- पहिलोपोस्ट-
यो प्रश्नको जबाफ खोज्ने प्रयास गरेको छ पत्रकार नेत्र पन्थीद्वारा लिखित पुस्तक 'डिभोर्स' ले। १० वर्षको जनयुद्ध र १० वर्ष संविधान निर्माणको रस्साकस्सीमा सँगसँगै रहेका उनीहरुको बाटो अचानक कसरी परिवर्तन भयो? संविधान सभाबाट नयाँ संविधान जारी भएको एक हप्ता पनि नपुग्दै 'डिभोर्स' गर्न उनीहरुलाई के कुराले प्रेरित गर्यो? २१ शीर्षकमा विभाजित ३६१ पृष्ठको पुस्तकले प्रचण्ड र बाबुरामको राजनीतिक सम्बन्धविच्छेदको कथा भन्ने प्रयास गरेको छ। दुई नेतामा केन्द्रित भए पनि पुस्तकले माओवादी आन्दोलनको उत्थान र विभाजनको कथा त्यसमा अन्य नेताकव भूमिकाका बारेमा पनि प्रस्ट्याउने प्रयास गरेको छ। "प्रचण्ड र बाबुरामले नेतृत्व गरेको युद्धले जुजबेला देश-विदेशमा असाधारण चर्चा पाइरहेको हुन्थ्यो, त्यही बेला उनीरु भारतको कुनै ठाउँ वा नेपालको कुनै गाउँमा अत्यन्तै साधारण विषयमा पनि झगडा गरिरहेका हुन्थे। कहिले एक अर्कालाई राजनीतिक रुपमै समाप्त पार्न औँला ठड्याउँथे, कहिले आपसमा विलिन भएको भन्दै रुँदै अङ्कमाल गर्थे। उनीहरु कहिले मिलेर दरबार, शाही सेना र भारत सबैभन्दा ठूला दुस्मन हुन् भन्दै रणनीति बनाउँथे, कहिले त्यो भन्दा ठूला दुस्मन त आफूभित्रै छन् भनेर गद्दारसमेत घोषणा गर्थे।"
उपप्रधान तथा उर्जा मन्त्रीसमेत रहेका एमाओवादी सचिव टोपबादुर रायमाझी, नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता पम्फा भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नयाँ शक्ति नेपालका सङ्गठन विभाग प्रमुख देवेन्द्र पौडेलले मंगलबार पुस्तक संयुक्त रुपमा विमोचन गरे।
'डिभोर्स' नामको पुस्तकमा उपशीर्षक राखिएको छ 'प्रचण्ड र बाबुरामको'। 'रक्त रञ्जित युद्ध-सारथिका अन्तरङ्ग कथा' का रुपमा लेखक पन्थीले पुस्तकलाई पाठकमाझ प्रस्तुत गरेका छन्। पन्थीका 'माओवादीभित्रका अन्तरसंघर्ष' (२०६९) तथा 'जनयुद्धमा प्रेम र यौन' (२०६६) प्रकाशित छन्। उनले 'पर्खाइका चार वर्ष' (२०६४), संघर्षका तीन दशक' (२०६५), 'जंगलमा रेडियो' (२०६५) र 'गुरिल्ला कपल' (२०६८) डकुमेन्ट्रीको निर्माण तथा निर्देशन गरेका छन्।
चार सय २५ रुपैयाँको पुस्तक वाकिङ वरेन्ज प्रकाशनले बजारमा ल्याएको हो।
