PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बालकृष्ण ढुंगेललाई आममाफी नदिन सर्वोच्चको आदेश



बालकृष्ण ढुंगेललाई आममाफी नदिन सर्वोच्चको आदेश
फोटोः inseconline.org

  • पहिलोपोस्ट- 
काठमाडौं : सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर पूर्व सभासद् एवं एकीकृत नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी नदिन आदेश दिएको छ।

प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले बिहीबार ढुंगेललाई आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेशको आदेश जारी गरेको हो। श्रेष्ठको २०५५ सालमा हत्या भएको थियो।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्चबाट दोषी ठहर भएपनि ढुंगेललाई प्रहरीले पक्राउ गरेको थिएन।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा तत्कालीन सरकारले २०६८ साल कात्तिक २२ गते ढुंगेललाई आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। ढुंगेललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध मृतक श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले २०६८ साल मङ्सिर ४ गते सर्वोच्चमा मुद्धा दायर गरेकी थिइन्।

किन पाउँदैनन् ढुंगेलले आममाफी?

सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले जारी गरेको फैसलाको सारमा आममाफी दिन नमिल्ने कारण खुलाइएको छ।  
  • नयाँ जारी भएको नेपालको संविधानको धारा २७६ बमोजिम माफी सम्बन्धी कानूनको अभावमा माफी सम्बन्धी निर्णय गर्न नसकिने ।
  • अदालतको अन्तिम फैसलाबमोजिम कसूरदार ठहरिएका व्यक्तिले सो फैसला बमोजिम समर्पण नगरेको
  • फैसला कार्यान्वयन प्रक्रियाको शुरुवात नै नभएको ।
  • कानूनले निर्धारण गरेको माफी मिनाहासम्बन्धी प्रकृया अवलम्वन नगरेको,
  • भेदभावपूर्वक कसैलाई लाभ दिने गरी भएको निर्णयबाट समानताको हक, स्वच्छ सुनुवाइ एवं अदालतको निर्णयको अन्तिमताको सिद्धान्त र कानूनको शासनको सिद्धान्तसमेतको उल्लंघन हुने भएकाले सजाँय माफी दिने गरी भएको मन्त्रिपरिषद्को सिफारिस निर्णय कार्यान्वयन गर्न दिन मिल्ने नहुँदा त्यस्तो सिफारिस उत्प्रेषणको आदेशले बदर हुने ।
  • यथाअवस्थामा माफी नदिनु नदिलाउनु भनी विपक्षी राष्रट्रपतीको कार्यालय र प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेशको आदेश समेत जारी हुने ।

यसरी भएको थियो श्रेष्ठको हत्या

मानवअधिकार समाचार वेबसाइट इन्सेकअनलाइनका अनुसार ओखलढुंगाको पोकली गाविस-२ लेती निवासी ४५ वर्षीय उज्जनकुमार श्रेष्ठलाई सोही जिल्लाको टारकेराबारी गाविस- ७ मा पर्ने खहरे खोलामा नेकपा माओवादीका कार्यकर्ताले ०५५ असार १० गते बिहान ३.०० बजेतिर गोली हानी हत्या गरेका थिए।

माओवादीको सुराकी गरेको र गाउँका महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादीले धम्की दिने, चन्दा माग गर्ने गरे पनि उनले माओवादीलाई चन्दा दिएका थिएनन्।

घटना भएको दिन बिहान ३ बजे नै पसलको सामान किन्न भरिया थिरबहादुर खत्री र रामबहादुर श्रेष्ठलाई लिएर साँघुटार जाने क्रममा तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुङ्गेलसहितका कार्यकर्ताहरूले गोली हानेर हत्या गरेपछि शव लिखुमा बगाएको प्रत्यक्षदर्शी बताएका थिए।

घटनापछि उज्जनका दाजु गणेशले दिएको जाहेरीका आधारमा प्रहरीले गिरफ्तार गरेका दुई भरिया र उनकी कान्छी श्रीमतीका दाजुहरू थलबहादुर पौडेल र डोरबहादुर पौडेल अदालतको सजाय भुक्तान गरेर रिहा भएका थिए भने घटनाका अर्का दोषी पुस्कर गौतमलाई २०६९ चैत २ गते जिल्ला अदालत ओखलढुङ्गाले जन्मकैदको सजाय सुनाएको थियो।

सजाय सुनाइएका गौतमलाई काठमाडौँको बागबजारबाट २०७१ वैशाख ३१ गते प्रहरीले गिरफ्तार गरी केन्द्रीय कारागार, सुन्धारामा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell