PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नयाँ वर्ष नयाँ उत्साह : १६ अर्बको प्रोजेक्ट जसलाई रोक्न सकेन भूकम्प र नाकाबन्दीले



नयाँ वर्ष नयाँ उत्साह : १६ अर्बको प्रोजेक्ट जसलाई रोक्न सकेन भूकम्प र नाकाबन्दीले

  • विज्ञान अधिकारी/ऋषिकेश दाहाल
भुलभुले(लमजुङ) : सिनोहाइड्रो सगरमाथा पावर कम्पनीका प्रवन्ध निर्देशक चेन वेनले एक महिना अघि ७ चैतमा विद्युत प्राधिकरणलाई पत्र लेखे -  हामीले निर्माण गरिरहेको माथिल्लो मस्याङ्दी ए आयोजनाको एउटा युनिटबाट १४ भदौ २०७३ मा २५ मेगावाट विद्युत उत्पादन सुरु हुनेछ। त्यसको २० दिनपछि दोस्रो युनिटबाट असोज ४ गते थप २५ मेगावाट विद्युत उत्पादन सुरु हुनेछ।  

विद्युत खरिद सम्झौता(पिपिए)अनुसार तपाईंको तर्फबाट गर्नुपर्ने काम सकिदिन तथा परियोजनालाई सही समयमै सुरु गर्नका लागि प्राधिकरणबाट आवश्यक सहयोगको अपेक्षा गर्दछु ता कि उत्पादन भएको विजुली प्राधिकरणको प्रणालीमा सयममै सिंक्रोनाइजेसन गर्न सकियोस्।

 
---
लमजुङको सदरमुकाम वेसीसहर, वेसीसहरबाट साढे सात किलोमिटर 'अफरोड' यात्रा गरेपछि  पुगिन्छ लमजुङकै भुलभुले गाविस। जहाँ ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए आयोजना भदौ १४ गते भित्र अपरेसनमा ल्याउन युद्धस्तरमा काम भइरहेको छ।
 
चीनका ५०० ठूला कम्पनीको सूचीमा ८८ ‌औं नम्बरमा परेको सिनो हाइड्रो तथा नेपालको व्यवसायिक घराना चितवन कोइको लगानी रहेको यो परियोजना आगामी चार महिनाभित्र सक्नका लागि तीन सिफ्टमा काम भइरहेको छ।
 
‘बिहान, दिउँसो मात्रै होइन यहाँ राती पनि काम हुन्छ,’ परियोजनाका कम्युनिकेसन अफिसर कर्ण अधिकारीले भने। अहिले परियोजनाको ड्याम हाउस, विद्युत गृह तथा सुरुङ तीन वटै ठाउँमा अन्तिम चरणको काम भैरहेको उनले जानकारी दिए।
 
परियोजनाको सिभिल,  इलेक्ट्रो मेकानिकल मात्रै होइन प्रसारण लाइनको काम समेत यहाँ भइरहेको छ। जहाँ आठ सयभन्दा बढी मजदुरले एक साथ काम गरिरहेका छन्। तीमध्ये तीन सय कामदार चीनबाटै ल्याइएको छ भने बाँकी पाँच सय कामदार नेपाली छन्।
 
तीन सय चिनियाँ कामदार मात्रै होइन परियोजनामा प्रयोग गरिएका ठूला क्रेनदेखि ट्रकसम्म चीनबाट आयात गरिएको छ। त्यसैले भुलभुलेको यो परियोजनास्थल कुनै चिनियाँ भूमिभन्दा फरक देखिँदैन।
 
ठूला ठूला क्रेनले साइरनसहित काम गरिरहेका मात्रै छैनन्,  काम गरिरहेका चिनियाँलाई बोल्ने फुर्सदसम्म छैन्। पावर हाउसमा इलेक्ट्रोमेकानिकलमा सबैभन्दा महत्वपूर्ण र कठिन काम मध्येको एक टर्वाइन धमाधम जोड्ने काम भइरहेको छ। एउटा टर्वाइन जडान अन्तिम चरणमा पुगेको छ भने अर्को जडान गर्नका लागि फिटिङको काम भइरहेको छ।
 
‘सिभिलतर्फ ड्यामदेखि सुरुङ हुँदै पावर हाउससम्म लगभग सबै काम सकिएको छ। इलेक्ट्रो मेकानिकलतर्फ टर्वाइन जडान गर्ने काम हुँदैछ भने प्रसारण लाइनका लागि बेस राख्ने काम सकिएको छ। कुनै ठूलो अवरोध नहुने हो भने तय गरेको मितिमा हामी काम सक्छौं,’  अधिकारीले भने।
 

समयमै सकिँदै परियोजना

चीनको सिनो हाइड्रो रिसोर्सेसको ९० प्रतिशत तथा नेपाली साझेदार सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहने गरी २०६९ माघमा माथिल्लो मस्याङ्दी ए जलविद्युत आयोजना सुरु भएको हो।
 
विद्युत खरिद सम्झौतामा प्राधिकरणले आयोजना पूरा गर्नका लागि चार वर्षको समय दिएको थियो। तर चिनियाँ कम्पनी भने आयोजनाका लागि चार वर्ष होइन तीन वर्षमा सक्ने गरी युद्धस्तरमा काम गरिरहेको थियो।
 
चिनियाँ कम्पनीले परियोजना निर्माण सुरु गरेको दुई वर्ष मात्र पूरा भएको थियो। निर्माणको ८० प्रतिशत काम सकिएपछि गत वर्ष वैशाख ११ गते कम्पनीले प्रेस विज्ञप्ति जारी गर्यो -  ड्याम साइटको निर्माण पूरा भयो, पाँच किलोमिटर टनेलको काम सकियो,  इलेक्ट्रो मेकानिकलको काम समेत ७५ प्रतिशत पूरा भैसकेको छ। २०७२ को पुस मध्यसम्म हामी विद्युत उत्पादन सुरु गर्छौं।
 
तर, प्रेस विज्ञप्ती जारी गरेको भोलिपल्ट वैशाख १२ गते शक्तिशाली भूकम्पले पूरै देश हल्लायो। परियोजनाको सबै योजना तहसनहस बन्यो। भूकम्पको इपिसेन्टर लमजुङको छिमेकी जिल्ला गोरखा थियो तर निर्माणाधीन परियोजनामा ठूलो भौतिक क्षति नभए पनि त्यसले परियोजनाको काम भने पूरै प्रभावित भयो।
 
भूकम्पपछि स्थानीय कामदार घर हिँडे,  भूकम्पीय जोखिम बढेपछि चिनियाँ कामदारलाई पनि उनीहरुकै देश फर्काइयो। कामदार त हिँडेकै थिए,  त्यहाँभन्दा ठूलो समस्या देखियो तातोपानी नाकामा।
 
सिनो हाइड्रोले मगाएका केही इलेक्ट्रोमेकानिकल सामान तातोपानी नाका आइपुग्नै लागेका थियो। तर तातोपानी नाका भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भयो। नाका लामो समयसम्म खुल्न सक्ने अवस्था देखिएन्।
 
चिनियाँ कम्पनीलाई काम छिटो सक्ने हुटहुटी थियो। उसले तातोपानी नाकाबाट ल्याउन नसकिएका सामान रि-रुट गर्‍यो र पुर्‍यायो कलकत्ता बन्दरगाह। सामान बन्दरगाहबाट लमजुङका लागि सिपमेन्ट भइसकेको थियो। सुरु भयो नेपालमाथि भारतीय नाकाबन्दी।
 
माथिल्लो मस्याङ्ग्दीको इलेक्ट्रो मेकानिकल सामान फेरि अड्कियो। उता सामान अड्किएकै थियो। भूकम्पपछि घर पुगेका केही कामदार बल्ल तल्ल काममा फर्किएका थिए। यता परियोजनाको काम अघि बढाउन सुरु भयो, थपियो डिजेलको समस्या।
 
नाकाबन्दी खुलेपछि भारतमा अड्किएको परियोजनाको सामान समेत नेपाल आइसकेको छ अहिले। डिजेल सर्वसुलभ भएपछि चैत अन्तिमबाट परियोजनास्थलमा फुल फ्लेज्ड काम सुरु भएको छ।

भूकम्प र त्यसपछिको नाकाबन्दीले परियोजनालाई झण्डै नौ महिना ठेल्यो तर पनि सिनोहाइड्रो सगरमाथा पावर कम्पनी भने माथिल्लो मस्याङ्ग्दी ए परियोजनामा विद्युत प्राधिकरणसँग पिपिए गर्दाको व्यापारिक उत्पादन सुरु गर्न तोकिएको मितिभन्दा पछि छैन।
 

कसरी हुन्छ द्रुत काम

देशमा अहिले दैनिक १२ घण्टा विद्युत आपूर्ति बन्द छ। यही लोडसेडिङ कम गर्न सरकारले उर्जा उत्पादन बढाउनु पर्ने छ। त्यसैका लागि सरकारले दोस्रो पटक विद्युत संकटकालको घोषणा गरेको छ। तर देशभरि विद्युतमा संकटकालको कुनै संकेत नदेखिए पनि संकटकाल लागे जसरी माथिल्लो मस्याङ्ग्दी ए मा किन काम भैरहेको छ?
 
माथिल्लो मस्याङ्ग्दी 'ए' भन्दा २१ किलोमिटर वर नेपाल विद्युत प्राधिकरणको लगानीमा बनेको थियो ७० मेगावाटको मध्य मस्याङ्ग्दी जलविद्युत आयोजना। १३ अर्ब लागतको यो परियोजना १४ वर्ष लगाएपछि दोब्बर लगानी अर्थात २७ अर्ब रुपैयाँभन्दा बढीमा निर्माण सकिएको थियो। तर चिनियाँ लगानीको यो परियोजना अनेक ठूला झमेलाका बीचमा पनि कसरी समयमै सम्भव भयो?
 
नेपालका सबै ठूला ठेक्कामा एउटा विषय समान छ- लगानीकर्ता, ठेकेदार कम्पनी तथा परमार्शदाताबीच विवाद। परामर्शदाताले समयमा परामर्श नदिने,  त्यही आधारमा ठेकेदारले काम ढिला गर्ने र लगानीकर्तासँग दावी भुक्तानी बढी माग्ने। एक त काम समयमा नसकिने त्यसमाथि दावी भुक्तानी बढ्ने हुँदा लगानीकर्ता तनावमा पर्ने।
 
तर माथिल्लो मस्याङ्दी 'ए'मा भने यो समस्या छैन्। सिनो हाइड्रो आफै लगानीकर्ता हो, उसैले यो आयोजना आफ्नै ठेकेदारमार्फत इपिसी मोडलमा बनाइरहेको छ भने परामर्शदाता पनि उनीहरुले आफ्नै कम्पनीलाई हायर गरेका छन्।
 
यति मात्रै होइन चिनियाँ र नेपालीबीचको वर्क कल्चर पनि पूरै फरक छ। हामीले फिल्डमा पुगेर छलफल गरेका थुप्रै वरिष्ठ कर्मचारी र स्थानीयले पनि त्यसलाई अनेक उदाहरणसहित स्पष्ट गरे।
 
विद्युत प्राधिकरणले सिनोहाइड्रो सगरमाथा पावर कम्पनीसँग पिपिए गरेपछि कामका लागि चिनियाँहरु फिल्डमा पुगे। उनीहरुले सुरुमै लगेर स्काभेटरले जमिन जोत्न थाले। चिनियाँले काम सुरु गरेपछि स्थानीय छक्क।
 
उनीहरुले तुरुन्तै काम गरिरहेको स्थानमा घेरा हाले र काम रोक्न भने। उनीहरुको माग थियो - स्थानीय समस्या नसुल्झाएसम्म काम सुरु गर्न पाइन्न। नेपाली भूमि नबुझेका चिनियाँका लागि झमेला त्यही दिनदेखि सुरु भयो। उनीहरुको लागि यो पहिलो परियोजना थियो ।
 
कुनै आयोजना अघि बढाउँदा स्थानीयको अवरोध, स्थानीय राजनीतिक दलको हस्तक्षेप हुने जानकारी उनीहरुलार्इ थिएन्। चीनमा जमीन सरकारको स्वामित्वमा रहने हुँदा कुनै पनि आयोजना निर्माणमा अवरोध व्योहोर्नु पर्दैन। यही ठानेर उनीहरुले आयोजना अघि बढाउन खोजे तर तर अवरोधले उनीहरुलार्इ पनि गाँज्यो।
 
स्थानीय वासिन्दासँग महिनौंको छलफलपछि सहमति जुट्यो, बल्ल उनीहरुले काम फेरि सुरु गरे। परियोजना अवधिमा एक पटक होइन पटक-पटक कहिले स्थानीयसँगको विवाद तथा कहिले कामदारसँगको विवादले परियोजनालाई धकेल्यो।
 
आयोजना क्षेत्रमा जति थौरै बस्ती भयो त्यति काम अघि बढाउन सहज हुन्छ। यो आयोजना क्षेत्रमा बस्ती कम भएकोले समेत काम द्रुत गतिमा अघि बढाउन सहयोग पुग्यो। विष्फोटक पदार्थ प्रयोग गर्दा केही घर स्थानान्तर नै गर्न पर्‍यो।
 
विष्फोटक पदार्थ प्रयोग गर्दा आवाज आएको भन्दै दुर्इ महिनासम्म निर्माण नै रोकियो। निर्माणको क्रममा स्थानीय राजनीतिक तहबाट हुने हस्तक्षेप पनि यो आयोजनाले व्योहोरेको छ।
 
स्थानीय राजनीतिक दलप्रति आयोजनाले कुनै सरोकार नराखेको भन्दै निर्माणमा अवरोध नभएको होइन तर यी सबै अवरोधलार्इ झेलेर निर्माणलार्इ कम्पनीले अनवरत रुपमा अघि बढायो जसले समयमै परियोजना सक्ने सम्भावना बढ्दैछ। परियोजना समयमै सक्ने चिनियाँ सुत्र हो काममा लागेपछि बिदा नलिने।

‘उनीहरु काम सुरु गरेपछि छुट्टी नै लिँदैनन्। महत्वपूर्ण चाडपर्वमा समेत उनीहरुले विदा लिँदैनन्,’ कम्युनिकेसन अफिसर अधिकारीले भने, ‘हामीले सधै बिदा खोजिरहेका हुन्छौ तर उनीहरु सधै काम मात्रै खोजिरहेका हुन्छन्।‘
 

प्रसारण लाइन बनाउँदै

जलविद्युत परियोजनामा प्रसारण लाइन बनाउने जिम्मेवारी पिपिए गरेको विद्युत प्राधिकरणसँग हुन्छ। यही आधारमा प्राधिकरणले धेरै आयोजनाको मुखसम्म प्रसारण लाइन बनाएको छ। तर माथिल्लो मस्याङ्ग्दी 'ए'मा भने फरक भयो।
 
परियोजनाले तोकिएको मितिभन्दा झण्डै एक वर्ष अघि काम सक्ने लक्ष्य साथ परियोजना अघि बढायो। तर, प्राधिकरणले भने तोकिएको समयमा प्रसारण लाइन बनाउने कुनै छाँटकाँट देखाएन। प्रसारण लाइनविना परियोजना सकेर पनि त्यसको अर्थ केही नहुने देखिएपछि कम्पनीले नै प्रसारण लाइन बनाउने प्रस्ताव गर्‍यो।
 
कम्पनीले आफ्नो विद्युत गृहदेखि मध्य मस्याङ्ग्दीको सब-स्टेसनसम्म २१ किलोमिटर लामो प्रसारण लाइन आफै बनाउँदैछ। यसका लागि मात्रै कम्पनीले २५ करोड रुपैयाँ अतिरिक्त खर्च गर्दैछ। १३२ केभिएको सिंगल सर्किटको यो प्रसारण लाइन बनाउनका लागि कम्पनीले सबै ठाउँमा बेस स्टेसन बनाइसकेको छ।
 
आगामी दुईदेखि तीन महिना भित्र यो प्रसारण लाइनमा पोलसँगै तार पनि टाँगिसक्ने योजना कम्पनीको छ। यसरी बनेको प्रसारण लाइन बिल्ड अपरेट ट्रान्सफर मोडलमा सम्पन्न हुने पनि कम्पनीले जानकारी दिएको छ।
 

कति ठूलो हो परियोजना

सुरुमा यो परियोजना १२ अर्ब रुपैयाँमा सक्ने लक्ष्यका साथ काम सुरु भएको थियो। तर निर्माण समय थपिएसँगै परियोजनाको लगानी पनि थपिएको छ। सिनो हाइड्रोकाअनुसार यो परियोजनाका लागि अब १६ अर्ब ४० करोडभन्दा बढी खर्च हुने भएको छ।
 
परियोजनामा ३० प्रतिशत स्वपुँजीबाट जुटाइएको छ भने बाँकी ७० प्रतिशत रकम ऋणबाट उठाइएको छ। यो परियोजनामा सिनो हाइड्रोको ९० प्रतिशत लगानी छ भने बाँकी १० प्रतिशत रकम चितवन कोइ समूहको छ।
 
यो परियोजना हालका लागि नेपालमा सञ्चालमा आएका दुई ठूला जलविद्युत आयोजना कालिगण्डकी ए तथा मध्य मस्याङ्ग्दीपछिको धेरै विद्युत उत्पादन गर्ने आयोजना हो।
 
आन्तरिक खपतका लागि निर्माण गरिएको रन अफ दि रिभर यो परियोजनाबाट वैशाखदेखि माघसम्म वर्षायाममा २६ करोड युनिट तथा पुसदेखि चैतसम्म हिउँदमा पाँच करोड ७० लाख युनिट विद्युत उत्पादन हुनेछ।
 
२०६७/६८ लाई व्यापारिक उत्पादनको आधार वर्षमान्दा विद्युत प्राधिकरणसँग यो परियोजनाको विद्युत प्रति युनिट खरिददर ५.९९५ रहने छ भने व्यापारिक उत्पादन भएको मिति २०७२/७३ मा ६.९५ सेन्ट पुग्नेछ।
 
अर्थात अहिलेको अमेरिकी डलरको विनिमय दरमा झण्डै साढे सात रुपैयाँ पुग्नेछ। यस आधारमा एक वर्षमा यो आयोजनाले दुई अर्ब ४० करोड रुपैयाँ हारहारीमा आम्दानी गर्नेछ। आयोजनाले आधार वर्षपछि प्रत्येक वर्ष तीन प्रतिशतका दरले १५ वर्षसम्म मूल्यवृद्धि पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell