
- अज्ञात लुइँटेल-

* * *
'रक्सी खान्छस् केटा?' साहुले सोधे। उनी र गुरुजी दुवैलाई थाहा थियो, मैले रक्सी खान्न। साहुजीले सोध्दा अचम्म लाग्यो। एकछिन पछि ६० को गुरुजी पनि मोबिल दलेको जस्तो कालो अनुहार लिएर भट्टी छिरे। केही नबोली बसे। जतिबेला पनि हाँसिराख्नुपर्ने यी गुरुजी केही नबोलेको देख्दा ठूलै घटना घटेको जस्तो लाग्यो।बिस्तारै अरु गुरुजी र साहुहरु पनि भट्टी छिरे। ठूलो साहुजी आएकोले म उठ्नुपर्यो। म मेरै गुरुजीको कुर्सी पछाडि उभिइराखेँ। सबैको अनुहार नुन खाएको कुखुराको जस्तो थियो। तर भएको के हो, कसैले मुख खोलेन। सबै झोक्राएर बसिराखे। यस्तो त आजसम्म कहिल्यै भएको थिएन।
* * *
'हामीले चै आफ्ना छोराछोरी पाल्नुपर्दैन?' साहुजी जङ्गिए। ठुलो साहुजीले हातबाट पत्रिका फ्यात्त फाले। मैले यसो चिहाएर हेरेँ, नयाँ गाडीको फोटो देखिएको थियो। पक्कै पनि गाडीको मामिलामा केही भएको हुनुपर्छ, मैले लख काटेँ। ४८ को खलासी पर बसेर तोङ्वा तान्दै थियो। त्यसको टेबुलमा ३४ को जगल्टे, ग्यारेजमा काम गर्ने काले, अनि अरु माइक्रोका केटाहरू पनि थिए। दिनभरी माइक्रो र हाम्रो ठूलो बसको झगडा परेपनि साँझमा यहाँ सँगै हुन्थ्यौं।'सरकारले ल्याङ गर्यो नि यार।' ४८ को खलासीले मलाई हेर्दै भन्यो। त्यसको र मेरो कुरा मिल्थ्यो। त्यो मेरो बेस्ट फ्रेण्ड थियो। म गुरुजीहरुको टेबुल छाडेर केटाहरूको टेबुलतिर गइसकेको थिएँ।
* * *
'त्यो गिलास र प्लेट छिटो ले' संसारकै सबैभन्दा नमिठो स्वरले मलाई अह्रायो। मैले हतार हतार पानी चुहाउँदै गिलास पुर्याएँ। आमाको कुटाइ खाएर घर छोडेपछि मैले होटेलमा काम गर्न थालेको थिएँ। होटलमा काम गर्दा पैसा नभएपनि खानबस्नको टेन्सन हुँदैन। आमालाई भेट्न कहिलेकाहीँ सुकुम्बासी बस्तीमा पुग्थेँ। आमा रुन्थिन्, अनि बहिनी पनि सँगसँगै रुन्थी। छोरो मान्छे भएर आँसु झार्न हुँदैन, मलाई होटेलको साहुले एकदिन भनेको थियो। त्यसैले म रुन्नथेँ।'म धेरै पैसा कमाएर तपाईंलाई यहाँबाट लैजान्छु' मैले थुकले घाँटी भिजाउदै आमालाई भनेँ। बहिनीलाई होटेलबाट पोको पारेर ल्याएको समोसा दिएँ। महिना दिनमा एकचोटी म आमालाई सुकुम्बासी बस्तीमा भेट्न जान्थेँ, पैसा नभए पनि खानेकुरा दिएर फर्किन्थेँ।
* * *
'अब हामीले फेरि ग्यारेजको कालो मोसोमा घोटिनुपर्छ, कि गिलास माझ्नुपर्छ।' तोङ्वामा पानी हाल्दै ४८ को साथी बोल्दा मैले पुराना दिनहरु सम्झिएँ। मन अमिलो भयो। अरु केटाहरू पनि वाल्ल परेर त्यसैलाई हेरिराखे।'खासमा भाको चै के हो?' मैले मुलाको टुक्रा खेलाउँदै सोधेँ। ४८ ले स्वाट्ट एकचोटी तोङ्बा तान्यो अनि सुरु गर्यो कहानी।
'सरकारले ल्याङ गर्यो। अर्को समितिलाई नयाँ बस हाल्न दिएछ। अब नयाँ बस हुँदाहुँदै हाम्रो बसमा को चढ्छ, तँ आफै भन् त। पहिले पहिले प्यासेन्जर तेरोमा चढेपनि मेरोमा चढेपनि आफ्नै साथीले खाओस् जस्तो हुन्थ्यो। अब हेर्दाहेर्दै अर्कैले हाम्रो गाँस खोस्ने भयो। खासमा यो सबै सरकारले गर्दा भ'को हो। सरकारले ल्याङ गर्यो यार।' केटोले एक थोप्पो नबिसाई यत्ति भन्यो अनि फेरि तोङ्वामै घोरियो। ४८ को गुरुजी पहिला राजनीति गर्थे रे, माओवादी जंगल गएपछि उनी शहर छिरेर ड्राइभर बने। उनकै सङ्गतले मेरो साथीले पनि बातैपिच्छे सरकारलाई सराप्न सिकेको थियो।
* * *
त्यो दिन पनि सौतेनी बाउले आमालाई लात्ती लात्तीले कुट्दै थियो। मलाइ खुब रिस उठ्यो। पछाडिबाट बन्चरोको बिँडले टाउकोमा बजाइदिएँ। उसै त रक्सीको मातले हल्लिइराखेको बाउ, टाउकोमा बन्चरोले लागेपछि त्यहीँ ढल्यो। आमा डराएर दुई वर्षकी बहिनी र मलाई काखी च्यापेर काठमाडौं आइपुगिन्।काठमाडौंमा आमा बहिनीलाई लिएर गलैंचा कारखानामा काम गर्न जान थालिन्। म टोलका केटाकेटीको पछि लागेर बटुवाहरुसँग पैसा माग्थेँ। आमाले खै कताबाट थाहा पाइछिन्, त्यो दिन मलाई मलाई बेस्सरी कुटिन्। अनि आफै रुन थालिन्। आमालाई बाउले त रुवाउथे रुवाउथे, आज मैले पनि रुवाएँ। मलाई नराम्रो लाग्यो। मैले फेरि घर छोडेँ, अनि बनेँ गाडीको खलासी।
* * *
'आजसम्म एकैचोटीमा कति पैसा बोकेको छन्?' मलाई गुरुजीले पहिलो पटक सोधेको प्रश्न यही थियो। म अकमकिएँ, कति भन्नु भन्नु भयो। म अकमकिएको देखेर गुरुजीले चियाको अन्तिम घुट्को स्वाट्ट पारे। आइज भन्दै जुरुक्क उठे। मैले उनलाई पछ्याएँ।अलिबेर हिडेपछि ग्यारेज पुगियो। बेला बेलामा चिया पुर्याउन जाने हुनाले त्यहाँ काम गर्ने सबैलाई चिन्थेँ। मलाई गुरुजीसँग देखेर होला कालेले यत्रो आँखिभौं पार्दै मलाई हेर्यो, तर केही बोलेन।
'ओई केटा, आज दिनभरी यो नयाँलाई तँ सँग लिएर हिड त। अनि सप्पै काम सिकाइदे। भोलि म दक्षिणकाली जान्छु, त्यसैले गाडी निकाल्दिन। पर्सीबाट यो मसँग हिँड्छ।' एउटा म जत्रै उमेरको केटालाई बोलाएर गुरुजीले भने।
केटोले ङिच्च हाँस्दै हस् भन्यो। पछि थाहा पाएँ, त्यो ४८ को खलासी रैछ। हामी उत्रै उत्रै भएपनि उसले निकै अगाडिदेखि काम गर्न थालेकोले म भन्दा सिपालु थियो।
* * *
'घरखेत बेचेर आफ्नै केही गरौं न त भनेर गाडीमा पैसा हालियो, तर यसबाट पनि केही होलाजस्तो देखिएन' ३४ को साहुजीले ठुलो खुइय्य गर्यो। यी साहुजीको एउटा मात्रै गाडी थियो, आफै ड्राइभर थिए। सबैभन्दा बढी गाडी हुने चाहिँ ठुलो साहुजी नै थिए। हाम्रो साहुजीको तीनवटा गाडी थियो। एउटा ४८, अर्को ३४ अनि अर्को मैले काम गर्ने ५५।सबैजनाको त्यस्तो कुरा सुनेपछि मलाई त्यो नयाँ गाडीसँग रिस उठ्न थाल्यो। त्यत्रो नाकाबन्दी हुँदा पनि साहुजीहरुलाई त्यति धेरै टेन्सनमा देखेको थिइन मैले। कता कता बाहिरको अर्को मान्छे आएर हाम्रो गाँस खोस्न खोजेजस्तो लाग्यो। नयाँ गाडीले हाम्रो उठिबास लगाउछन्, मैले यस्तै बुझेँ।
* * *
'दाइ, यो कार्ड त एक्स्पायर भइसक्यो।' ४८ ले हरियो लुगा लगाउने मान्छेलाई भन्यो। त्यो मान्छेको अनुहार पनि उसकै लुगाजस्तो हरियो भयो। खै किन हो त्यसले १० को नोट दिएर ३ रुपैयाँ फिर्ता पनि नलिई गयो।आज दोस्रो दिन म ४८ सँग गाडीमा हिँड्दै थिए, खलासी काम सिक्दै थिएँ। भोलिबाट त आफुले एक्लै हिँड्नुपर्थ्यो। ४८ ले मलाई कहाँदेखि कहाँसम्मको भाडा कति, आइडी कार्ड कसरी हेर्ने, मान्छेहरुलाई १-२ रुपैयाँ कसरी ठग्ने, भीड हुँदा कसरी धेरै मान्छे अटाउने सबै सिकायो। तर त्यति सबै एकैचोटी सिक्न गाह्रो हुँदो रहेछ। ४८ को नाम जे भएपनि आजसम्म उसलाई मैले नाम तोकेर बोलाइन। उसले मलाई ५५ भन्थ्यो, म उसलाई ४८।
'काठमान्डू फिरीमा घुम्न पाइन्छ। उस्तै ताल परे तरुनीहरुसँग टाँसिन पनि पाइन्छ। बेलुका काम सक्किएपछि पैसा नि पाइन्छ। खलासी काम भनेको सबैभन्दा राम्रो काम हो। बुझिस?' ४८ ले मलाई यस्तै यस्तै नयाँ कुराहरू भनिराख्थ्यो।
'आजको खलासी भोलिको ड्राइभर हो। आजको ड्राइभर भोलिको गाडी साहुँ हो। यति कुरा याद राखेस्।'
* * *
'नयाँ गाडीलाई हाम्रै रुटमा किन हाल्न दिएको? सरकारले नै ल्याङ गर्यो के।' ४८ को गुरुजीले भने। कोही बोलेनन्।हाम्रो गुरुजीले ऋण खोजेर भएपनि ५५ नम्बरको गाडी किन्न खोज्दैछन् भनेर मलाई थाहा थियो। त्यसैले उता गाउँको जग्गा पनि बेचेर आएका थिए। अब यो नयाँ वर्षमा गाडी किन्ने लगभग पक्का नै थियो। तर, अब किनेपनि त्यो रुटमा गाडी नचल्ने जस्तो भइसकेको रैछ।
मैले ३ घण्टा भट्टीमा बसेर सबैको कुरा सुनेर सबैको टेन्सन त्यही नयाँ गाडीले गर्दा भएको बुझेँ।