काठमाडौं : दलहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबाट राष्ट्रिय हितअनुकूल लाभ लिन सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री सुशील कोइरालाले मोदीको भ्रमणमा उठाउनुपर्ने विषयबारे बालुवाटारमा बिहीवार बिहान राखेको सर्वदलीय बैठकमा दलहरुले मोदीको भ्रमणबाट नेपालले लाभ लिन सक्नुपर्ने धारणा राखेका हुन्।
समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले भ्रमणका दौरान राष्ट्रिय हितअनुकूलका सहमति गर्न र लाभ लिन सुझाव दिएको बताए। बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउन सरकार गृहकार्यमा लागेको जानकारी गराएको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।
बैठकमा दलका नेताहरुले विद्युत व्यापार सम्झौता गर्न तथा नेपाल भारत सम्बन्धलाई विश्वासिलो बनाउन सुझाव दिएका थिए।
नेपाल-भारत सम्बन्धलाई राजनीतिक तहमा प्रगाढ बनाउने गरि छलफल गर्न पनि दलहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
वैठकमा प्रधानमन्त्री सुशील कोइराला भने केहीबेर मात्र उपस्थित भए। कोइराला बिरामी भएकाले छोटो समयमात्र बैठकमा सहभागी भएको जनमोर्चा अध्यक्ष केसीले बताए।
विद्युत व्यापार सम्झौतामा एमाओवादीको सैद्धान्तिक सहमति
प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले भारतसँग विद्युत व्यापार सम्झौता गर्न सरकारलाई सहमति दिएको छ। बिहीबार बिहान बसेको एमाओवादी स्थायी समिती बैठकले भारतसँग विद्युत व्यापार सम्झौता गर्न उचित हुने निष्कर्ष निकालेको स्थायी समिति सदस्य अग्नि सापकोटाले जानकारी दिए।
‘विद्युत उत्पादन सम्झौताका लागि पर्याप्त तयारी पगेको छैन’, सापकोटाले भने, ‘तत्काल विद्युत उत्पादन सम्झौता अगाडि बढाउन नहुने निणर्य भएको छ।‘
