चितवन : नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले अस्थिरताको राजनीति गर्न नहुने भन्दै तत्काल सरकारका नजाने बताएका छन्।
प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जिम्मेवार, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा काँग्रेस रहने बताए।
अस्थिर सरकारका कारण देशमा ७० वर्षसम्म विकास हुन नसकेको भन्दै उनले खाली मुखुन्डो फेरेर समस्याको समाधान नहुने हुँदा जिम्मेवार ढङ्गबाट सरकारले गरेका काममा काँग्रेसको समर्थन रहने बताए। काँग्रेस एकताबद्ध भएर राष्ट्रका समस्या निराकरणका लागि जुट्नुपर्ने उनले बताए।
काँग्रेस सरकारमा रहँदा तीन महिनामा सरकार ढालिन्छ भन्ने गैरजिम्मेवार कुरा उठ्ने गरेको भन्दै उनले जति धेरै अस्थिरता बढ्छ त्यति नै अतिवादी शक्ति सक्रिय हुने हुनाले स्थायी सरकार आवश्यक रहेको उनले बताए।
सरकारले गर्ने आर्थिक समृद्धिका लागि हुने राष्ट्रिय योजनाका काममा सरकारलाई काँग्रेसले पूर्ण समर्थन गर्ने भन्दै उनले त्यसका लागि न्यायोचित ढङ्गबाट काम गर्न सरकारलाई आग्रह गरे। न्यायोचित भएन भने सकारात्मक विरोध काँग्रेसको रहने बताउँदै उनले भने– “विकास र राष्ट्रिय योजनाका विरुद्धमा काँग्रेस कहिल्यै रहँदैन।”
अहिले पनि तराईको समस्या समाधान नभएको भन्दै उनले सरकारले गम्भीर ढङ्गबाट मधेसी समस्या समाधानका लागि बाटो खोज्नुपर्ने बताए। देशमा विद्यमान मधेसीलगायतका समस्या समाधानका लागि दुई तिहाइ बहुमत चाहिने र त्यसका लागि काँग्रेसको सहयोग चाहिने हुँदा सरकारलाई समस्या समाधानका लागि काँग्रेससँग मिल्नुको विकल्प नरहेको बताए।
फरक प्रसङ्गमा महामन्त्री कोइरालाले अब काँग्रेस एक भएर अघि बढ्ने बताए। पूर्वसभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाका बीचमा आफ्नै पहलमा तीनपटक वार्ता गराएको र सुशील कोइरालासँग देउवाको पटक पटक आफूले वार्ता गराएको भन्दै उनले अहिले पार्टीलाई एक ढिक्का बनाएर लैजाने कुरामा कुनै कसर बाँकी नराख्ने बताए।
कोइराला परिवारको देउवासँग पहिले पहिलेदेखि नै कतिपय समयमा निकै राम्रो सम्बन्ध रहेको प्रसङ्ग कोट्याउँदै उनले बेलायतमा रहेका देउवालाई गिरिजाप्रसाद कोइरालाले नै नेपाल बोलाएर गृहमन्त्री बनाएको बताए।
जात र थरको नभएर विचारको राजनीति हुनुपर्ने भन्दै उनले भने– “अब परिवार, रगतको नाता मात्रै होइन, विचारको नाता अर्थपूर्ण हुन्छ। बिपीको थर मात्र होइन, विचार अँगाल्न सक्नुपर्छ।” रासस
