PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बिहेको १२ घण्टा नबित्दै बससहित भेरीले निल्यो मेरी श्रीमती



बिहेको १२ घण्टा नबित्दै बससहित भेरीले निल्यो मेरी श्रीमती
गोताखोरहरु शव खोज्दै (बायाँ) र भेरीमा डुबेको बस। सबै फोटो साभार : हाम्रोनेपालगञ्ज/फेसबुक

नेपालगञ्ज : बिहीबार बिहान जाजरकोटबाट सुर्खेततर्फ गइरहेको बस सडकबाट ६० मिटरभन्दा तल खसी भेरी नदीमा डुब्दा त्यसमा रहेका कयौँ यात्रु अझै बेपत्ता छन्। दुर्घटना भएको भोलिपल्ट बस फेला परे पनि नदीबाट निकाल्न सकिएको छैन। यात्रुहरु पनि फेला परेका छैनन्। शनिबार दुईसहित अहिलेसम्म सात वटा शव मात्र फेला परेको छ।

५० भन्दा बढी यात्रु भएको ठानिएको बस दुर्घटनामा नौ जनाको जीवित उद्दार गरिएको थियो। ती मध्ये एक हुन नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका दाङका १८ वर्षीय भीम चन्द। 

बिहे गरी श्रीमतीसहित फर्कँदै थिए उनी। तर यात्रा बीचैमा टुङ्गियो। उनले नेपालगञ्ज अनलाइनलाई आफ्नो ह्दयविदारक कथा यसरी बताएका छन्-

मंसिर १ गते दाङबाट जाजरकोट जिल्लामा पुगेको थिएँ। नयाँ संसार, नयाँ जीवन बनाउँला भन्ने सोच थियो। चार भाइ मध्ये माइलो हुँ। जेठा दाइको विवाह जाजरकोटको भुर गाविसबाटै भएको छ।

भाउजुकै गाउँबाट केटी ल्याउने सोच अनुसार विवाह गरी फर्किरहेको थिएँ। श्रीमती दाङको घरमा पुर्‍याउन हतार थियो। 

बुधबार साँझपखदेखि नै श्रीमतीसँगै भावी जीवनका सपना देखेको थिएँ। बिहीबार हतार-हतारमा बिहान ५ बजे भुर- ४ बाट हिँडियो। फेरा बजार पुग्दा बस आउँदै थियो। हाँस्दै बसमा पाइला टेकेका थियौं। ठाउँ थिएन।

बल्ल खुट्टा टेक्ने ठाउँ पाइयो कोलियामा। दुबै उभिएका थियौं।  बस हिँड्यो हर्न दिँदै  बस तीब्र गतिमा हुँइकियो। बसमा बसेको करिब पाँच मिनेट भएको थियो। पेलिएर उभिएकोले बसलाई के भएको हो थाहा नै पाउन सकेनौं।

एकैचोटी बस भेरीको चिसो पानीमा गएको थाहा पाएँ। बसले पानी भित्रै डुबुल्की मारेको बेला उज्यालो प्रकाश भएको ठाउँतिर मेरो नजर पुग्यो। अनि थाहा पाएँ बस त दुर्घटनामा परिसक्यो। 

मैले आफूलाई मात्र देखेको थिएँ। अरु मानिसलाई त देख्न पनि सकिनँ। मेरो श्रीमती खैं कता गइन् थाहा नै पाइनँ। 

पानीका भुल्का बसभित्र आइरहेका थिए। त्यत्तिकैमा म झ्यालको सिसामा पछारिएँ। अनि झ्याल फोडेँ। पौडी खेल्न खोजेँ। तर एक खुट्टा र हातले काम गरेन। एक हात र खुट्टाको मद्दतले पौडी खेलेँ। पाखा लागेँ। 

यति मात्र थाहा छ। अरु के भयो भयो। एक जना महिला मलाई बचाऊ भन्दै कराएको थाहा छ। तर बचाउन सकिनँ। आफ्नै जीवन कसरी बचाउने भन्नेमा थिएँ र बचेँ पनि। 

बिहे गरेर नयाँ जीवन बिताउला भनेको थिएँ। तर अब सबै खुशी भेरीले नै खोस्यो।

घरमा बुहारी भित्र्याउनका लागि बुवाआमा टीकाको थाली थापेर बसेका होलान्, तर बुहारीलाई भेरी नदीले खोसिसक्यो। 

आश छैन् मेरी १२ घण्टाकी श्रीमती अहिलेसम्म बाँचेकी होलिन् भनेर। कस्तो दिनमा म जन्मेछु! विवाह गरेको १२ घण्टामा सपना एकै चोटी तहसनहस हुन पुगे। अब मेरो जीवनमा विवाह होला भने कल्पना पनि गरेको छैन। 

यो पनि हेर्नुस्-
भेरीमा डुबेको बसबाट तीन दिनपछि निकालियो ३६ जनाको शव

 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell