PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​सार्कमा आकाश खुला, उडान बन्द; दैनिक छ हजार यात्रुलाई हैरानी



​सार्कमा आकाश खुला, उडान बन्द; दैनिक छ हजार यात्रुलाई हैरानी
प्राधिकरणले सार्क सम्मेलनको लागि तयार पारेको नयाँ उडान-अवतरण तालिकाअनुसार अन्तर्राष्ट्रिय र आन्तरिक जहाजले आफ्नो तालिका अनुसार उडान गर्न पाउँदैनन् ।

  • कञ्चन अधिकारी/पहिलोपोस्ट-
काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनका क्रममा आकाश खुला भए पनि उडान बन्द गरिने हुनाले काठमाडौंबाट बाहिर जाने र काठमाडौं भित्रिने हजारौँ यात्रु प्रभावित हुने भएका छन्।
 
नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सार्क सम्मेलनभरी विशिष्ट पाहुनाहरु आउने दिन र जाने दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान गर्न नपाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयले व्यवस्था गरेपछि एयरलाइन्स कम्पनी र यात्रुहरु समस्यामा पर्ने भएका छन्।
   
प्राधिकरणले सार्क सम्मेलनको लागि तयार पारेको नयाँ उडान-अवतरण तालिकाअनुसार अन्तर्राष्ट्रिय र आन्तरिक जहाजले आफ्नो तालिका अनुसार उडान गर्न पाउँदैनन् ।
 
प्राधिकरणले अन्तर्राष्ट्रिय तथा आन्तरिक जहाजहरुको लागि तयार पारेको नोट्याम्स (नोटिस टु एयरम्यान) अनुसार मंसिर ९, १०, ११ र १२ गते आफ्नो तालिका अनुसार उडान गर्न पाउने छैनन्। विशिष्ट पाहुनाहरु आउनुभन्दा आधाघण्टा अघि र पछिसम्म कुनै जहाज उडान तथा अवतरण गर्न निषेध गर्ने कामलाई नोट्याम्स भनिन्छ।
 
यसले गर्दा काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने एयरलाइन्सहरु प्रभावित बनेका अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कमिटीका अध्यक्ष भरत श्रेष्ठ बताउँछन्। उनका अनुसार अहिले एयरलाइन्सहरुलाई समय तालिका मिलाउन हम्मे हम्मे परेको छ । श्रेष्ठले भने, 'हामी अहिले तनावमा छौँ। कसरी उडान तालिका मिलाउने र कनेक्टिङ फ्लाइट मिलाउने भन्नेमा सबैभन्दा ठूलो चुनौती छ।'
 
उनले यसरी नोट्याम्स तोक्दा यात्रुहरुको भिसा सकिने, जहाज छुट्ने, कनेक्टिङ फ्लाइट छुट्ने लगायतका समस्या यात्रुले भोग्नु पर्ने उनले बताए । श्रेष्ठका भने, 'हामीले सबै मिलाउने कोशिस त गरेका छौँ । तर कतिले महिनौ अघि टिकट काटेर आएका हुन्छन्। त्यो मिलाउन निकै गाह्रो भएको छ।
 
विमानस्थलले आगामी मंसिर ९ गते बिहान नौदेखि साँझ पाँच बजेभित्र सार्क सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुनाहरु आउने तालिका रहेकोले सो समयमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण नहुने जनाएको छ। यो समय भन्दा अघि र पछिका उडानहरु भने यथावत राखिएको जनाएको छ।
 
यस्तै मंसिर १० को उडानहरु यथावत रहने विमानस्थलले जारी गरेको नोट्याम्समा उल्लेख छ। तर यो समयमा पार्किङ बेहरु भने एयरलाइन्सहरुको लागि सिमित छुट्याइएको छ । श्रेष्ठ भन्छन्, 'हामीलाई १० गते सबै जहाज उडाउन त दिइएको छ तर पार्किङ बे हामीलाई यथेष्ट छैन। सबैभन्दा बढी जहाजको उडान र अवतरण यही समयमा हुने भएकोले धेरै जहाज आउन गाह्रो छ।'
 
२४ सै घण्टा विमानस्थल खुला नहुने भएकोले त्रिभुवन विमानस्थलमा अधिकांश उडान दिउँसो हुने गरेको छ। श्रेष्ठका अनुसार बिहान १० देखि बेलुकी पाँच बजेसम्म करिब २५ देखि ३० वटा उडान हुने गरेको छ भने यी उडानमा करिब दुई सय यात्रुहरु उड्ने गरेका छन्। यो हिसाबले एक दिनमा करिब छ हजार यात्रु प्रभावित हुनेछन्।
 

आकाश खुला, उडान बन्द
 

अहिले अन्तर्राष्ट्रिय पट्टी नौ वटा जहाज पार्किङ गर्न सकिन्छ भने आन्तरिक तर्फ करिब दुई दर्जन जहाज पार्किङ गर्न मिल्छ। यसरी पार्किङ कक भएपछि आकाश खुला गरेपनि उडानहरु बन्द जस्तै हुने श्रेष्ठको भनाइ छ। उनका अनुसार विमानस्थल व्यवस्थापनलाई काठमाडौंबाट नजिकैको विमानस्थलमा सार्कमा सहभागी हुन आएका विशिष्ट पाहुनाहरुको जहाज पार्किङ लागि व्यवस्था गर्न आग्रह गरिएको थियो । तर व्यवस्थापन पक्षले यस्तो नहुने भन्दै एयरलाइन्सहरुलाई 'म्यानेज' गर्न आग्रह गरेको थियो।

​यसैगरी विमानस्थलको पत्र अनुसार मंसिर ११ गते बिहान आठ बजेदेखि ११ र दिउँसो एक देखि पौने चार बजेसम्म पनि कुनै जहाज उडान–अवतरण गर्न पाइनेछैन। 'विमानस्थलले तोकेको नोट्याम्सपछि बाँकी रहेको दुई घण्टामा कति जहाज उडाउन र अवतरण गर्न सकिन्छ ? , उनले भने,'यो समयमा आकाश खुला हुन्छ तर जहाज बन्द नै हनुछ । यो समयमा कम्तिमा तीनवटा भन्दा बढी जहाज उडान तथा अवतरण गर्न सकिँदैन।' चार बजेपछि भने पूरै समय उडान सुचारु हुनेछन्। 

मंसिर १२ गते पनि विमानस्थलले नोट्याम्स तोकेको छ। त्यसअनुसार बिहान आठ बजेदेखि सवा एक बजेसम्म कुनै पनि जहाज उडान तथा अवतरण गर्न नपाइने सूचना जारी गरेको छ । यो समयमा विशिष्ट पाहुनाहरु फर्किने तालिका बनाइएको छ।
 

रात बस्न नपाइने

यसैगरी सार्क सम्मेनल भरी कुनै पनि एयरलाइन्स राति त्रिभुवन विमानस्थलमा बस्न पाउने छैनन् । अहिले नेपाल एयरलाइन्स र जेट एयरवेजको जहाज रात बस्ने गरेका छन् ।
 
अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित हुने भएपछि विमानस्थल व्यवस्थापनले पाँच दिन २४ सै घण्टा खुल्ला राख्ने भएको छ ।
 
विमानस्थलमा रहेका २२७ वटा सरोकारवाला सबै निकायसँग २४ सै घण्टा खुल्ला गर्ने सहमति भएको विमानस्थलका कार्यकारी महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले भने, ' २४ सै घन्टा विमानस्थल सञ्चालन गर्नका लागि त्यहाँस्थित अध्यागमन कार्यालय, ड्युटी फ्रि पसल, विमानस्थल ट्याक्सी, सुरक्षा निकायलगायत सम्बद्ध सबैबाट सहयोग र सहकार्य गर्ने प्रतिबद्धता आइसकेको छ। हामी पाँचदिन २४ सै घण्टा खुल्ला राख्छौँ।'
 

तीन क्षेत्रीय विमानस्थल पनि २४ सै घण्टा खुला

यसैगरी उनका अनुसार विराटनगर, भैरहवा र नेपालगन्ज विमानस्थल सार्क शिखर सम्मेलन अवधिभर चौबीसै घन्टा खुला रहनेछन्। यी तीनवटै विमानस्थलमा रात्रि उडान गर्ने सबै सुविधा उपलब्ध छन्। 
 
त्रिभुवन विमानस्थल सामान्य अवस्थामा बिहान ६ बजे खुलाउने गरिन्छ भने मध्यरात साढे १२ बजे बन्द हुने गर्छ। सामान्य मौसमका बेला बिहान करिब एक दर्जन अन्तर्राष्ट्रिय जहाज अवतरण गर्छन्। विमानस्थल मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको चाप सबैभन्दा धेरै हुने गर्छ। ती सबैले 'स्लट' मिलाउँदै उडान सञ्चालन गर्ने जानकारी गराइसकेका छन्। अहिले २९ वटा अन्तर्राष्ट्रिय वायुसेवाले नेपाल उडान गरिरहेका छन्।
 
यसरी प्रभावित हुने एयरलाइन्सहरुमा एयर इण्डिया, नेपाल एयरलाइन्स, थाइ एयरवेज, ओमान एयर, कतार एयरवेज, एयर अरेविया, इन्डिगो एयरलाइन्स लगायतका डेढ दर्जन एयरलाइन्सहरुबाट यात्रा गर्ने यात्रु समेत प्रभावित हुनेछन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell