PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बालुवाटारमा भएको वार्तामा किन कड्किए प्रधानमन्त्री ?



बालुवाटारमा भएको वार्तामा किन कड्किए प्रधानमन्त्री ?

काठमाडौँ :  प्रधानमन्त्री केपी ओली रिसाएर कडकिएपछि बिहीबार बालुवाटार मधेसी दलसँगको वार्ता असफल भयो।

कांग्रेसका प्रधानमन्त्री सुशील कोइरालाले लगेको संसोधन प्रस्तावमा कांग्रेसकै छ वटा संसोधन प्रस्ताव परेको भन्दै ओली रिसाएका थिए।

कोइरालाले बिना सहमति अपूर्ण संसोधन प्रस्ताव ल्याएको, प्रस्ताव अघि बढाउन सरकारलाई दबाब दिएका कारण सरकारले नयाँ प्रस्ताव लैजान नपाएको र अहिले कांग्रेसकै सांसदले सबैभन्दा धेरै संशोधन लगेको भन्दै असन्तुष्टि जनाएपछि कांग्रेस र एमालेबीच भनाभन भएको थियो।

ओलीले असन्तुष्टि जनाउँदै भाषण थालेपछि बीचैमा सुशील कोइरालाले रिसाउँदै सहमति बिना विधेयक लगेको भन्ने विषयमा असहमति राखेका थिए।

‘सुशीलजीले रिसाउँदै ओलीजी, केही सहमति भएको थिएन भनेर नभन्नुस्, सहमतिमै विधेयक ल्याएको हो भन्नुभयो’ वार्तामा सहभागी एक नेताले भने, ‘त्यसपछि ओलीजीले त्यसोभए कांग्रेसकै तर्फबाट किन त्यति धेरै संशोधन हालेको भन्दै प्रश्न गर्नुभयो।’

 उनले दुबैबीच अँध्यारो मुख लाएरै कुरा सुरु भए पनि यादवले पहिला तपाइँहरु मिल्नुस भनेको बताए।

त्यसपछि के भएको थियो ?

ओलीले मधेसी मोर्चालाई बुझाउनकै लागि अहिलेसम्म सहमति नहुनुमा कांग्रेस जिम्मेवार भएको बताएका थिए। लामो भाषण गरेका ओलीले कांग्रेसकै अडानका कारण मधेसीका माग सम्बोधन गर्ने गरी विधेयक लैजान नसकेको बताएका थिए।

‘ओलीजीले लामो सैद्धान्तिक भाषण गर्नुभयो, त्यस्ता भाषण हामीले धेरै सुनिसकेकाले हामीले अब सैद्धान्तिक भाषण सुन्नु छैन भन्यौ’ वार्तामा सहभागी लक्ष्मणलाल कर्णले भने, ‘त्यसपछि तपाईँहरु पहिला एक हुनुस् अनि हामीसँग वार्ता गर्नुस् भनेर हामी निस्कियौं ।’

अखिर कांग्रेसले संसोधन लगेकोमा किन कड्किए त प्रधानमन्त्री ?

कांग्रेसका सांसद् सकलदेव सुतियारले संशोधन पारित भए कांग्रेसलाई राजनीतिक ‘क्रेडिट’ जाने भएपछि प्रधानमन्त्री नै एमालेका तर्फबाट असहयोगमा लगेको बताए।

‘कांग्रेसले हालेका संसोधन समेटेर विधेयक पारित भए मधेसी जनता मात्र हैन, धेरै हदसम्म मधेसी दल पनि सहमत हुने अवस्था देखियो’ सुतियारले भने, ‘त्यसैले अहिले आएर एमाले र स्वयं प्रधानमन्त्री संसोधन विधेयक जस्ताको तस्तै पारित गर्ने अडान राख्न थाल्नुभएको छ।’ उनले कांग्रेसका सांसदहरुले संविधान जारी हुनु अघिदेखि उठाउँदै आएका विषयमा संसोधन प्रस्ताव लगेको बताए।

कांग्रेसका सुशील कोइराला निकटका सांसद फरमुल्लाह मन्सुरले सरकार भनेको कुनै पार्टीको मात्र नहुने भन्दै प्रधानमन्त्रीले एमालेको भन्दा पनि देशको नेता हुने प्रयास गर्नुपर्ने बताए । ‘एउटा कुरा के बुझ्नु पर्छ भने सरकार भनेको एउटा मात्र पार्टीको हुँदैन, हिजो सुशील कोइरालाले पनि नेपाली कांग्रेसको नभएर प्रधानमन्त्रीका तर्फबाट विधेयक लानुभएको थियो’ मन्सुरले भने, ‘हामीले कांग्रेसको संसदीय दलमा संविधान जारी हुनु अघिदेखि उठाइरहेका विषय संसोधनमा लगेका हौं ।’ उनले अन्तरिम संविधानले सम्बोधन गरिसकेका विषय नयाँ संविधानमा छुटेकै कारण संसोधन हाल्नपरेको बताए ।

‘सकारात्मक कुरा के भने सुशील कोइरालाले त्यतिबेला संविधानसभालाई विश्वास दिलाए अनुरुप संसोधन विधेयक ल्याएर इमान्दारिता देखाउनुभयो, अब ओलीजीले पनि प्रतिबद्धता अनुरुपको भूमिका निर्वाह गर्नुपर्छ’, उनले भने। उनले प्रधानमन्त्री भनेको देशको अभिभावक भएकाले ओलीले राष्ट्रिय समस्या समाधानमा जिम्मेवार भएर अभिभावकीय जिम्मेवारी पूरा गर्नुपर्ने बताए। 

मन्सुरले प्रधानमन्त्रीले बिहीबार मधेसीसँग कुरा मिल्ने भनेर प्रचार गरेर पत्रपत्रिकामा समाचार आए पनि एक दिनमै झुटो सावित भएको बताए। ‘म त आशावादी मान्छे हुँ, भोलिका दिनदेखि उहाँ जिम्मेवार हुनुहुने छ र समस्या सम्बोधन गर्नुहुनेछ’ उनले भने।

कांग्रेस सांसद डा. गणेश मण्डलले अन्तरिम संविधानले सम्बोधन गरिसकेका विषय नयाँ संविधानले छुटाएका कारण संसोधन लानु परेको बताए। ‘पहिलो कुरा त हामीले नयाँ प्रस्ताव ल्याएको होइन, अन्तरिम संविधानमा भएका व्यवस्था र त्यसमा भएका ‘प्रिभिलेज’को अभ्यास समेत भइसकेको अवस्थालाई सम्बोधन गर्न संसोधन हालिएको हो’ उनले भने, ‘यस्ता विषयमा प्रधानमन्त्री पदमा बसेको व्यक्तिले असन्तुष्टि जनाउनु राज्य जनता विरोधी छ भनेर देखाउन खोज्नु हो।’

 उनले विधेयक पारित भए मधेसमा जनताको आन्दोलन रोकिने अवस्थालाई प्रधानमन्त्रीले ध्यान नदिनु आश्चार्यको विषय भएको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell