PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

वीरगन्ज भन्सारमा तेत्तिस अर्बको राजस्व घाटा



वीरगन्ज : नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएर अहिलेसम्म रु ३३ अर्ब सात करोड राजस्व घाटा भएको छ। 
 
आयात निर्यात ठप्प हुँदा वीरगन्ज भन्सार कार्यालयलाई चालु आवको पहिलो छ महिनामा यतिधेरै राजस्व घाटा भएको हो। मधेस केन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प पारेपछि आयात निर्यात पूर्णरुपमा ठप्प भएको हो।
 
वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु ४७ अर्ब ७५ करोड राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा कार्यालयले उक्त अवधिमा रु १४ अर्ब ६८ करोड असुली गर्न सकेको छ। यो लक्ष्यको तुलनामा ३० दशमलव ७४ प्रतिशत मात्र हो।
 
कार्यालयले पुस महिनामा लक्ष्यको तुल्नामा शून्य दशमलव ४५ प्रतिशत मात्र राजस्व असुली गरेको छ। पुस महिनाका लागि रु आठ अर्ब ३० करोड ५९ लाख ९ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा कार्यालयले उक्त अवधिमा रु तीन करोड ७६ लाख ९६ हजार मात्र राजस्व असुली गरेको छ। पुस महिनामा कार्यालयलाई रु आठ अर्ब २६ करोड ८३ लाख राजस्व घाटा भएको हो। 
 
यस्तै चालु आवको मङ्सिर महिनामा रु आठ अर्ब ३० करोड ५९ लाख राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा कार्यालयले उक्त अवधिमा जम्मा रु ११ करोड १८ लाख मात्र असुली गर्न सकेको छ। यो लक्ष्यको तुलनामा एक दशमलव ४४ प्रतिशत मात्र हो। मङ्सिर महिनामा मात्र भन्सार कार्यालयलाई रु आठ अर्ब १९ करोड ४१ राजस्व घाटा भएको छ।

कात्तिक महिनामा रु सात अर्ब ३० करोड ५९ लाख राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा रु सात करोड ३९ लाख ९३ हजार तथा असोजमा रु सात अर्ब ७८ करोड ६७ लाख ८९ हजार राजस्व असली गर्ने लक्ष्य तोकिएकामा रु दुई अर्ब ६४ लाख ६७ हजार असुली भएका छन्। 
 
भदौमा रु आठ अर्ब ८२ करोड ५० लाख २८ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा रु चार अर्ब ९१ करोड १३ लाख ३७ हजार असुली भयो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell