PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीको ६ दिने भारत भ्रमण : दिल्लीमा बादल, काठमाडौंमा झरी



ओलीको ६ दिने भारत भ्रमण : दिल्लीमा बादल, काठमाडौंमा झरी

  • उमेश श्रेष्ठ/पहिलोपोस्ट -
नयाँ दिल्ली :  शनिबार बिहान कालो मर्सिडिज बेञ्जमा चढी प्रधानमन्त्री केपी ओली भारतीय राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' लिन आउँदै गर्दा नयाँ दिल्लीको आकाश धुम्म थियो। घामलाई बादलले छेकेको थियो।

गार्ड अफ अनर सकिएर राजघाट जाँदै गर्दा एक दुई थोपा पानी पनि आकाशबाट वर्षियो। तर त्यो आकाश खुला पार्नका लागि पर्याप्त थिएन।

६ दिने राजकीय भ्रमणमा रहेका बेला पटक-पटक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल र भारतबीच रहेका असमझदारीका बादल हटिसकेको बताए। तर भारतीय पक्षबाट न प्रधानमन्त्री नरेन्द्र मोदी, न विदेश मन्त्री सुषमा स्वराज र न विदेश सचिव एस जयशंकर- कसैले पनि त्यस्तो भनेका थिएनन्।

एकपक्षीय रुपमा असमझदारीको बादल हटेको घोषणा निरर्थक रहेछ भन्ने कुरा भ्रमणको अन्तिम दिन प्रष्टै भयो। मौसम विभागले समेत दिल्लीका बादल नहट्ने घोषणा गरेको दिन राजकीय भ्रमणको अन्त्यमा जारी गरिने संयुक्त वक्तव्य संविधानलाई 'स्वागत' शब्दमा मतभेद भएपछि जारी हुन सकेन। संयोग नै मान्नुपर्छ दिल्लीमा बादल लाग्दा आज काठमाडौंमा पानी नै पर्‍यो।

नेपाली टोलीले स्वागत शब्द विज्ञप्तिमा समावेश गर्न चाहेको थियो। तर भारत त्यसका लागि तयार थिएन।

चौथो दिनपछि नै महत्त्वपूर्ण कार्यक्रम सकिए पनि अनावश्यक रुपमा राजस्थान र मुम्बईको भ्रमण राखेर ६ दिन लम्ब्याइएको राजकीय भ्रमणमा भारतीय विदेश मन्त्रालयको साउथ ब्लकका नेपाल डेस्क हेर्ने अभय ठाकुर पनि सँगै थिए।

बुधबार प्रधानमन्त्रीको औद्योगिक स्थलको भ्रमण गर्ने कार्यक्रम थियो, यता परराष्ट्रका अधिकारीहरु संयुक्त वक्तव्यको भाषामा छलफल गर्दै थिए। 'स्वागत' शब्दमै कुरा नमिलेपछि अभय ठाकुर बिहानै मुम्बईबाट दिल्लीतिर लागेका थिए।

भ्रमण सफल कि असफल त ?

दुई देशबीच बढेको तनाव कम गर्न सरकार प्रमुख स्तरको कुराकानी हुनु पक्कै पनि सम्बन्ध सहजतिर जाने संकेत हो। यस अर्थमा भ्रमणलाई कम आँक्न मिल्दैन। तर जुन हिसाबले प्रधानमन्त्री ओली र सरकारले असमझदारी हटिसकेको धारणा व्यक्त गर्दै आएका थिए, त्यो अन्ततः प्रत्युत्पादक बन्यो।

हो, दिल्ली पनि तनाव बढोस् भन्ने चाहन्न। तर यसको अर्थ उसले नेपाललाई संविधान संशोधन गर्न बाँकी दुई विषयमा दिँदै आएको दबाबबाट हटेको भने होइन।

नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजन भन्छन्, 'भ्रमण सम्बन्ध सुधारतर्फ आवश्यक प्रारम्भिक कदम हो। यसले सुरुवाती भिन्नतालाई हटाउन सहयोग गरेको छ। तर अब रियल इस्युमा ध्यान दिने बेला आएको छ।'

सुरक्षा मामिला सम्बन्धी भारतीय थिङ्कट्याङ्क आइडिएसएका निहार नायक पनि यस्तै विचार राख्छन्। उनले पहिलोपोस्टलाई भने, 'दुई देशका बीच रहेको मतभिन्नता घटाउने काम पक्कै भएको छ।'

'संविधान संशोधनमा मधेसीलाई ठीकसँग सम्बोधन गरिएको छैन,' उनी अगाडि भन्छन्, 'जनस्तरमा सम्बन्धमा जुन दरार आएको छ, त्यो कायमै छ।'

उनले लिम्बु, मगर, थारु जस्ता जनजाति पनि असन्तुष्ट रहेको भन्दै मध्यमार्गी शक्तिलाई असन्तुष्ट बनाइराख्ने हो भने कट्टरपन्थी शक्तिहरु अगाडि बढ्ने र त्यसले दुई देशबीचको सम्बन्ध अझ बिग्रन सक्नेतर्फ सचेत गराए।

नेपाल मामिलामा जानकार पूर्व जनरल अशोक मेहता भन्छन्- 'प्रम ओली र भारतको सम्बन्ध सुधारतर्फ अघि बढेको हो तर सम्बन्ध सुध्रन समय लाग्छ। नाकाबन्दी किन भएको भन्ने नेपालीले बुझ्नुपर्छ। त्यसपछि मात्रै यो समस्याको समाधान देखिन्छ।'

प्राध्यापक एसडी मुनि 'ओलीका लागि तीन महिने परीक्षण काल सुरु भएको' मान्न सकिने बताउँछन्। बाँकी विषयलाई उनले दिएका वाचा अनुसार पूरा गरेनन् भने नेपाल र भारतबीचको सम्बन्ध भविष्यमा फेरि बिग्रन सक्ने उनको धारणा छ।

बाँकी विषय नागरिकता र सीमाङ्कन

चार विषयमा संशोधन गर्न भारतले राखेको चासोमा दुई विषय संशोधनमार्फत् पूरा भइसकेको छ। अब नागरिकता र प्रान्तको सीमाङ्कन बाँकी छ। विषय यिनै दुई हुन् भन्ने किटानी विदेश सचिव जयशंकरले शनिबार आयोजित पत्रकार सम्मेलनमा स्पष्टै राखेका थिए।

उनका अनुसार भारतलाई यस विषयमा तपाईँहरुको चासोमध्ये 'केही सम्बोधन भइसक्यो, केही सम्बोधन हुने क्रममा छ' भनिएको थियो।

सम्बोधन हुने भन्ने विश्वास के त भनेर सोधिएको प्रश्नको जवाफमा विदेश सचिव जयशंकरको भनाई थियो, 'यदि कुनै देशको प्रधानमन्त्रीले आफ्नै देश र अर्को (देश) को सरकारलाई कुनै आश्वासन दिन्छ भने त्यसले नै सबै कुरा बताउँछ। निश्चय पनि सबैले आशा गर्ने विषय हो जस्तोसुकै आश्वासन भए पनि त्यो पूरा गरिनेछ। किनभने यसरी नै अन्तर्राष्ट्रिय सम्बन्धहरु चल्ने हुन्।'

प्रधानमन्त्री ओलीको भ्रमण त्यसअर्थमा 'आफूले भारतलाई दिएका आश्वासन पूरा गर्छु भनी दिएको वचन'लाई दरिलो बनाउने प्रयासमात्रै हो।
काठमाडौँले दिल्लीमा रहेका आशंकाका बादल हटिसक्यो भन्ने दावी गरे पनि त्यो हटिसकेको छैन। बरु प्रधानमन्त्री फर्कने दिन मौसम खराब भएर नेपालमा एउटा ट्विन अटर दुर्घटना भयो। उनको आफ्नै जहाज पनि काठमाडौँमा पानी परेको खबर आएपछि मुम्बईबाट ५० मिनेट ढिला मात्र उड्यो।

स्वघोषित तीन महिनाको समय सीमा ओलीका लागि महत्त्वपूर्ण छ। ढिला भयो भने नि? जवाफ पर्खाइमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell