PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आज हेराहेर पनि नगर्ने, भोलि गोप्य वार्ता गर्ने?



आज हेराहेर पनि नगर्ने, भोलि गोप्य वार्ता गर्ने?

  • पहिलोपोस्ट-
काठमाडौँ : १२ वर्षअघि काठमाडौँमै सार्क शिखर सम्मेलन हुँदा भारत र पाकिस्तानबीचको सम्बन्ध तनावको उत्कर्षमा थियो। तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफ सम्मेलनमा सहभागी हुन चीनको आकाशबाट आएका थिए। दुई देशका नेताबीच पानी बाराबारको स्थिति थियो।
 
तर मन्तव्य व्यक्त गर्ने क्रममा मुसर्रफले भारतसित मित्रताको हात बढाउन चाहन्छु भन्दै तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयी भएको ठाउँमा गएर अप्रत्याशित रुपमा हात अगाडि बढाए। अकमक्किएका वाजपेयीलाई के गरौँ कसो गरौँ भयो र कुर्सीमा बसी बसी हात मिलाए।
 
यस पटक पनि सम्मेलन स्थल नेपालमै थियो। भारतीय प्रधानमन्त्रीमा भारतीय जनता पार्टीकै नेता वाजपेयीका उत्तराधिकारी नरेन्द्र मोदी थिए। के होला आज, सबैको चासो थियो।
 

सामान्य शिष्टाचारसमेत साटासाट भएन

तर यस पटक त्यस्तो केही भएन। भारत र पाकिस्तानमा प्रधानमन्त्रीले सामान्य शिष्टाचारसमेत साटासाट गरेनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले एक अर्कालाई नदेखे झैँ गर्दै मञ्चमा समय गुजारे। सम्बोधनका समयमा एकअर्को देशको नाम समेत लिएनन्।
 
सम्मेलन स्थलमा दुवैको भेट भएन। दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ताका लागि समय समेत तय गरिएको छैन।
 
सम्बोधनका क्रममा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भारततर्फ इङ्गित गर्दै एक अर्का विरुद्ध लड्नु अनुचित भएको बताए।
 
'एक अर्काविरुद्ध लड्नुको साटो बरु हामी गरिबीविरुद्ध एक भएर लडौँ,' सरिफले भने। सम्मेलनमा सरिफले आतंकवादको विषयमा धारणा समेत राखेनन्। यो शब्द उच्चारणसमेत गरेनन्।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा सन् २००८ मा भएको हमला भुल्न नसकिने धारणा राखे। भारतको मुम्बइस्थित होटल ताज र होटल ओबराय लगायतका स्थानमा आतंककारी हमला भएको बुधबार ६ वर्ष पूरा भएको थियो।
 
मोदीले सन् २००८ को घटनालाई अन्तरदेशीय अपराधको उदाहरण भएको धारणा राखे।

मोदीले आफ्नो सम्बोधनमा नजिक रहँदा साथ बढेको तर्क त गरे। तर सिमाना जोडिएको पाकिस्तानका प्रधानमन्त्रीसँग हातसम्म नमिलाउनुले उनको तर्क हास्यास्पद बन्यो।
 
भारतीय प्रधानमन्त्रीको चयन भएपछि सपथ ग्रहण समारोहमा सरिफ उपस्थित भएका थिए। सरिफले मोदीकी आमा हिराबेन*लाई पछ्यौरा उपहार समेत दिएका थिए। तर त्यसपछिको स्थिति परिवर्तन भएको छ।
 
गएको अगस्तमा दुई देशबीच विदेश सचिवस्तरीय वार्ता हुनुअघि पाकिस्तानी राजदूतले कास्मिरी पृथकतावादीलाई भेटेपछि नयाँ दिल्लीले वार्ता रद्द गर्दै वाकयुद्ध थालेपछि दूरी बढेको हो। आज काठमाडौँमा दुई देशका प्रधानमन्त्रीले पुरानो दुश्मनीलाई यथावत् राखेको सन्देश दिए। 

भवनसमेत छुट्टै

सार्क शिखर सम्मेलनका क्रममा मोदी पाकिस्तानी प्रधानमन्त्रीसहित अन्य राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु रहेको सोल्टी होटलमा समेत नबसी हयाट होटलमा बस्न खोजेका थिए।

अघिल्लो पटक नेपाल आउँदा उनी त्यही होटलमा बसेका थिए। भारतीय पक्षको चाहना अनुसार सुरक्षाकर्मीहरुले त्यहाँ सरकार प्रमुख रहने स्तरकै सुरक्षा तयारी समेत गरिसकेको थियो।

तर अन्तिममा अरु राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु जस्तै मोदी पनि सोल्टीमा नै बस्न राजी भए। यद्यपि उनी बस्ने भवन र सरिफसहित अन्य विशिष्ट अतिथिहरु रहेको भवन फरक छ।
 

धुलिखेलमा के होला?

सार्क राष्ट्रका सबै विशिष्ट अतिथिहरुलाई सरकारले भोलि बिहान धुलिखेलमा रिट्रिटमा लैजाँदैछ। शिखर सम्मेलनको उद्‍घाटन र समापनका औपचारिकताहरुबाट टाढा रही रिट्रिटका क्रममा भने अनौपचारिक वार्ताहरु हुने गर्छन्।

१२ वर्षअघि वाजपेयीले नगरकोटमा गर्न लागिएको रिट्रिटमा सहभागी हुन अस्वीकार गरेका थिए। यस पटक भने मोदीले त्यसो गरेका छैनन्।
मञ्चमा एकअर्कालाई देखे नदेखे झैँ गर्ने मोदी र सरिफले रिट्रिटमा भने के गर्लान् ? के त्यहाँ पनि उनीहरु बोल्दै नबोल्ने, हातै नमिलाउने गर्लान् ?

स्रोतहरुका अनुसार अन्तिम समयमा कार्यक्रम परिवर्तन नगरिए धुलिखेलमा मोदी र सरिफबीच कम्तिमा २० देखि २५ मिनेट वन टु वन वार्ता गर्ने तयारी गोप्य रुपमा दुवै पक्षले अगाडि बढाएको छ। तर यसलाई औपचारिक रुप भने दिइने छैन।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले मोदीले बुधबार औपचारिक वार्ता श्रीलंका, अफगानिस्तान, माल्दिभ्सका राष्ट्रपति र बंगलादेश र भुटानका प्रधानमन्त्रीहरुसँग मात्र हुने बताएका छन्

त्यसो त हिजो भारतीय विदेशमन्त्री सुषमा स्वराज र पाकिस्तानी राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिजबीच भेट नभएको होइन। मिडियामा दुबैले कुराकानी गरेको तस्बिर सार्वजनिक भएको थियो। तर, स्वराजले कुनै राजनीतिक कुराकानी नभएको तर शिष्टाचार भेट भएको बताएकी थिइन्। उनले अन्य विषयमा छलफल नभएको बताए पनि भारतीय प्रधानमन्त्री मोदीलाई यसबारे पक्कै 'ब्रिफ' गरेकी छिन्। 

दुवै मुलुकका सरकार प्रमुखले आज देखाएको व्यवहारले सार्कमा सधैँ झै भारत - पाकिस्तानबीचको 'इगो'ले अरु विषयलाई छायाँमा पार्न थालेको छ। 

*यसअघि मोदीकी आमाको नाम गलत परेकोमा सच्चाइएको छ।- सं.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell