PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

मुग्लिन नारायणगढ सडकमा अझै १८ महिनासम्म जाम! हेर्नुस् कसरी निर्माण हुँदैछ सडक

मुग्लिन नारायणगढ सडकमा अझै १८ महिनासम्म जाम! हेर्नुस् कसरी निर्माण हुँदैछ सडक


  • विज्ञान अधिकारी/ऋषिकेश दाहाल
चितवन। नारायणगढ–मुग्लिङ सडकखण्ड मुलुकको राजधानी जोड्ने लाइफलाइन। यो लाइफलाइन अहिले प्रत्येक दिन चार घण्टा बन्द हुन्छ त्यो पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म। बाटो बन्द भएसँगै यहाँ बाटो फराकिलो बनाउने अभियान सुरु हुन्छ। त्यो अभियानमा सबैभन्दा जटिल मेहनत पर्छ चट्टानी भिर फुटाएर सडकमा झार्नु।

एसियन हाइवे अन्तर्गत बाटो फराकिलो बनाउन यहाँ काम चलिरहेको छ। निर्माणलार्इ तीब्रता दिन दैनिक चार घण्टा बाटो बन्द गरिए पनि काम भने सुस्तै छ। खण्डखण्डमा कामदार परिचालन भए पनि बाटो नै बन्द गरेर काम गर्ने जनशक्ति यहाँ देखिँदैन।
 
समयभित्रै सकियो भने पनि यस बाटोको निर्माण सकिन अझै १८ महिना लाग्छ। त्यो अवधिसम्म यो बाटो भएर यात्रा तय गर्ने जोसुकैले पनि लामो समय ट्राफिक जाम भोग्न वाध्य हुनुपर्छ।
 
सन् २०१७ अप्रिलमा सक्नुपर्ने प्रावधानसहित निमार्ण कम्पनीहरुसँग सम्झौता भए पनि भूकम्प र नाकाबन्दीले निर्माण अवधि ६ महिना थप भइसकेको छ। नारायणगढ–मुग्लिङ सडक आयोजनाका चन्द्रनारायण यादवले भूकम्प र नाकाबन्दीका कारण निर्माण अवधि ६ महिना थप भइसकेको जानकारी दिए। समय थप्ने प्रकृया पूरा भए पनि यस सडक खण्डको निर्माणको गति पनि लक्ष्यको आधाभन्दा मुनितिर नै छ।
 
यतिखेर सडक विस्तारको१४ प्रतिशत मात्रै काम सकिएको छ जवकि यो समयमा ३५ प्रतिशत काम सकिनुपर्ने हो। निर्माणको ठेक्का पाएका कम्पनीले काम रोकेका छैनन् तर परिणाम हात पर्ने गरी काम पनि भएको छैन।
 
राजधानीको लाइफलाइन नै भए पनि त्यसको महत्वअनुसार काममा तिब्रता छैन। यस्ता आयोजनाहरु सिफ्टअनुसार काम हुनुपर्ने भए पनि यहाँको काम गराई परम्परागत नै छ। अझै पनि धेरै ठाउँको पहाडी चट्टान खोस्रनेबाहेक काम भएको छैन।
 
कतिपय ठाउँमा त चट्टान फुटाउने काम सुरु भएकै छैन। मुग्लिङ भन्दा १० किलोमिटर अगाडि बाटोमा चट्टान फोर्न थालेको तीन महिना भइसक्यो। यो अविधि १० मिटरमात्रै खोस्रिएको छ।
 
मुग्लिन नजिकैको साँघुरो पुलसँग जोडिएको चट्टानी पहाड खोस्रेर बाटो फराकिलो आयोजनाको सबैभन्दा ठूलो चुनौती हो जुन निर्माण कम्पनीले थालेकै छैन।

यादवले चार घण्टा बाटो बन्द भए पनि डाँडो काट्ने काम दुर्इ घन्टा हुने र बाँकी समय झारेको ढुंगा हटाउँदैमा समय वित्ने गरेको बताए। उनका अनुसार इमरजेन्सी सेवाका सवारी साधनलार्इ निर्वाध रुपमा चल्न दिइएकाले पनि काममा अवरोध हुने गरेको छ।
 
यादवका अनुसार निर्माण कम्पनीले थप समय माग्न सक्छन् र अझै धेरै समय बाटो बन्द हुनसक्छ। उनका अनुसार केही समयपछि वाल लगाएर पनि काम गर्न सकिनेछ तर अहिले चट्टान फोर्ने काम नै चुनौतीपूर्ण छ। उनले चट्टान फोर्न बिस्फोटक पदार्थ प्रयोग गर्न नसकिने बताउँदै विस्फोटक पदार्थ प्रयोग गर्दा अझै समय लम्बिने तर्क गरे।

'विष्फोटक पदार्थ प्रयोग गर्दा सेनालार्इ राख्नुपर्छ। यसले आयोजनाको समय अवधि लम्बिनसक्छ,’उनले बिजमाण्डूसँग भने, 'विष्फोटक पदार्थ प्रयोगले बाटोमा धेरै क्षति भएर अझै समस्या आउन सक्छ।'
 
उनले बन्द, हड्ताल नभए थपिएको अवधिमा बाटो निर्माण सकिने बताउँदै बन्द, हड्ताल भए बाटो निर्माणको अवधि अझै लम्बिन सक्ने बताए। यो सडक खण्डको तीन ठाउँमा तीन वटा ठेकेदारले ठेक्का पाएका छन्।आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का पाएका छन्। कालिखोलादेखि मुग्लिनसम्म र सेतीदोभान र घुमाउनेमा पहाड फोरेर बाटो चौडा गर्नुपर्ने हुन्छ। सो क्षेत्रमा हाल पाँच मिटर चौडा पिच बाटो रहेको छ।
 
सो क्षेत्रमा नौ मिटर फराकिलो पिच सडक निर्माण हुनेछ। सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण हुनेछ।
 
विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा सडक निर्माण थालिएको हो। चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो।
 

हेर्नुस् फोटोहरु



ट्रेन्डिङ पोस्ट

Ncell