PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

​मान्छे 'बलि चढ्न सक्ने' जोखिम छ गढिमाई मेलामा



​मान्छे 'बलि चढ्न सक्ने' जोखिम छ गढिमाई मेलामा

पहिलोपोस्ट-

सुरक्षाकर्मीहरु हामीलाई सहयोग आवश्यक परेको छ। तपाईँहरु यहाँ आउनुपर्‍यो। 

 
यहाँ धेरै समस्या भइसकेको छ प्रहरीले सहयोग किन नगरिरहेको हो ?

भोजपुरी लवजमा हिन्दी भाषामा पटक पटक आयोजक समितिका पदाधिकारीले सुरक्षाकर्मी गुहारिरहेका थिए। गढिमाईमा पाँच वर्षे मेलाको प्रमुख दिन शुक्रबार सुरक्षाकर्मी माग गरिरहँदा पनि उपलव्ध हुने स्थिति थिएन।
 
बाराको बरियापुरस्थित गढिमाई मन्दिर परिसरबाट पहिलोपोस्टका उमेश श्रेष्ठ, ऋषिकेश दाहाल, सुदर्शन सापकोटा र अंगद ढकालको स्थलगत रिपोर्टिङ :

भारतीय धर्मावलम्बीको व्यापक उपस्थिति रहेको गढिमाई मेलामा आयोजकले खोज्दासमेत सुरक्षाकर्मी पुग्न सक्ने स्थिति थिएन। भक्तजनको भिड पटक-पटक अनियन्त्रित भइरह्यो। समूह-समूहमा आएका मानिसहरु आफ्नो समूहबाट छुटिने 'डर'ले समातिएर हिँडिरहँदा बाटो पहिल्याउन सकिने स्थिति थिएन।
 
२० फिट चौडा बाटोमा खुट्टा टेक्ने ठाउँ छैन। त्यसमाथि आउने र जाने बाटो विभाजन समेत गरिएको छैन। आउने या जाने जसको बल चल्छ, भिड त्यतैतिर ओइरिने स्थिति छ। महिला, वृद्धवृद्धा र बालबालिका चेपिएका छन्। मन्दिर दर्शन गर्न बनाइएका मोटा फलामे बार सिन्कासरह भाँचिएका छन्, बाङ्गिएका छन्। चप्पलहरु छरपष्ट छन्। अलि ठूलो भागदौड मच्चियो भने धेरैले ज्यान गुमाउन सक्ने जोखिम छ। मेला, बजार, मन्दिर सबै स्थान जोखिमपूर्ण अवस्थामा छ।

बलिमा कडा सुरक्षा

मन्दिर प्रवेश र बलि दिने स्थल पूर्णतः अस्तव्यस्त छ। बलि दिने स्थानमा सर्वसाधारणको पहुँच रोक्न खोज्दा ढुंगामुढा भयो। सर्वसाधारण बाँसको लट्ठी बोकेर स्वयंसेवकहरुमाथि जाइलागेपछि स्थिति तनावपूर्ण बन्यो। प्रहरी पछि हट्न बाध्य भयो। सर्वसाधारणले पर्खाल कब्जा गरे। १० फिट अग्लो पर्खाल चढेर वा पर्खालमा भएका प्वालबाट चियाएर बलिको दृश्य हेर्न खोज्ने र त्यसलाई हटाउन खोज्ने सुरक्षाकर्मीहरुबीच फेरि पनि पटक पटक झडप भयो। घटना धेरै नलम्बिएका कारण सम्भावित क्षति टरेको थियो।
 
जतिखेर आयोजक कमिटीका सदस्यले माइकबाटै सहयोगको याचना गरिरहेका थिए त्यतिखेर राँगाको बलि दिने स्थानको सुरक्षामा खटिएका थिए प्रहरी। बलि दिने स्थानको सुरक्षाभन्दा पनि धेरै उनीहरु फोटो खिच्न नदिनका लागि त्यहाँ परिचालित थिए। मेला आयोजक समिति र स्थानीय प्रशासनले बलिको धेरै विरोध भएपछि फोटो खिच्न नदिने निर्णय गरेका थिए। तैपनि ठूलो स‍ंख्यामा स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरुको टोली त्यहाँ भेला भएको थियो। 
 
असंख्य भक्तजनको उपस्थिति रहेको गढिमाईमा सुरक्षाकर्मीको उपस्थिति उसै पनि पातलो थियो। बीच बीचमा साङ्लो बनाएर भिडलाई छुट्याउने उनीहरुले प्रयास गरे पनि प्रहरी हटे लगत्तै भिड थप अनियन्त्रित बनिरहेको देखिन्छ।
 
गढिमाईमा १ हजार ४ सय प्रहरी परिचालन गरिएको छ। तर, यथार्थमा त्यहाँ प्रहरीको उपस्थिति नगण्य देखिन्छ। मानिसको भिड अत्याधिक भएका कारण पनि सुरक्षाकर्मीको संख्या नदेखिएको पनि हुनसक्छ।

अनियन्त्रित यातायात

एकातिर मानिसको भिड बेहोरिरहेको मेलामा चर्को चाप थियो सवारीको। अनियन्त्रित रुपमा रहेका नेपाली तथा भारतीय गाडीले मेलालाई थप असहज बनाएका थिए। बिहान २:३० बजे पहिलोपोस्ट टिम कलैया पुग्दा ट्राफिक जामले हल न चलको स्थिति बनिरहेको थियो।
 
त्यहाँबाट गढिमाईसम्मको करिब ७ किलोमिटर दुरीमा अनियन्त्रित अवस्थामा गाडीहरु फसेका थिए। बाटोमा मानिसको चाप यति धेरै थियो कि गाडी, मोटरसाइकल र मानिस सबै कतै सर्न सक्ने अवस्थामा थिएनन्। यो अवस्था मध्य दिउँसोसम्म पनि जारी छ।
 
कलैयाबाट जाने गाडी बिहान ११:३० बजेपछि प्रहरीले रोक लगाएको छ। तर, यात्रुहरु भित्रिनेक्रम जारी छ।
 
प्रहरीका अनुसार मध्यराति १२ बजेदेखि यातायातमा समस्या आएको हो। भारतीय ट्र्याक्टर अत्याधिक भित्रिएको छ भने टाँगा र टेम्पो पनि उत्तिकै ल्याइएका छन्।

सञ्चारमा समस्या

भारतीय तिर्थालुको संख्या अधिक भए पनि नेपालका मोबाइल कम्पनीहरुको सेवा अपर्याप्त देखिएको छ। मानिसहरु भिडमा छल्लिने र एकैपटक धेरैले मोबाइलमा सम्पर्क गर्नुपर्ने स्थिति भएकाले मोबाइल सम्पर्कमा कठिनाई भइरहेको छ। यसले मनिसहरु छलिने क्रम बढेको छ।
 
विभिन्न संस्थाले व्यवस्था गरेको माइकमा रुँदै म यहाँ छु भनेर सन्देश दिनेहरु पनि निकै थिए।





(थप एक्सक्लुसिभ फोटोहरु र खबरका लागि पहिलोपोस्ट हेर्दै गर्नुहोला)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell