PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पोलिटब्युरो सदस्य चयनको विषयलाई लिएर एमालेमा किचलो कायमै



पोलिटब्युरो सदस्य चयनको विषयलाई लिएर एमालेमा किचलो कायमै

मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौ: नेकपा एमालेमा पोलिटब्युरो सदस्य चयनको विवाद बढेर गएको छ। शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले विवाद समाधानको जिम्मा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई दिए पनि विवाद सुल्झने नदेखिएको हो। 
 
एमालेमा ५४ सदस्यीय पोलिटब्युरो समिति चयनमा किचलो रहँदै आएको छ। यीमध्ये २३ जना पूर्ण र १६ जना वैकल्पिक केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ। पदाधिकारी १४ जना स्वत: पोलिटब्युरो सदस्य हुनेछन्।
 

के हो विवाद?

एमालेमा निर्वाचित हुने ३९ जना पोलिटब्युरोका लागि आकांक्षी धेरै छन्। तर, पोलिटब्युरो सदस्य बन्न एक कार्यकाल केन्द्रीय सदस्य बन्नैपर्ने प्रावधान महाधिवेशनबाट पारित भएको थियो।
 
महाधिवेशनबाट पारित विधानमा पोलिटब्युरो सदस्य बन्नका लागि एक कार्यकाल केन्द्रीय  सदस्य बन्नुपर्ने प्रावधान छ। विवादको चुरो यही प्रावधानले खडा गरेको हो। माधवकुमार नेपाल पक्षले नवौँ महाधिवेशनबाट पारित विधानमा 'पूर्ण केन्द्रीय सदस्य भएकाले मात्र पोलिटब्युरो सदस्य बन्न पाउने प्रावधान' मा सहमित भएको तर विधान छाप्दा केन्द्रीय सदस्यको प्रावधान राखेर ओली पक्षले 'बेइमानी' गरेको आरोप लगाएका थिए। जसका कारण एमालेमा पोलिटब्युरो सदस्य चयनमा ढिलाइ भएको हो।
 
विधानमा विवाद भएपछि उपाध्यक्ष भीम रावल र महासचिव इश्वर पोखरेलले त्यतिबेलाका अडियो सुनेर विवाद सुल्झाएका छन्। अब पूर्ण वा वैकल्पिक जे भए पनि एकबर्ष कार्यकाल केन्द्रीय सदस्य भएकाहरु पोलिटब्युरो सदस्य बन्न बाटो खुलेको छ।
 
तर, आकांक्षी व्यवस्थापन र दुवैपक्षका नेताहरुलाई पोलिटब्युरो समितिमा समेट्न एमाले भित्र कठिनाइ उत्पन्न भएको छ।
 
शुक्रबार बसेको एमाले पदाधिकारी बैठकले पोलिटब्युरो चयनको जिम्मा अध्यक्ष ओली र बरिष्ट नेता माधवकुमार नेपाललाई दिएको छ।
 
अध्यक्ष ओली पक्ष पोलिटब्युरो सदस्यमा विवाद नमिले मतदानमा जानुपर्ने पक्षमा छ। तर नेपाल पक्ष मतदानमा गए कोही पनि उम्मेद्वार खडा नगर्ने र मतदानमा पनि सहभागी नहुने तयारीमा छ।
 
नेता नेपाल पक्षका सचिव योगेश भट्टराईले मतदानमा जाने अवस्था आए आफुहरु सहभागी नहुने बताए।

ओलीपक्षका नेताहरु भने सहमति नहुने लगभग निश्चित भएको तर्क गर्छन्। 'सहमति होला जस्तो मलाइ लाग्दैन,' ओली पक्षका एक नेताले भने।
 
एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी विगतमा पार्टीको नेतृत्व गरेका हिसाबले नेता नेपालले ओलीलाई नेतृत्व गर्दा उत्पन्न हुने अफ्ठेरामा सहयोग गर्नुपर्ने तर्क गर्छन्।
 
'विगतमा नेतृत्व गर्नु भएको माधव कमरेडले अध्यक्ष ओलीलाई सहयोग गर्नुपर्छ र विगतमा प्रतिपक्ष जस्तो देखिनु भएका ओलीले अहिले नेता नेपालको अवस्था बुझेर काम गर्नुपर्छ,' अधिकारीले भने।
 

स्थायी समितिमा पोखरेल र पाण्डे लगभग निश्चित

एमालेको १८ सदस्यीय स्थायी समितिमा भने दुई जनामात्र निर्वाचित गर्न बाँकी छ। जसमा उप महासचिवमा पराजित भएका शंकर पोखरेल र महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डेलाई ल्याउन दुवै नेता सकरात्मक छन्। पोखेरेल ओली प्यानलबाट उपमहासचिवमा लडेका थिए भने पाण्डे माधव नेपाल प्यानलबाट महासचिवको उम्मेद्वार थिए।  
 

निर्वाचन प्रक्रिया प्रारम्भ
सहमतिको प्रयास जारी रहे पनि एमालेले पोलिटब्युरो र स्थायी समिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। शुक्रबार मतदानमा सहभागी हुने १ सय १७ केन्द्रीय सदस्यको नामावली प्रकाशन गरिएको निर्वाचन समितिका अध्यक्ष सोमनाथ प्यासीले बताए।

'भोलि बिहान ८ बजेपछि मात्र हामी निर्वाचन प्रक्रिया प्रारम्भ गर्छौ,प्यासीले भने, 'नेताहरुले कुराकानीलाई निरन्तरता दिइरहनु भएको छसहमति हुन्छ कि पर्खौ भनेर भोलि बिहानका लागि राखिएको हो।'
 
मनोनयनपत्र दर्तादाबी विरोधफिर्ता र अन्तिम नामावली प्रकाशन भई निर्वाचन प्रक्रिया अगाडि बढ्ने प्यासीले बताए।
 
मतदानमा गएमा एमालेका १ सय १७ पूर्ण केन्द्रीय सदस्यले मतदान गर्न पाउनेछन्।
 
नवौँ राष्ट्रिय महाधिवेशनले पार्टीको नेतृत्वमा समावेशीकरणसहित एक सय ५९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव पारित गरेको थियो। जसमा वरिष्ठ नेता झलनाथ खनाल  तथा केन्द्रीय अनुशासन आयोग र सल्लाहकार परिषद्का अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ।
 
एमाले केन्द्रीय कमिटी बैठक भोलि दिउँसो १२ बजेका लागि डाकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell