काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले धर्मपुत्रका रुपमा पालेका नेपालका जितबहादुर सारुमगरलाई उनका परिवारको जिम्मा लगाउने भएका छन्।
नेपाल भ्रमणको पूर्वसन्ध्यामा आफ्नो फेसबुक पेज तथा ट्विटर अकाउन्टमा मोदीले लेखेका छन्- ‘मलाई निकै खुसी लागेको छ किनकी भोलि म आफै उनीहरुलाई उनीहरुको छोरा सुम्पने छु।‘
नवलपरासीको कावासोती-१ का जितबहादुर सारुमगर (२७) मोदीको संरक्षणमा भारतमा छन्।
मोदीले ट्विटरमा आफ्नो नेपाल भ्रमण केही व्यक्तिगत भावनासँग पनि जोडिएको लेखेका छन्। ‘धेरै वर्ष पहिला मैले एउटा सानो बालक जितबहादुरलाई असहाय अवस्थामा भेटेको थिएँ’, मोदीले लेखेका छन्, ‘कहाँ जाने के गर्ने उसलाई केहीपनि थाहा थिएन।‘
मोदीले लेखेका छन्- ‘उ कसैलाई पनि चिन्दैनथ्यो। भाषा पनि राम्रोसँग बुझ्दैनथ्यो।‘
ईश्वरको प्रेरणाले आफूले जितबहादुरको जीवनको बारेमा चिन्ता गर्न थालेको मोदीले जनाएका छन्। ‘बिस्तारै बिस्तारै उसले पढाइमा रुची देखायो। खेलकूदमा रुची देखायो। गुजाराती भाषा पनि सिक्यो‘, जितबहादुरका बारेमा मोदीले ट्विटरमा लेखेका छन्।
१० वर्षको उमेरमा काम खोज्दै भारत हिँडेका जितबहादुरले मोदीको साथ पाए र उतै बसे। उनलाई आफ्नो परिवारका बारेमा जानकारी थिएन।
उनले मोदीसँग आफ्नो घर-परिवारका बारेमा धेरैपटक कुराकानी गरेपछि मोदीले परिवारसँग पुनःमिलन गराइदिने वचन जितबहादुरलाई दिएका थिए। मोदीकै प्रयासमा जितबहादुर पहिलोपटक २०६८ असारमा आफ्नो परिवारलाई भेट्न सफल भएका थिए।
‘केही समयपहिला म उसका मातापितालाई खोज्न सफल भएँ। यो पनि निकै थियो’, उनले लेखेका छन्, ‘यो यसकारण सम्भव भयो किनकी जितबहादुरको गोडामा ६ वटा औँला छन्।‘
यसरी लाग्यो परिवारको पत्तो
नेपाल साप्ताहिकका अनुसार अढाई वर्षअघि गुजरातका मुख्यमन्त्री रहेका मोदी नेपाल उद्योग परसिंघ (सीएनआई)को निम्तोमा नेपाल आउने कार्यक्रम बनेको थियो। यद्यपि, पछि उनको त्यो कार्यक्रम रद्द हुन पुग्यो।
उक्त कार्यक्रम बन्ने बेलामा नै मोदीले नेपाल उद्योग परसिंघ (सीएनआई)का तत्कालीन अध्यक्ष एवं उद्योगपति विनोद चौधरीलाई जितबहादुरको परिवार पत्ता लगाइदिन अनुरोध गरसिकेका थिए। र, चौधरीकै सहयोगमा उनको परिवर पत्ता लागेको र पुनःमिलन सम्भव भएको थियो।
तत्कालीन मुख्यमन्त्री मोदीका निजी सचिवले 'जितबहादुरको घर नवलपरासीमा पर्छ र उसले सानो छँदा चोरमारा भन्थ्यो' भनेका आधारमा विनोद चौधरीका कर्मचारी रामचन्द्र धितालले चोरमाराबाट उनको परिवारको खोजी सुरु गरेका थिए। गाउँमा खुट्टाका औँला जोडिएका र हाँस्दा गालामा खाल्टा पर्ने जितबहादुरको कुरा गर्नासाथ उनका बालसखा र गाउँलेहरूले उनी हराएको कुरा सम्झिए। त्यहीँबाट उनको परिवारका बारेमा पत्तो लागेको थियो।
