PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​लाटोकोसेरोको के के छ मान्छेसँग मिल्ने गुण? थाहा पाउनुस् लाटोकोसेरोबारे केही तथ्य



​लाटोकोसेरोको के के छ मान्छेसँग मिल्ने गुण? थाहा पाउनुस् लाटोकोसेरोबारे केही तथ्य

  • राजु आचार्य-

विश्वमै अनौठो उत्सवको सुरुवात

विश्वमै दुर्लभ मानिने ‘लाटोकोसेरो तथा हुंचिल उत्सव’ नेपाल बाहेक अमेरिका र इटालीमा पनि मनाउने गरिन्छ। यसको सुरुवात अनौठो तरिकाले १८ बर्ष अगाडि अमेरिकामा भएको थियो। त्यतिबेला एउटा उड्ने बेला भएको लाटोकोसेरो भुइँमा खसेको थियो। संरक्षणकर्मीहरुले पुनर्स्थापना केन्द्रमा खबर गरे।

चराको उपचार भयो। तर पखेँटा भाँचिएकोले आफ्नो घर फर्किन नसक्ने भयो। बिसकनसिन शहरमा छलफल चल्यो। संरक्षणकर्मी ‘कार्ला ब्लोयेम’ले सरकारको स्वीकृतिपछि त्यस लाटोकोसेरोलाई घरमा लगेर पालिन्। यसको नाम रह्यो एलाइस। एलाइसलाई संरक्षणको काममा प्रयोग गर्न थालियो। पछि यस फुल पार्‍यो।

अंग्रेजी महिनाको मार्चमा केही विद्यार्थीहरु जम्मा भएर कोरल्ने दिवस मनाइयो। अहिले भने सोही अबधिमा हजारौं मानिसहरु जम्मा भएर ‘अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव’ मानिन्छ। संरक्षणका विविध कार्यक्रम लगायत विश्वभरका संरक्षणकर्मीहरुलाई यस दिन सम्मान गरिन्छ। सोहीअनुसार नेपालमा पनि बिगत ५ बर्षदेखि मनाउन थालिएको छ तर केही फरक तरिकाले।

नेपाल लाटोकोसेरो तथा हुंचिल उत्सव

धादिङ, चितवन, नवलपरासी, गोरखाको वारपाक हुदैं यसपाली कास्कीको सिक्लेस गाउँमा यो उत्सव मनाइदै छ। पर्यटकीय र सत्कारमा अब्बल मानिएको सिक्लेस क्षेत्र जैविक विविधता र संस्कृतिमा समेत धनी छ।   

यहि फागुन ७ र ८ मा लोपोन्मुख खेलहरु (डोरी तान्ने, ठेलो, घुर घुमाई आदि), संस्कृतिक कार्यक्रम (घाटु, भजन, लाखे, गाइजात्रा आदि) लगायत संरक्षणका विभिन्न कार्यक्रम सहित मनाउन लागिएको छ। उक्त अवसरमा चरा अवलोकन, प्रकृतिको फोटो खिचाई, लाटोकोसेरोको फोटो/चित्र प्रदर्शनी, लाटोकोसेरोको म्युजियम, मस्कोट प्रदर्शनी, संरक्षण चेतना शिविर, लाटोकोसेरोको रोबोट प्रदर्शनी गरेर प्रत्यक्ष हजारौं तथा अप्रत्यक्ष रुपमा लाखौं मानिसहरुलाई जानकारी दिने कार्यक्रम तय भएको छ।

त्यस अवसरमा प्रकृति संरक्षणमा कामगर्ने चार जना नेपालीलाई सम्मान समेत गरिन्छ। लाटोकोसेरोहरुको अबैध शिकार र व्यापार हुने भएकोले सो घटाउनु यस उत्सवको मुख्य उद्धेश्य हो। यसका साथै यो उत्सवले पर्यटन प्रबर्धन समेत गर्दछ।

लाटोकोसेरोहरुको महत्व के होला?

एउटा लाटोकोसेरोको परिवारले फुल पारेर बच्चा हुर्काएर उडाउने बेलासम्म करिब ३००० मुसा खान्छ। यसैले यसलाई किसानको साथी पनि भनिन्छ। संरक्षणकर्मीहरुले दक्षिण अफ्रिकामा खेतबारीमा लाटोकोसेरोको कृतिम गुँड बनाउने चलन नै बसाएका छन्। यसको उपस्थितिले एकातिर मुसाको संख्या नियन्त्रण गर्दछन् भने अर्को तर्फ किसानले विषादीमा गर्ने खर्चमा कटौती हुन्छ।

यिनको उपस्थिति वातावरण स्वस्थताको सूचक मानिन्छ। हिन्दु धर्ममा यसलाई लक्ष्मीको वाहन मानिन्छ। वार्षिक रुपमा ५ प्रतिशत पर्यटकहरु चराहरु हेर्न आउँछन्। जसले गर्दा देशको आर्थिक विकासमा समेत सहयोग पुग्दछ। साथै बिहान र बेलुकी लाटोकोसेरोको सक्रियताले पुर्खाहरुले समयको बारेमा अनुमान समेत गर्दथे।

लाटोकोसेरो कस्तो चरा हो ?

नेपाल लगायतका एशियाका देशहरुमा काम नलाग्ने र अल्छि मानिसलाई लाटोकोसेरोको संज्ञा दिइन्छ र उल्लु भनिन्छ। युरोपतिर बुद्धिमानिलाई लाटोकोसेरोसंग तुलना गरिन्छ। अझैपनि हाम्रो समाजमा रातको समयमा लाटोकोसेरो छानामा आएर करायो भने नराम्रो हुने विश्वास गरिन्छ।  यो चराका बारेमा नसुनेका मानिसहरु संसारमा विरलै होलान्। 

लाटोकोसेरा प्राय राती तथा बिहान सक्रिय हुने र शिकार गर्ने चरा हो। त्यसो त यिनीहरुले दिउँसो पनि आँखा देख्न सक्छन्। यिनीहरुको आँखाको देख्ने तथा कानको सुन्ने क्षमता अत्यन्तै राम्रो हुन्छ। यिनीहरुले रुखको टोडको, भुईमा तथा पहराहरुमा फुल पार्छन् र कोरल्छन् पनि। यिनको शरीरको तौल ३१ ग्रामदेखि लिएर ४.५ किलोग्रामसम्मको हुने गर्छ।

लाटोकोसेराको शरीर अत्यन्तै हलुका तथा नरम भुवाहरुले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन। नेपालमा यिनीहरुको बासस्थान तराईदेखि हिमालसम्म फैलिएको छ। यिनको बारेमा नेपालमा कम अध्ययन भएपनि हालसम्म २२ प्रकारका लाटोकोसेराको प्रजातीहरु पहिचान गरिसकिएको छ। नेपालमा पाउने कुनै पनि प्रजातीमा विश्वमा दुर्लभ नभएपनि ८ प्रजातीलाई नेपाल सरकारले दुर्लभ मानेको छ।
यसको शिकार र व्यापार पनि हुन्छ !

आज भन्दा करिब ८ वर्ष पहिले धादिङ जिल्लाको निलकण्ठ गाविसमा आगोमा पोल्दै गर्दाको  अनौठो खालको चरा भेटियो। युवाहरुलाई सोध्दै जाँदा लाटोकोसेरो रहेछ। ४६ जिल्लाको भ्रमण सकिदा सो घटनाको पुनरावृत्ति धेरै जिल्लामा भेटियो। तैपनि धेरै मानिसहरु भन्छन् लाटोकोसेरो पनि खान्छन् ?

बाघ, गैडा, भालु, हात्तीपछि यदि कुनै बन्यजन्तुको अवैध व्यापार हुन्छ भने त्यो लाटोकोसेरो नै हो । चिनमा औषधी, भारतमा तान्त्रिक विद्या र मध्यपुर्वी एशियाका देशमा सजावट र घरमा सह रहने विश्वासले मानिसहरु अवैध व्यापारमा संलग्न छन्। लाखौं पर्छ भने पनि दैनिक मासु खाएर पाल्दा गरिब भएका मानिसहरु पनि थुप्रै भेटिएका छन्।

यो पंक्षीको अवैध व्यापार गरिंदा नमारिकनै गरिन्छ। नेपालका ४६ जिल्लामा गरिएको प्रारम्भिक अध्ययनले २५ प्रतिशत स्कुलका विधार्थीले गुलेली प्रयोग गर्ने र लाटोकोसेरो समेत मार्ने गरिएको भेटिएको छ। यसैगरी नेपालमा वार्षिक रुपमा कम्तीमा २००० वटा लाटोकोसेरोको अवैध व्यापार हुनै र हजारौंको संख्यामा मारिने गरेको तथ्य पत्ता लागेको छ।

नेपालको कानूनले के भन्छ ?

यिनीहरुको गुडबाट फुल निकाल्नु, बच्चाहरु निकाल्नु, घरमा ल्याएर पाल्नु, बेच विखन गर्नु गैरकानुनी काम हो। यसो गर्दा १० हजार रुपैयाँसम्म जरिवाना वा दुइ वर्षसम्म कैद वा दुवै हुन सक्ने व्यवस्था गरिएको  छ।

अब गर्नुपर्ने केही कामहरु

लाटोकोसेरोले दिउसो आँखा कम देख्छन्। त्यसैले यिनको सक्रियता कम हुने नै भो। तर सरकारी निकायले यसको संरक्षणमा पनि दिउँसोको लाटोकोसेरोले जस्तै आँखा नदेखेझैं गरेका छन्। विश्वभर पाइने चराहरुमद्ध्ये ९ प्रतिशत चरा पाइने देश नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले एक जना पनि कर्मचारी नराख्नु यसैको नमुना हो।

घाइते लाटोकोसेरोको पुनर्स्थापनाको लागि प्रकृतिका साथीहरु नामक संस्थाले गरेको पहलले अहिलेसम्म मुर्त रुप लिन सकेको छैन। पुनर्स्थापना केन्द्रको स्थापना सँगै केही लाटोकोसेराको प्रजातीहरुलाई संरक्षित पंक्षीको सूचिमा राख्नु पर्ने देखिन्छ। ठूला जनावरकापछि दुगुर्ने सरकारी र गैरसरकारी संस्थाहरुले बेलैमा नसोचे, यी चराहरु फोटोमा सीमित हुने निश्चित छ। के हामी संधै उल्लु भएर बस्ने, या लाटोकोसेरो संरक्षणका लागि आजैदेखि लाग्ने ?

लाटोकोसेरो संम्बन्धी केही रोचक जानकारीहरु

  • मानिसको जस्तै दुवै आँखा अगाडि फर्किएको हुन्छ। अन्य चराहरुको भने दायाँ बायाँ फर्किएको हुन्छ ।
  • यसले आफ्नो टाउकोलाई एकै दिशामा २७० डिग्रीसम्म घुमाउन सक्छ।
  • यसका आखाँका परेलाहरु तीनवटा हुन्छन् (फोहर नपरोस भनेर झिम्काउने, आराम गर्न प्रयोग गर्ने र आखाँको सबै भागलाई चिसो बनाइराख्न)
  • यसले पचाउन नसक्ने (जस्तै हड्डी, रौँ) आदिलाई डल्लो बनाएर मुखबाट बाहिर फ्याक्छ जसलाई पेलेट भनिन्छ।
  • यसले १ देखि १४ वटासम्म फुल पार्छ। साना साना प्रजातीहरुलाई लाटोकोसेरो भनिन्छ भने ठुलालाई हुचिल, भुन्द्रुङ आदि नामले पनि चिनिन्छ।
  • मुसा, सर्प, भ्याकुता, मलसाप्रो आदि खाएर प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्छन्
  • यसको अनुमानित आयु ४ देखि १२ वर्षसम्म हुन्छ।
  • लाटोकासेरोको समुहलाई पार्लीयामेन्ट (व्यवस्थापिका) भनिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell