PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एटिएमको पिनकोड चोर्दै करोडौँ ठग्ने 'मोस्ट वान्टेड' डंगोल प्रहरी फन्दामा



एटिएमको पिनकोड चोर्दै करोडौँ ठग्ने 'मोस्ट वान्टेड' डंगोल प्रहरी फन्दामा

काठमाडौँ : हिमालयन बैंकको कार्डबाट पाँच करोड ७५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले मोस्ट वान्टेड सूचीमा राखी खोजी गरिरहेका अनिषभक्त सुवाल डंगोललाई प्रहरी फन्दामा परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई नेपालगञ्जबाट पक्राउ गरेको हो।

आज अपराह्न ३ बजे प्रहरीले उनलाई सार्वजनिक गर्दैछ।

हिमालयन बैंकको केन्द्रीय कार्यालयमा सहायक प्रबन्धकको रुपमा कार्ड सिस्टममा काम गरेका उनले सो बैंकको एटिएम कार्ड प्रयोग गरी विभिन्न व्यक्तिको खाताबाट पटक–पटक गरी पाँच करोड ७५ लाख ६८ हजार १०३ रुपैयाँ निकालेको प्रहरी अनुसन्धानले देखाएको छ।

उनी लामो समयदेखि भारतमा लुकेर बसेको अनुमान गरिएको थियो।

ग्राहकको एटिएमको पिनकोड चोरी गरी नयाँदिल्ली पुगेका उनले त्यहाँ पनि नक्कली एटिएम कार्ड बनाई हिमालयन बैंकको सिस्टममा रहेका एनआईसी र एस विकास बैंकको खाताबाट लाखौं रुपैयाँ चोरी गरेका थिए।

आफ्नै बैँकमा कार्यरत सहायक प्रबन्धकले ग्राहकको पिनकोड चोरी गरी रकम हिनामिना गरेको थाहा पाएपछि बैँकले प्रहरीलाई खबर नगरी आन्तरिक रुपमा कुरा मिलाउन खोजेको थियो। डंगोलले रकम फिर्ता गर्ने सहमति गरे पनि सबलाई झुक्याएर भारत भागेपछि बल्ल बैँक प्रहरीको शरणमा पुगेको थियो।   

भारतमा बसी बसीसमेत नक्कली एटिएम कार्डमार्फत फेरि चोरी सुरु भएपछि बैंकले आफ्नो एटिएम सिस्टममा परिवर्तन गर्नुपरेको थियो। बैंकले सिस्टमसँगै बैंकका पुराना कार्डसँग नयाँ कार्ड परिवर्तन गरेको थियो भने कार्ड होल्डरलाई अनिवार्य पिन नम्बर परिवर्तन गर्न आग्रह गरेको थियो।

उनले यसरी थप ४० लाख रुपैयाँ चोरी गरेको प्रहरी अनुसन्धानमा फेला परेको छ।

हिमालयन बैंकपछि नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्जालमा रहेका एटिएमबाट सुवालले नक्कली कार्ड बनाई रकम चोरी सुरु गरेका थिए। यही काण्डमा उनका केही सहयोगीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ।

यही काण्डपछि नेपाली बैंकहरुले भारतमा एटिएम प्रयोग गरी झिक्न मिल्ने रकमको ‘सीमा’ घटाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell