PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

किन घटेन पेट्रोलको भाउ? खोई त लागू भएको स्वचालित मूल्य प्रणाली? मन्त्री यसो भन्छन्



किन घटेन पेट्रोलको भाउ? खोई त लागू भएको स्वचालित मूल्य प्रणाली? मन्त्री यसो भन्छन्

  • सविन मिश्र/पहिलोपोस्ट
काठमाडौं : सरकारले ठूलै तामझामका साथ गत असोजमा घोषणा गरेको पेट्रोलियम पदार्थको मूल्य अटोमेसनमा लैजाने निर्णयपछि अहिलेसम्म एक पटक पनि समयमा मूल्य समायोजन भएको छैन। हरेक १५ दिनमा मूल्य समायोजन हुने ग्राहकको अपेक्षा थियो र सरकारले पनि त्यसै भनेको थियो।

तर यस पटक नोभेम्बर १६ अर्थात कात्तिक ३० गते मूल्य समायोजन गर्नुपर्ने भएपनि अहिलेसम्म हुन सकेको छैन। संचालक समितिका पदाधिकारी काठमाडौंमा उपलब्ध नभएकोले निगमले यसपटक पनि मूल्य समायोजन समयमा गर्न नसकेको बताएको छ। 

'हामीले घटाउने तयारी त गरेका थियौं,' निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, 'संचालक समितिका सदस्यहरु उपलब्ध हुन नसक्दा बैठक बस्न सकेन र यसपटक पनि समयमा मूल्य समायोजन हुन सकेन।'

अघिल्लो हप्ता नै निगम सञ्चालक समितिको बैठक बस्ने भनेपनि पदाधिकारीहरु काठमाडौं बाहिर भएका कारण बस्न सकेको थिए। निगमले पछिल्लो पटक कात्तिक १८ गते मूल्य समायोजन गरेको थियो।

निगमलाई भारतीय आयल निगमले ३० गते नै नयाँ मूल्य पठाए पनि संचालक समिति बैठक नबसेकै कारण अहिलेसम्म मूल्य समायोजन हुन नसकेको हो। निगम संचालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुने व्यवस्था छ।
 

अटोमेसन भने पनि म्यानुअल जस्तै

निगमले हरेक पटक सञ्चालक समितिको बैठक नबसेको भन्दै समयमा मूल्य समायोजन नगर्ने गरिरहेको छ। अटोमेसन भनेपनि यो त म्यानुअल जस्तो भयो नि भन्ने प्रश्नमा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले पहिलोपोस्टलाई भने, 'पैसाको कुरा छ त्यसैले संचालक समिति बैठक कुर्नुपरेको हो। यसलाई अन्यथा पनि नसोचौं। हामी सुधार गरेर अघि बढ्छौं।' 

मन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न आयल निगम सञ्चालक समितिको बैठक नै बस्नुपर्ने परम्परा तोड्न मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्।

'आर्थिक कुरा भन्ने बित्तिकै बोर्डमा लैजाने भन्ने परम्परा नै छ,' मन्त्री थापाले भने, 'हामीले त्यसलाई सुधार गर्नुपर्छ भनेर मैले सचिवजीलाई भनिसकेको छु।'

भारतीय आयल निगमबाट नयाँ मूल्यसूची प्राप्त हुने बित्तिकै मूल्य समायोजन गर्ने योजना सरकारले बनाए पनि त्यस अनुरुप काम भने हुन नसकेको उनले स्वीकार गरे। 'हामीले हरेक १ र १६ तारेखमा मूल्य हेरफेर गर्ने भनेर नै नयाँ प्रणाली कार्यान्वयन गरेका थियौं,' थापाले भने, 'प्राविधिक कारणले यी कुरा रोकिनु हुँदैन भन्ने पक्षमा म छु र त्यसलाई अल्झिरहन दिन्न।'

मन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्य समायोजन सम्बन्धि नीति एउटै हुने भएकाले कार्यान्वयनमा ढिलो गर्ने पक्षमा आफू नरहेकोसमेत स्पष्ट पारे।

'हामीले फलो गर्ने गाइडलाइन सँधै एउटै हो र हामी प्यारामिटर पनि एउटै तय गरेर काम गरिरहेका छौं,' थापाले भने, 'त्यति भइसकेपछि किन बोर्ड बैठक नै कुरिरहनु पर्‍यो?'

सरकारले नागरिकलाई राहत दिनकै लागि नयाँ प्रणाली कार्यान्वयन गरेको भन्दै मन्त्री थापाले त्यसलाई निरन्तरता दिन पनि ढिलाई गर्न नहुने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell