PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुनकोसी विपत्तिको ट्विटर रिपोर्टिङ



सुनकोसी विपत्तिको ट्विटर रिपोर्टिङ
सानीमा हाइड्रोको डुबेको पावर हाउस।

कपिल धिताल-
म रिपोर्टर होइन। पेशाले म इन्जिनिएर हुँ। आजचाहिँ म मिडियाको रिपोर्टर जस्तै भएँ। आज बिहानैदेखि मैले देखेजति र सम्भव भएजति फोटो खिचेँ र क्रमशः ट्विटरमा अपलोड गरेँ।
 
मैले खिचेका फोटा आज धेरै मिडियाका लागि आधिकारीक भए। साथीहरूले मलाई धन्यवाद दिइरहनु भएको छ। मैले त सामाजिक सञ्जालबाट आफुले सकेसम्म ताजा जानकारी दिने प्रयास मात्र गरेको हुँ। उनीहरुको पहुँच नहुन्जेलसम्म उनीहरुले मूलधारका मिडियाले मेरा ट्विटलाई समाचार पनि बनाए। आज दिनभर छिनछिनमा फोन आइरह्‍यो। टेलिभिजनहरुले कुरा गर्न भन्छन्।
 

म अहिले घटनास्थलमै छु। पहिरो गएका क्षेत्रका घर बगेका छन्। सेनाले अहिले डुंगाबाट पनि उद्दार कार्य गरिरहेको छ। बाढीग्रस्त क्षेत्रमा सानिमा हाइड्रोको २ मेगावाटको प्रोजेक्ट पनि परेको छ। त्यो अहिले पूर्णरूपमा डुबिसकेको छ। मैले खिचेका फोटामा त्यो स्पष्टै देखिन्छ।
 
बाढीग्रस्त क्षेत्रमा कति मानवीय क्षति भएको छ भनेर अनुमान गर्न सकिन्नँ। यसको आधिकारिक तथ्यांक सुरक्षा निकायले देला।
 
पहिरोको शंका हिजै थियो
म साथीहरुसँग हिजो मात्रै जुरे घुम्न गएको थिएँ। त्यहाँ चिरा परेको देखिन्थ्यो। कुनैपनि बेला पहिरो जानसक्ने अवस्था हिजो हेर्दा नै देखिन्थ्यो। हामीले एभेन्युज टेलिभिजनका पत्रकारसँग हिजो कुरा पनि गरेका थियौं, यो ढिलोचाँडो खस्छ भनेर।
  नभन्दै पहिरो शनिबार बिहान दुई बजेतिरै गएछ। मैले बिहान साढे पाँच बजेतिरमात्र थाहा पाएँ। फोन आएको थियो, जुरेमा पहिरो गएको भनेर। फोनमा खबर सुन्ने बित्तिकै हामी केही साथीहरू घटनास्थलतिर लाग्यौं। मुख्य सडक बन्द गरिसकिएको थियो। त्यसैले हामी वैकल्पिक बाटो हुँदै त्यता लाग्यौं।
 
घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेका थिए। नदी ठप्पै थुनिएको थियो। ड्याम नै बनाएजस्तो मानिस वारपार गर्नसकिने अवस्थामा थियो कोसी। यस्तो अवस्थामा सुरक्षानिकाय तथा हामी सबै कन्फ्युजमा थियौँ, के गर्ने भनेर। हामीसँगको कुरामा नेपाली सेनाका मेजरले पनि ब्लास्टिङमात्र विकल्प भएको बताउनुभएको थियो। हामीले देख्दा पनि विकल्प त्यही एउटा थियो।
 
विष्फोट दुईथरीको हुन्छ, एउटा माथिबाटै ब्लास्ट गर्ने र अर्कोचाहिँ ग्राउण्डबाट ब्लाष्ट गरेर साइडबाट थोरै थोरै पानी बग्ने बनाउने। मेजरले विस्फोट गर्ने कानुनी प्रक्रिया सुरु गर्नुभयो सायद। म चाहिँ आधाआधा घण्टामा त्यता जाँदै फोटो खिच्दै ट्विटर फेसबुकमा अपडेट गरिरहेँ। नेपाली सेनाले ब्लास्ट गरेर अहिले पानी खोलेको छ।
 
नेपाली सेनाका मेजरसँग कुरा गर्दा उहाँले अब नआत्तिन भन्नुभएको छ। पानी बग्न सुरु गरिसकेको अवस्थामा केही राहत महसुस गर्न चाहिँ सकिन्छ।
 
‘अपस्ट्रिम’ मा अब रिस्क कम भएको छ तर ‘डाउनस्ट्रिम’ को खतरा चाहिँ झन् बढेको छ। पानी खोलिइसकेको अवस्थामा त्यो पानी कसरी बग्छ भनेर भन्न सकिँदैन। पानी बिस्तारै खोलियो भने ठीकै होला तर त्यो त भन्नै सकिँदैन। एकैचोटी ह्वात्तै नि खोलिन सक्छ। नदी थुनिएकोभन्दा तल्लो भागमा धेरै रिसोर्ट छन् र ती खोला कै किनारमा छन्। पानी ह्वात्तै खोलिएमा ती रिसोर्ट त जान्छन् नै साथमा सुनकोसी हाइड्रोको १० मेगावाटको प्रोजेक्ट, लामाचौर र खाडीचौर बच्ने सम्भावना कम देखिन्छ।
 
(धिताल मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका इन्जिनियर हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell