PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​तत्काल ग्याँस र तेलको भाउ घटाउन प्रधानमन्त्रीको निर्देशन



​तत्काल ग्याँस र तेलको भाउ घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई खाना पकाउने (एलपी) ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्।

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारल ६२ अमेरिकी डलरमा झर्दा पनि नेपालमा त्यही अनुपातमा मूल्य नघटेको प्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन्।

'जनतालाई राहत दिन मूल्य घटाई हाल्नुस्', प्रधानमन्त्री कोइरालाको भनाई उदृत गर्दै प्रमुख आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले पहिलोपोस्टसँग भने।  

वाणिज्य तथा आपूर्ति मन्त्री थापाले प्रक्रिया मिलाएर सक्दो चाँडो मूल्य घटाउने बताएका थिए।

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य सामान्य घटाए पनि ग्याँसको मूल्य छोएको थिएन।

प्रधानमन्त्रीले खाना पकाउने ग्याँसको पनि मूल्य घटाउन निर्देशन दिएका हुन्।

अन्तर्राष्ट्रिय बजारमा अहिले पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल ६२ दशमवल ७५ डलरमा शुक्रबार कारोबार भएको थियो।

अहिले निगमलाई करसहित सबै खर्च कटाएर पेट्रोलमा प्रति लिटर ११ रुपैयाँ २४ पैसा, डिजेलमा १ रुपैयाँ ५ पैसा, मट्टितेलमा १७ रुपैयाँ ६४ पैसा, हवाई इन्धनमा (आन्तरिक तर्फ) ५० रुपैयाँ ६० पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रियमा) ६४ रुपैयाँ १० पैसा नाफा छ।

तर एलपी ग्याँसमा भने २ सय ९० रुपैँया ६१ पैसा प्रति सिलिण्डर घाटा छ।

आयल निगमले डिसेम्बर १ मा तोकेको पछिल्लो भाउ अनुसार अहिले ५१ करोड २३ लाख नाफा गर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell