्र हुनुपर्छ भन्छु : कांग्रेस महामन्त्री शशांक कोइराला



पहिलोपोस्ट

म हिन्दु हुँ, हिन्दु राष्ट्र हुनुपर्छ भन्छु : कांग्रेस महामन्त्री शशांक कोइराला

  • बिष्णुहरि घिमिरे -
न्युयोर्क : नेपाली काग्रेसका महामन्त्री शशांक कोइराला अमेरिका यात्रामा छन्। निजी भ्रमणमा रहेका सबैभन्दा ठूलो राजनीतिक दलका महामन्त्रीले नचाहे पनि भ्रमण राजनीतिक हुने गर्छ नै। न्युयोर्कस्थित जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा उनीसँग गरिएको कुराकानी:

अहिलेको भ्रमणको उद्देश्य के हो?

हुन त यो व्यक्तिगत भ्रमण हो। भतिजीको बिहे छ। छोरीलाई पनि भेट्दैछु। साथसाथै महामन्त्री भइसकेपछि साथीहरुलाई भेट्ने अवसरको रुपमा पनि मैले लिएको छु।


औपचारिक कार्यक्रमहरु के के छन् पार्टीको तर्फबाट
?

होइन। त्यस्तो कार्यक्रम केही छैन। तर साथीहरु भेट्न चाहान्छन्। न्युयोर्क, डालस, सानफ्रान्सिस्को, एलएका साथीहरुले भेट्न चाहेका छन्। हामीहरुले केही ठाउँमा भेटघाट कार्यक्रम राखेका छौं।
 

जनसम्पर्क, सम्पर्क समितिमा विवाद छ। न्युयोर्कमा यहाँको स्वागत भन्दै एकै दिन दुई स्थानमा कार्यक्रम राखिएका छन्। यसमा महामन्त्रीको भनाइ आएको छैन्।

मेरो पहिलो प्राथमिकता के हो भने पहिला साथीहरु मिल्नुपर्‍यो। त्यसका लागि मैले के सोचेको थिएँ भने, साथीहरुलाई म नै बोलाउँछु। दुईवटै समुहलाई बोलाएर छलफल गर्छु। केही निर्णय गर्न सकिन्छ कि? अब दुईवटै पक्षलाई हेरेर जानु पर्‍यो। आधिकारिक एउटा छ भनेको त छँदैछ, यो विवाद अब मिल्नु पर्छ।

पार्टी सभापति शेरबहादुर देउवा अहिले भारत भ्रमणमा हुनुहुन्छ। त्यहाँबाट फर्किएपछि नेपाली कांग्रेस सरकार परिवर्तनमा लाग्छ भनिएको छ। यसमा तपाईँको धारणा के छ?

होइन। उहाँको कुरा भइरहेको छ भारतमा। तर भारतलाईमात्र हेर्नु भएन नि। यो त नेपालको कुरा हो। त्यहाँ गएर सल्लाह गरेर आएर निर्णय गर्ने होइन।  सबैभन्दा मुख्य कुरा त नेपालमा बसेर नेपालीले नै निर्णय गर्नुपर्‍यो। अहिले सरकार परिवर्तन गर्दा नेपाली कांग्रेस ठूलो पार्टी हो भन्ने हेक्का हुनुपर्छ। नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ भन्ने कुरा ठिक पनि हो। तर अर्कोतिर सरकारमा जाँदाजाँदै हामी त्यो समस्या समाधान गर्न सक्छौ? के नौ महिनामा नै सत्ता परिवर्तन गर्ने? हामीले सरकार जाँदा ठोस योजना सहित जानुपर्छ। मधेसी समस्याहरु छ, कालाबजारीहरुको कुरा आएको छ, भुइँचालोले क्षतिग्रस्त भएको छ। एउटा हिउँद गइसक्यो अर्को बर्खा आउँदै छ। अहिलेसम्म भुकम्प पीडितले केही पाएको छैन। यी सबै योजनाहरु फिक्स गरेर न सरकारमा जाने हो। खाली सरकारमा जाने र अस्थिरताको राजनीति कहिले सम्म गर्ने?

कांग्रेसकै केही नेताहरुले यो सरकारको आयु धेरै छैन, अब कांग्रेसले नै सरकारको नेतृत्व लिनुपर्छ भनिरहेका छन् त?

नेतृत्व लिनुपर्छ त्यो ठीक हो। तर हामीले पनि एउटा योजना त तर्जुमा गर्नुपर्‍यो नि।

बरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई पनि आएको छ - राजदूत नियुक्तिको विषयमा। तपाईँको के धारणा हो?

यो एकलौटी गर्ने प्रयास गरेकै हो। किनभने अहिले सुनुवाइ समिति छैन। हुन त सुनुवाइ समिति छ, ७१/७२ जनाको सुनुवाइ समिति। तर उनीहरुको भनाई के हो भने अपर र लोवर हाउस मिलेर सुनुवाइ समिति हुनुपर्दछ। संविधानले त्यही भनेको छ। हाम्रो भनाइ के हो भने त्यस्तो हो भने त तपाईँहरुले पनि पर्खनु पर्‍यो नि। या छलफलको आधारमा नेपाली कांग्रेस वा अरु दलहरुसँग छलफल गरेर राजदूतको नियुक्ति हुनु पर्‍यो।

सिफारिसमा कांग्रेसको आधिकारिक धारणा के त?

कांग्रेसले त विरोध गर्छ। हाउसमा विरोध गर्छ। मे को पहिलो हप्ता हाउस डाकेको छ। त्यो समयमा विरोध गर्छ। त्यतिमात्र होइन अहिले नै वार्तामा गएर उनीहरुसँग घोर विरोध गर्नुपर्छ।

संविधान कार्यन्वयनको कुरा आइरहेको छ, विषेश गरी यो मधेसको मुद्दाको बारेमा। तपाईँ मधेसप्रति अलिकति नरम पनि हुनु भएको थियो महाधिवेशन अगाडि। समस्या जहाँको त्यही छ। मधेसवादी दलहरुले राजधानी केन्द्रित आन्दोलन गर्ने तयारीमा छन् त?

यसमा दुईवटा कुरा छन्। नेपाली कांग्रेसको जरो भनेको मधेस नै हो। त्यसैले उनीहरुको मुद्दा हामीले सुन्नै पर्छ। उनीहरुले ११ बुँदे ज्ञापनपत्र दिएका छन् सरकारलाई। मुख्य मुद्दा भनेको सीमाङ्कनकै लागि लिएर हो। यसमा मेरो भनाइ के छ भने सबैभन्दा महत्वपूर्ण कुरा हो हामी परामर्शमा जानुपर्‍यो। सहमतिमा जानुपर्‍यो। दोस्रो कुरा काउन्सिलिङको कुरा पनि आउँछ। उनीहरुलाई सम्झाउन पनि पर्‍यो। उनीहरुले हामीलाई सम्झाउन सक्नुपर्‍यो। अहिले सात वटा राज्य छ, छ भोलि आठ वटा पनि हुन सक्छ। त्यो गर्ने हो भने दुई तिहाइ चाहियो। भन्दाखेरी एमालेलाई पनि साथ लिएर जानु पर्‍यो। त्यसैले हामी एकदमै क्याच ट्वान्टी टु सिचुइएसनमा छौं।  गाह्रो छ, त्यति सजिलो छैन। मुद्दालाई सम्बोधन गर्दैगर्दा कतिपय मुद्दामा दुई तिहाइ हुनु पर्ने हुन सक्छ। होइन भने चै काउन्सिलिङ गरेर अहिले चै सात वटा हेर्दै जाउँ पछि पुर्नविचार गरौंला भन्ने।


महाधिवेशन अगाडि आएको तपाईँको हिन्दु धर्म र राजसंस्था माथिको विचार विवादमा पर्‍यो नि?

के विवाद छ र त्यसमा? मैले १३ औं महाधिवेशनको पूर्व सन्ध्यामा भनेको थिएँ- महाधिवेशन भनेकै रिभ्युउ, रिएसेसमेन्ट हो। चार सालदेखि आजसम्म नेपाली कांग्रेसले गरेका जति पनि निर्णायक काम छन् त्यसमा प्रश्न चिह्न नराख्ने? राख्नै पर्छ। २०२७ सालमा बीपी कोइरालाले बन्दुक उठाउनु भयो। प्रश्न नराख्ने किन उठाउनु भो भनेर? २०३३ सालमा मेलमिलापको नीति लिएर आउनु भो। यो अधिवेशन भनेको चार पाँच वर्षमा एक पटक आउने कुरा हो। त्यो बेलामा त हामीले इतिहासलाई नहेरी अगाडि कसरी जान सक्छौं? त्यसैले मैले भनेको पुर्नविचार हरेक कुरामा हुनुपर्छ। त्यो होइन भने त हामी प्रजातन्त्रवादी नै रहेन रहेछौं।


तपाईँ हिन्दु धर्मको पक्षमा अझै पनि हुनुहुन्छ
?

अब विषयहरु धेरै छन्। जस्तै हिन्दुत्वको विषय एक हो। कुन विषय तपाईँ अगाडि ल्याउनु हुन्छ र तपाईँको बागडोरमा त्यो विषय हुन्छ कि हुँदैन? नत्र अतिवादी शक्तिहरु अहिले पर्खिरहेका छन्। अस्थिरता आओस् अनि हामफालौंला भनेर बसेका छन्। त्यसैले अहिले ठिक समय हो। यो हिन्दुत्वको मुद्दा लिएर आउने भन्ने एउटा प्रश्न चिन्ह छ। हो म  आफैँ कोइराला हो। ब्राम्हण हो। त्यसैले म पनि भन्छु हिन्दु राष्ट्र हुनु पर्छ भनेर। तर त्यो मुद्दा कुन समयमा उठाउनुपर्ने हो? त्यस्ता मुद्धाहरु धेरै छन्। १९५० का ट्रिटीका मुद्दाहरु छन्। त्यस्ता मुद्दाहरु धेरै छन्। तर कुन परिस्थितिमा ल्याउँदा राष्ट्रलाई अस्थिर बनाउँदैन? भुइँचालोले ग्रस्त छ राष्ट्र। अहिले पनि हामी विरोधका लागि विरोध गरिरहेका छौं। हामीले त सकारात्मक विरोध गर्नुपर्छ। रचनात्मक विरोध गर्नु पर्छ।  होइन र ? कि विरोधका लागि विरोध गर्ने? जस्तो मदन भण्डारीले म यो सरकारलाई तीन महिना भित्रमा ढालिदिन्छु भनेर गिरिजाप्रसादलाई भनेको होइन? जबकि काम नै गर्न दिएको छैन। त्यस्तो विरोध नेपाली कांग्रेसले गर्दैन।


अन्त्यमा जनसम्पर्क समिति अमेरिकामा एउटाले अर्कोलाई कारवाही गरेको अवस्था छ। महामन्त्री नेपाल फर्कदासम्म यो विवाद मिल्ला?

मेरो प्रयास र प्रयत्न रहन्छ। मैले पनि यहाँ बसेर काउन्सिलिङ गर्नुपर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell